२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

इजराएलद्वारा गाजामा भीषण हवाई आक्रमण, अमेरिका शान्ति सम्झौता जोगाउने प्रयासमा

इजराएलद्वारा गाजामा भीषण हवाई आक्रमण, अमेरिका शान्ति सम्झौता जोगाउने प्रयासमा

न्युयोर्क। इजराएलले आइतबार (अक्टोबर १९) गाजाका विभिन्न क्षेत्रमा भीषण हवाई आक्रमण गरेको छ। हमासका लडाकूहरूले रफाह नजिकै इजराएली सैनिकमाथि आक्रमण गरी युद्धविराम सम्झौता तोडेको आरोप लगाउँदै इजराएली सेनाले गाजामा आक्रमण गरेको हो। 

 

घटनाक्रमको समयरेखा

-सेप्टेम्बर ३० – अक्टोबर ९: अमेरिका, इजिप्ट, कतार र टर्कीको पहलमा ईयूको समर्थनसहित शान्ति सम्झौता तय।

-अक्टोबर १०: युद्धविराम औपचारिक रूपमा लागू।

-अक्टोबर १६ – १८: सहायता ढुवानीमा ढिलाइ र साना झडपहरूले तनाव बढ्ने संकेत।

-अक्टोबर १९: रफाहमा दुई इस्रायली सैनिकको मृत्यु; इजराएलद्वारा व्यापक हवाई आक्रमण।

-अक्टोबर २०: अमेरिकी दूतहरूको आगमन; इस्रायलले सहायता पुनः सुरु गर्ने र युद्धविराम कायम राख्ने घोषणा।

रफाह नजिकै भएको उक्त आक्रमणमा दुई इस्रायली सैनिक मारिएका थिए। त्यसपछि इजराएलले बमबारी गरेको हो। इजराएलको आक्रमणमा दर्जनौं प्यालेस्टाइनीको ज्यान गएको बताइएको छ। हमासले भने इजराएली सेनामाथि आक्रमण गरेको अस्वीकार गरेको छ। अमेरिकी मध्यस्थतामा युद्धविराम भएको नौ दिनपछि यो घटना भएको हो। यसले शान्ति प्रक्रियामाथि पुनः संकट ल्याएको छ। 

के भयो? 

इजराएली सेनाको दावी अनुसार हमासको एक समूह रफाहस्थित सुरुङबाट बाहिर निस्किएर इजराएली सैनिकमाथि गोली चलाए। त्यसमा दुई सैनिक मारिए। इजराएलले यस घटनालाई “गम्भीर युद्धविराम उल्लङ्घन” भन्दै गाजाभर आक्रमण सुरु गरेको हो। 

इस्रायलले यो कदम आफ्ना सैनिकमाथि भएको “घातक हमलाको प्रतिकार” र सुरक्षा स्वरूप उठाइएको भनेको छ। हमासले भने इजराएली सैनिकमाथि गोली चलाएको आरोप अस्वीकार गर्दै आफू उक्त घटनामा संलग्न नभएको र इजराएलले जानाजानी तनाव भड्काउने प्रयास गरेको दाबी गरेको छ। 

गाजास्थित अस्पताल र उद्धारकर्मीहरूले इजराएली बमबारीमा परी कम्तीमा २६ देखि ४५ जनासम्मको मृत्यु भएको बताएका छन्। संख्या यकिन भइ सकेको छैन। इजराएलले केही समयका लागि मानवीय सहयोग रोकेको थियो। तर अमेरिकी दबाबपछि सहायता आपूर्ति पुनः सुरु गर्ने सहमति जनाएको छ।

बमबारीपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम “अझै कायम” रहेको बताएका छन्। उनले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्। अमेरिकी विशेष दूत जारेड कुश्नर र स्टिभ विटकोफ इजराएल पुगेका छन्। उनीहरूले तनाव घटाउने र मानवीय सहायता पुनः सञ्चालन गर्ने प्रयास गरिरहेका छन्। वाशिङ्टनले इजराएललाई संयम अपनाउन र हमासलाई थप आक्रमण नगर्न चेतावनी दिएको छ।

युद्धविरामका प्रमुख मध्यस्थकर्ताका रूपमा इजिप्ट, कतार र टर्कीले शान्ति सम्झौता जोगाउन काएरोमा हमास प्रतिनिधिहरूसँग छलफल गरिरहेका छन्। युरोपेली संघ (ईयू) ले दुवै पक्षलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न आग्रह गरेको छ। साथै, गाजाको पुनर्निर्माणका लागि सहयोग गर्न तयार रहेको जनाएको छ। रफाहमा भएको घटनाबारे भने संयुक्त राष्ट्रसंघले हालसम्म स्वतन्त्र पुष्टि गरेको छैन।

प्रतिक्रिया