२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

काम पोस्ट र गोर्खालीको 'एनवाईसी तिहार फेस्ट' अक्टोबर १२ मा

उठेको रकम नेपालका जेन जी तथा बाढी पीडितलाई सहयोग गरिने। ड्रम र अधिकारले मतदाता नामावली दर्ता गर्न स्टल सञ्चालन गर्ने।
काम पोस्ट र गोर्खालीको 'एनवाईसी तिहार फेस्ट' अक्टोबर १२ मा

न्यू योर्क। फेसबुक पेजमार्फत रोजगार, कोठा र बस्तु तथा सेवाबारे निःशुल्क सूचना दिएर न्यू योर्क सिटी र न्यू जर्सीका नेपाली समुदायलाई जोड्दै आएको एनवाई नेपाली काम पोस्ट र एकल महिला सञ्चालित गोर्खाली रेस्टुरेन्टले अक्टोबर १२ मा एनवाईसी तिहार फेस्ट कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रमबाट उठेको सम्पूर्ण रकम नेपालमा सहयोग प्रदान गरिने एनवाई नेपाली काम पोस्टले जनाएको छ। 'हामीले जेन-जी आन्दोलनमा घाइते र मृतकका परिवारलाई सहयोग गर्ने भनेरै कार्यक्रम सुरु गरेका हौँ', एनवाई नेपाली काम पोस्टका एड्मिन लेलिन कँडेलले भने, 'तर, नेपालमा अकस्मात् भीषण बाढी पहिरो गएकाले कार्यक्रमबाट उठेको रकम त्यतातिर पनि सहयोग गर्ने सोच बनाएका छौँ।' कँडेल र उनको समुहले जेन जी आन्दोलनका घाइते र मृतकका परिवारलाई करिब आठ हजार डलर सहयोग नेपाल पठाइसकेको छ।

तर, करिब ३६ हजार छ सय सदस्य रहेको एनवाई नेपाली काम पोस्टले आयोजना गर्न लागेको यो पहिलो सार्वजनिक कार्यक्रम हो। कार्यक्रम ज्याक्सन हाइट्सको रुजभेल्ट एभेन्यूस्थित गोर्खाली रेस्टुरेन्टको पार्किङमा हुनेछ। त्यहाँ तिहार लक्षित स्टलहरू सञ्चालन गरिने छन्। 

'तपाईँहरु एनवाई नेपाली काम पोस्टको सदस्य हुनुहुन्छ र त्यहाँबाट केही न केही सेवा र सुविधा लिएको अनुभूति गर्नुभएको छ भने एनवाईसी तिहार फेस्टमा सहभागी भइदिनुहोस्', एनवाई नेपाली काम पोस्टका एड्मिन लेलिन कँडेलले भने।      ​

कँडेलले 'एनवाई तिहार फेस्ट' को स्टलहरुमा तिहारका लागि आवश्यक पर्ने सामाग्रीहरू उपलब्ध हुने बताए। 'व्यवसायीहरूले दुई सय डलर शुल्क तिरेर स्टल लिनुहुन्छ', उनले भने, 'त्यहाँबाट मुख्य रुपमा फूलमाला, सेल रोटी, टिका, मसला लगायतका तिहारका लागि आवश्यक सामाग्री बिक्री गरिनेछ।' एनवाई नेपाली काम पोस्ट आफैँले पनि जेन-जी आन्दोलनका घाइते, मृतकका परिवार तथा बाढी पीडितका लागि सहयोग उठाउन टिसर्ट बेच्न स्टल सञ्चालन गर्ने भएको छ। केही दिन अघि कँडेलले 'म मेरो मात्रै झोला बोक्छु' डिजाइनको टिसर्ट सार्वजनिक गरेका थिए।

मतदाता नामावली दर्ता नभएका, भोट दिने ठाउँ थाह नपाएका र मेयर पदको आसन्न निर्वाचनबारे जानकारी नभएका नभएका नेपालीलाई समेत तिहार फेस्टमा सहभागी हुन ड्रमका नेपाली कम्युनिटी अर्गनाइजर आदित सिवाकोटीले आग्रह गरे।

त्यस्तै दक्षिण एशियाली तथा इन्डो-क्यारेबियन समुदायको हितमा काम गर्दै आएको ड्रम (देसिज राईजिङ अप एण्ड मुभिङ) र नेपाली भाषा बोल्ने समुदायको हितमा काम गर्दै आएको अधिकारले मतदाता नामावली दर्ता गरिदिन स्टल सञ्चालन गर्ने भएको छ। न्यू योर्क सिटीमा कम्तिमा ५० हजार नेपाली भएको दाबी गरिँदै आएपनि तिब्बतियन र भुटानी नेपाली सहित मतदाता नामावली दर्ता गर्ने नेपालीको सङ्ख्या तीन हजारभन्दा कम छ। ड्रमका नेपाली कम्युनिटी अर्गनाइजर आदित सिवाकोटीले मुख्य रुपमा भाषिक समस्याका कारण नेपाली समुदायमा राजनीतिक चेतना कम भएकाले मतदाता नामावली दर्ता गर्ने र भोट दिने अभ्यास पनि कम भएको बताए। अधिकार प्राप्तिका लागि मतदाता नामावली दर्ता गर्नु आवश्यक रहेको पनि अनले बताए। उनले मतदाता नामावली दर्ता नभएका, भोट दिने ठाउँ थाह नपाएका र मेयर पदको आसन्न निर्वाचनबारे जानकारी नभएका नभएका नेपालीलाई समेत तिहार फेस्टमा सहभागी हुन आग्रह गरे।  

एनवाई नेपाली काम पोस्टका एड्मिन कँडेलले काम पोस्टका सदस्यहरुलाई तिहार फेस्टमा सहभागी हुन अनुरोध गरे। 'तपाईँहरु एनवाई नेपाली काम पोस्टको सदस्य हुनुहुन्छ र त्यहाँबाट केही न केही सेवा र सुविधा लिएको अनुभूति गर्नुभएको छ भने एनवाईसी तिहार फेस्टमा सहभागी भइदिनुहोस्', उनले भने, 'हामी गुड कजका लागि नेपालमा केही सहयोग गर्ने जमर्को गरिरहेका छौँ। तपाईँहरुका लागि पनि यो सहयोग गर्ने उपयुक्त समय हो।'

प्रतिक्रिया