२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

जीव विज्ञानमा यसपालिको नोबेल पुरस्कार प्रतिरक्षा प्रणालीको “ब्रेक” का लागि

जीव विज्ञानमा यसपालिको नोबेल पुरस्कार प्रतिरक्षा प्रणालीको “ब्रेक” का लागि

न्यू योर्क। यस वर्षको जीवविज्ञान र चिकित्सा (फिजियोलोजी एन्ड मेडिसिन) को नोबेल पुरस्कार मेरी ई. ब्रन्को (अमेरिका), फ्रेड र्याम्सडेल (अमेरिका) र शिमोन सकागुची (जापान) लाई प्रदान गरिएको छ। तिनीहरूलाई हाम्रो प्रतिरक्षा प्रणालीमा रहेको प्राकृतिक ’ब्रेक’ अर्थात् ‘रेगुलेटरी टी-सेल्स (टी-रेग्स)’ ले कसरी शरीरलाई आफ्नै कोषहरूमाथि आक्रमण हुनबाट जोगाउँछ भन्ने आधारभूत तरिका स्पष्ट पार्नुका साथै साधारण टी-सेललाई ‘शान्ति-रक्षक’ टी-रेग्स बनाउने मुख्य जीन फोक्सपी–३ को निर्णायक भूमिका पहिचान गरेवापत नोबेल पुरस्कार दिएको हो।
यो खोज दुई चरणमा भएको भयो। पहिलो, १९९० को दशकमा जापानको क्योतो विश्वविद्यालय मा शिमोन सकागुचीले टी-सेलको एउटा सानो समूह (टी-रेग्स) ले हानिकारक प्रतिरक्षा प्रतिक्रियालाई सक्रिय रूपमा नियन्त्रण गर्छ भन्ने प्रमाणित गरेका थिए। यसले ‘आफूमाथि हमला गर्न सक्ने कोषहरू बाल्यकालमै पूर्ण रूपमा हटाइन्छन्’ भन्ने पुरानो धारणा बदलिदिएको थियो। दोस्रो, २००१ मा अमेरिका, सिएटल मा मेरी ई. ब्रन्को र फ्रेड र्याम्सडेलले मुसामा देखिएको घातक स्व-प्रतिरक्षा रोग (आटोइम्यून डिजीज) ‘स्कर्फी ‘ फोक्सपी–३ जीन बिग्रिएको कारणले हुन्छ भन्ने ठोस प्रमाण दिए। लगत्तै मानिसमा पनि फोक्सपी–३ र आटोइम्यून डिजीज सीधा सम्बन्ध देखियो। 
अहिले ब्रन्को सिएटलस्थित इन्स्टिच्युट फर सिस्टम्स बायोलोजी मा छन। र्याम्सडेलले फोक्सपी–३ र टी-रेग्स को केन्द्रीय भूमिकाबारे अनुसन्धान-विकासलाई निरन्तर अघि बढाइरहेका छन। उनीहरुको खोजको उपलब्धि प्रतिरक्षा प्रणालीमा ‘ब्रेक’ कमजोर भए आटोइम्यून डिजीज हुन्छ, ब्रेक अत्यधिक मजबुत भए क्यान्सरजस्ता अवस्था कायम रहन्छ भन्ने पुष्टि हुनु हो। यसका कारण अहिले टाइप–१ डायबिटीज, ल्युपस, मल्टिपल स्क्लेरोसिस जस्ता रोगहरूमा टी-रेग्स बढाउने वा फोक्सपी–३ सहि बनाउने, अङ्ग प्रत्यारोपणमा भारी ‘इम्युनोसप्रेसन’ को सट्टा, टी-रेग्स आधारित उपचार विकास गरेर शरीरलाई दाताको अङ्ग स्वाभाविक रूपमा स्वीकार गर्न सिकाउने प्रयास तीव्र हुँदै गएको छ। अर्कोतर्फ, क्यान्सरमा ट्युमरले ‘ब्रेक’को दुरुपयोग गर्न सक्ने भएकाए  ट्युमरभित्र टी-रेग्सको नियन्त्रण घटाएर क्यान्सर उपचार प्रभावकारी बनाउने रणनीतिहरू विकास भैरहेका छन्।
पुरस्कार स्टकहोममा घोषणा गरिएको हो। पुरस्कार राशी ११ मिलियन स्विडिस क्रोनर (१० लाख डलर) छ। औपचारिक सम्मान समारोह आगामी डिसेम्बर १० मा हुनेछ।

प्रतिक्रिया