एजेन्सी। राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले युक्रेनमा तत्काल युदविराम गर्न आह्वान गरेका छन्। युक्रेनका राष्ट्रपति भलोडिमर जेलेन्स्कीलाई पेरिसमा भेटेलगत्तै ट्रम्पले युक्रेन र रसियालाई तत्काल युद्धविराम गरि वार्तामा बस्न आह्वान गरेका हुन्।
‘जेलेन्स्की र युक्रेन सम्झौता गरी यो पागलपना अन्त्य गर्ने पक्षमा छन्,’ ट्रम्पले ट्रुथ सोसल नामक सामाजिक सञ्जालमा लेखेका छन्, ‘तत्काल युद्धविराम गरि वार्ता सुरु गर्नुपर्छ।’ उनले युद्धमा किभले करिब ४० हजार सैनिक गुमाएको पनि उल्लेख गरेका छन्।
चुनावी अभियानका क्रममा ट्रम्पले युद्ध वार्ताका माध्यमबाट अन्त्य गर्ने प्रतिज्ञा गरेका थिए। तर, उनले त्यसको प्रारुप कस्तो हुने भने खोलिसकेका छैनन्। उनले ट्रुथ सोसलमा रसियालाई इंगित गर्दै थप उल्लेख गरेका छन्, ‘म भ्लादिमिरलाई राम्ररी चिन्छु। यो देखाउने समय हो। चाइनाले सहयोग गर्न सक्छ। विश्वले प्रतिक्षा गरिरहेको छ।’
ट्रम्प र जेलेन्स्कीबीच पेरिसको नोट्रे डेम क्याथेड्रल पुनः खुला गर्न आयोजित कार्यक्रममा भेट भएको थियो। राष्ट्रपति निर्वाचित भएपछि यो जेलेन्स्कीसँगको पहिलो प्रत्यक्ष भेटवार्ता हो।
ट्रम्पको आह्वानको प्रतिक्रियामा जेलेन्स्कीले सोसल मिडिया एक्समा शान्ति कागजको टुक्रालेमात्र नहुने तर सुनिश्चितता चाहिने उल्लेख गरेका छन्। ‘शान्तिका लागि आवश्यक सुनिश्चिता चाहिन्छ,’ उनले लेखेका छन्, ‘युक्रेन सबैभन्दा बढी शान्ति चहान्छ।’










प्रतिक्रिया