न्यू योर्क। नेपाल र तिब्बतमा आएको विनाशकारी बाढीप्रति न्यूयोर्क स्टेट एसेम्बलीका सदस्य स्टिभन रागाले गहिरो दुःख व्यक्त गर्दै प्रभावित समुदायसँग ऐक्यबद्धता जनाएका छन्।

क्वीन्सको एसेम्बली डिस्ट्रिक्ट ३० को प्रतिनिधित्व गर्ने रागाले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा बाढीबाट मानिसको ज्यान गएको, धेरै मानिस बेपत्ता रहेको तथा घर र महत्वपूर्ण पूर्वाधार नष्ट भएको उल्लेख गरेका छन्।
रागाले ज्यान गुमाएकाका परिवार, बेपत्ता आफन्तको खबर पर्खिरहेका मानिस तथा उद्धार र पुनर्स्थापनाको कठिन काममा जुटेकाहरूप्रति आफ्नो संवेदना रहेको बताएका छन्।

उनले आफ्नो निर्वाचन क्षेत्रमा ठूलो र बढ्दो नेपाली र तिब्बती समुदाय रहेको उल्लेख गर्दै दुवै समुदायले आफ्नो संस्कृति, दृढता र योगदानमार्फत क्वीन्सका छिमेकलाई समृद्ध बनाएको बताएका छन्। नेपाल र तिब्बतसँग गहिरो पारिवारिक सम्बन्ध भएका धेरै मानिस क्वीन्समा बस्ने भएकाले यो विपद्को असर यहाँ पनि गहिरो रूपमा महसुस भइरहेको उनको भनाइ छ।
रागाले नेपाल र तिब्बतका जनतासँग ऐक्यबद्धता जनाउँदै अन्तर्राष्ट्रिय समुदायलाई तत्काल आवश्यक मानवीय सहायता र विपद् राहत उपलब्ध गराउन आग्रह गरेका छन्।
विपद्बाट प्रभावित भएका वा नेपाल तथा तिब्बतमा रहेका आफ्ना आफन्तबारे चिन्तित नेपाली र तिब्बती समुदायका सदस्यलाई उपलब्ध स्रोत र सहयोगसँग जोड्न आफ्नो कार्यालय तयार रहेको पनि रागाले बताएका छन्।

रागाको एसेम्बली डिस्ट्रिक्ट ३० मा वुडसाइड, एल्महर्स्ट, इस्ट एल्महर्स्ट, मासपेथ र ज्याक्सन हाइट्सका क्षेत्र समेटिन्छन्। यहाँ नेपली र तिब्बती समुदायको बाक्लो बसोबास छ।
बुधबार, अगस्ट २६ मा नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा आएको आकस्मिक बाढीले नेपाल र चीनको तिब्बत क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ। प्रारम्भिक वैज्ञानिक अध्ययनले उच्च हिमाली क्षेत्रमा हिमनदीको ठूलो भाग भत्किएर नदी थुनिएको र त्यसपछि ठूलो मात्रामा पानी, हिउँ, ढुंगा तथा माटो एकैपटक बगेपछि विनाशकारी बाढी आएको हुनसक्ने देखाएको छ। कारणबारे वैज्ञानिक अध्ययन भने अझै जारी छ।
शुक्रबार, अगस्ट २८ सम्मको पछिल्लो विवरणअनुसार, नेपालको नेसनल डिजास्टर रिस्क रिडक्सन एन्ड म्यानेजमेन्ट अथोरिटी (एनडीआरआरएमए) ले बाढीमा ५७९ जनाको मृत्यु भएको र १,९२४ जना अझै बेपत्ता वा सम्पर्कविहीन रहेको जनाएको छ। नेपालमा ३,७०० भन्दा बढी मानिसको उद्धार गरिएको छ। यद्यपि नेपाल प्रहरीले सोही समयमा मृत्यु संख्या ५५३ जनाएकोले सरकारी निकायका तथ्यांकमा केही भिन्नता देखिएको छ।
चीनको चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी) का अनुसार तिब्बततर्फ कम्तीमा ५ जनाको मृत्यु भएको र ५५८ जना बेपत्ता छन्। बाढीपछि माथिल्लो क्षेत्रमा बनेको नयाँ तालका कारण थप बाढी आउन सक्ने जोखिम रहेकाले नेपाल र चीन दुवैतर्फ सतर्कता बढाइएको छ।
इन्टरनेसनल फेडरेसन अफ रेड क्रस एन्ड रेड क्रिसेन्ट सोसाइटीजले कम्तीमा ९३ हजार मानिस प्रभावित भएर तत्काल सहयोगको आवश्यकतारहेको अनुमान गरेको छ।




प्रतिक्रिया