न्यूयोर्क । अमेरिका लगायत विभिन्न देशमा संचालित नेपाली व्यवसायवीच सहकार्य र संजालिकृत गर्दै नेपालमा समेत लगानी प्रवद्र्धन गर्ने उदेश्यले नेपाली अमेरिकन व्यापार तथा लगानी सम्मेलन न्यूयोर्कमा शुरु भएको छ । ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सको आयोजना तथा न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतबासको सहयोगमा नोभेम्बर २० बाट शुरु भएको सम्मेलन तीन दिनसम्म संचालन हुने छ।
सम्मेलनको पहिलो दिन शुक्रबार नेपालबाट समेत सहभागी भएका व्यवसायीहरुले व्यवसायिक अवधारणा, बजारीकरण र प्रविधिको प्रयोगको बारेमा आफ्नो प्रस्तुती दिएका थिए । सो क्रममा युवा व्यवसायी संजोक कोइराला, मिङमार तामाङ, आदित्य सुबेधी लगायतले आफ्नो अनुभवसहीतको व्यवसायिक अवधारणा राखेका थिए ।
पहिलो दिनकै छुट्टै सेसनमा नव प्रवेशी युवा व्यवसायीहरु आशिस पराजुली, विश्व गिरी, सेसर कोइराला, भाष्कर ज्ञवाली, सूर्य यादवले प्रविधि र एआइ सम्बन्धीत आफ्ना व्यवसायिक अवधारणा प्रस्तुत गरे । यसैगरी कपिला देवकोटा र एली स्किलले क्रमशः भिगन उत्पादन र हिमालयन फाइबरको बारेमा जानकारी दिएका थिए ।
त्यसअघि सहभागीहरुलाई स्वागत गर्दै नेपाली महावाणिज्यदूत दधिराम भण्डारीले नेपाल र अमेरिकाबीच व्यापार, प्रविधि, नवप्रवर्तन तथा उद्यमशीलताको क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए । दुवै देशका उद्यमी तथा व्यावसायिक समुदायबीच ज्ञान, सीप, प्रविधि र अवसरको आदानप्रदानलाई थप प्रभावकारी बनाउनुपर्ने बताउदै विश्व डिजिटल रूपमा एकअर्कासँग जोडिएको अवस्थामा प्रतिभा र जनशक्तिको आवागमनलाई एकतर्फी रूपमा मात्र हेर्न नहुने उनको भनाई थियो ।
नेपाल र अमेरिकाबीच सेवा क्षेत्रमा बढ्दो द्विपक्षीय व्यापार तथा नेपालमा स्थापना भएका कम्पनी र स्टार्टअपहरूले अमेरिकी बजारमा सेवा विस्तार गर्न थालेको अवस्थालाई सकारात्मक संकेतहरु भएको बताउदै प्रविधि र युवाहरूको उद्यमशील क्षमताको उपयोग गरेर गतिशील डिजिटल तथा क्लाउडमा आधारित अर्थतन्त्र विकास गर्ने लक्ष्य नेपाल सरकारले लिएको उनले बताए।
यस सम्मेलनमा हुने व्यावसायिक छलफल तथा स्टार्टअप प्रदर्शनीले नेपाली डायस्पोराका व्यावसायिक नेतृत्वकर्ता र नयाँ उद्यमीहरूलाई आफ्ना अनुभव साटासाट गर्ने, व्यवसाय, लगानी तथा प्रविधिका क्षेत्रमा नयाँ अवसर पहिचान गर्ने अवसर प्रदान गर्ने उनले विश्वास व्यक्त गरे। सम्मेलनले नेपाली समुदायभित्र मात्र नभई व्यापक अमेरिकी समाजसँग पनि व्यावसायिक सम्बन्ध विस्तारको अवसर सिर्जना गर्ने भण्डारीले बताए ।
सन् २०२७ मा नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ८०औँ वर्षगाँठ नजिकिँदै गर्दा यस सम्मेलनले दुई देशबीचको लामो समयदेखिको साझेदारीलाई थप आर्थिक गतिशीलता प्रदान गर्ने अपेक्षा पनि उनले व्यक्त गरे।
यसैगरी आयोजक ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्सका उपाध्यक्ष छेपक गुरुङले कुनै पनि व्यवसायलाई सफल बनाउन मानिसहरूबीचको सम्बन्ध, पुँजीमा पहुँच, रणनीतिक साझेदारी र बजारसम्मको पहुँच अत्यन्त महत्त्वपूर्ण हुने बताए । उनले आफ्नो उद्यमशीलताको अनुभव सुनाउँदै नेपाली समुदायमा व्यवसाय प्रवद्र्धनका लागि यस्ता साझा प्लेटफर्मको आवश्यकता औँल्याए।
करिब १४–१५ वर्षअघि प्रविधिको विकास अहिलेको जस्तो नभएको समयमा आफू र एक जना साथीले मिलेर स्टार्टअप व्यवसाय सुरु गर्ने योजना बनाएको भए पनि त्यो सफल हुन नसकेको उनले बताए। त्यतिबेला नेपाली समुदायमा उद्यमी तथा व्यवसायीहरूलाई एकै ठाउँमा जोड्ने यस्ता प्लेटफर्मको अभाव रहेको उनको भनाइ थियो। युवा तथा नयाँ उद्यमीहरूलाई लक्षित गर्दै उनले आफ्को लक्ष्य र विचारलाई कहिल्यै नत्याग्न सुझाव दिए।
नेपाली समुदायका उद्यमी, व्यवसायी र नयाँ पुस्तालाई जोड्ने नभिसजस्ता प्लेटफर्मले आपसी सहकार्य, व्यावसायिक अवसर र उद्यमशीलताको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनको धारणा थियो।
सम्मेलनको दोस्रो दिन नेपालको आर्थिक विकासको अवस्था, एआई प्रविधि, नेपाल र अमेरिकावीचको व्यापार साझेदार र सम्भावना लगायतका बारेमा नेपालबाट आएका, अमेरिकन व्यवसायी र नेपाली व्यवसायीवीच छलफलको कार्यक्रम रहेको छ । सम्मेलनमा अमेरिका विभिन्न राज्य र अन्य देशबाट गरी करिब २५० जना उद्यमी युवाहरुको सहभागीता रहेको ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रदीप श्रेष्ठले जानकारी दिए ।




प्रतिक्रिया