२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

एनवाईसी तिहार फेस्ट सम्पन्न

एनवाईसी तिहार फेस्ट सम्पन्न


न्यू योर्क। एनवाई नेपाली काम पोस्ट र गोर्खाली रेस्टुरेन्टको 'एनवाईसी तिहार फेस्ट' शनिबार (अक्टोबर १८) मा सम्पन्न भएको छ। कार्यक्रम ज्याक्सन हाइट्सको रुजभेल्ट एभेन्यूस्थित गोर्खाली रेस्टुरेन्टको पार्किङमा भएको थियो।

 

तिहार फेस्टमा फूलमाला, टिका, मसला, नेपाली कपडा, ढाका टोपी लगायतका तिहारका लागि आवश्यक पर्ने सामाग्रीहरू उपलब्ध थिए। साथै, फेस्टमा चटपटे, सेकुवा, मिठाई लगायतका नेपाली परिकार पनि उपलब्ध थिए। एनवाई नेपाली काम पोस्ट आफैँले पनि जेन जी आन्दोलनका घाइते, मृतकका परिवार तथा बाढी पीडितका लागि सहयोग उठाउन टिसर्ट स्टल सञ्चालन गरेको थियो। त्यसमा 'म मेरो मात्रै झोला बोक्छु' डिजाइनको टिसर्ट धेरै बिक्री भएको थियो। स्टल भाडा र टिसर्ट बिक्रीबाट उठेको रकम काम पोस्टका एड्मिन लेलिन कँडेलको समुहले नेपाल पठाउने छ। 

त्यस्तै दक्षिण एशियाली तथा इन्डो-क्यारेबियन समुदायको हितमा काम गर्दै आएको ड्रम बिट्स र नेपाली भाषा बोल्ने समुदायको हितमा काम गर्दै आएको अधिकारले स्टल सञ्चालन गरेर मतदाता नामावली दर्तामा सहयोग गरेको थियो। न्यू योर्क सिटीमा कम्तिमा ५० हजार नेपाली भएको दाबी गरिँदै आएपनि तिब्बतियन र भुटानी नेपाली सहित मतदाता नामावली दर्ता गर्ने नेपालीको सङ्ख्या तीन हजारभन्दा कम छ।

फेसबुक पेजमार्फत रोजगार, कोठा बस्तु तथा सेवाबारे निःशुल्क सूचना दिएर न्यू योर्क सिटी न्यू जर्सीका नेपाली समुदायलाई जोड्दै आएको एनवाई नेपाली काम पोस्टको करिब ३६ हजार नेपाली सदस्य छन्। गोर्खाली रेस्टुरेन्ट एकल महिला सञ्चालित व्यवसाय हो। काम पोस्टको यो पहिलो सार्वजनिक कार्यक्रम हो।

प्रतिक्रिया