२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

जोहरानले चुनाव जिते तपाईँले के पाउनुहुन्छ?

पाँच वर्षसम्मका हरेक बालबालिकाले २२ हजार दुई सय डलर बराबरको युनिभर्सल चाइल्ड केयर पाउने छन्, जसका कारण अभिभावकले काम गर्न सक्नेछन्।
जोहरानले चुनाव जिते तपाईँले के पाउनुहुन्छ?

न्यू योर्क। धान्न सकिने शहर (एफोर्डेबल सिटी) का मुद्धा उठाएर चुनावी अभियानमा होमिएका मेयरका प्रत्यासी जोहरान माम्दानीले आफू न्यू योर्क सिटीको मेयर बने गरिखाने वर्गको जीवन कसरी सहज बन्छ भन्ने हिसाब सार्वजनिक गरेका छन्। उनले कसले कति बचत गर्न सक्छन् भन्ने सबैले थाह पाउन भनेर https://zohran.ericthor.com वेवपेज नै सञ्चालनमा ल्याएका छन्। 

उनले सोमबार क्विन्सको ट्राभर्स पार्कमा पत्रकार सम्मेलन गरी त्यस्तो हिसाब सार्वजनिक गरेका हुन्। त्यस अनुसार छ सातादेखि पाँच वर्षसम्मका हरेक बालबालिकाले २२ हजार दुई सय डलर बराबरको युनिभर्सल चाइल्ड केयर पाउनेछन्। युनिभर्सल चाइल्ड केयर लागू भएपछि अभिभावकले आफ्ना बालबालिका चाइल्ड केयर सेन्टरमा पठाएर फू काममा जान सक्नेछन्। चाइल्ड केयरको शुल्क न्यू योर्क सिटीले सोझै चाइल्ड केयर उपलब्ध गराउने सेन्टरलाई तिरिदिने छ। अभिभावकले चाइल्ड केयर बापत कुनै शुल्क तिर्नुपर्ने छैन। 

बालबालिका हेर्नुपर्ने भएकाले न्यू योर्क सिटीका करिब तीन लाख ३० हजार परिवारका कम्तिमा एक जना अभिभावक काममा फर्किन सकेका छैनन्। एकल अभिभावकको जीविकोपार्जन समस्या अझ विकराल छ। न्यू योर्क सिटीमा पाँच वर्ष मुनिका करिब ५ लाख बालबालिका भएको अनुमान छ।

युनिभर्सल चाइल्ड केयर सञ्चालन गर्न करिब पाँचदेखि छ अर्ब डलर लाग्ने अनुमान छ। त्यसका लागि 'मिलेनियर्स' र ज्यादै धेरै कमाइ गर्ने मानिसलाई दुई प्रतिशत कर बढाउने र कर्पोरेसन कर ११ दशमलव ५ प्रतिशत (न्यू जर्सी बराबर) पुर्‍याउने माम्दानीको योजना छ। तर, कर बढाउन गभर्नरले स्वीकृति दिनुपर्छ।। गभर्नरले स्वीकृति नदिए प्लान बी मा जानुपर्ने जोहरान र उनको टिमले सार्वजनिक रूपमै स्वीकारेका छन्। तर, प्लान बी को विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

बचत हिसाब गर्ने वेवपेजका अनुसार सातामा १० पटक बस प्रयोग गर्ने हरेक व्यक्तिले भाडाबापत एक हजार पाँच सय ६० डलर जोगाउनेछ। न्यू योर्क सिटीमा सार्वजनिक बसको यात्रु सङ्ख्या सोमबारदेखि शुक्रबारसम्म हरेक दिन करिब १४ लाख छ। एउटा कामकाजी मानिसले दैनिक दुई पटक बस प्रयोग गर्ने हिसाबले सोमबारदेखि शुक्रबारसम्म हरेक दिन करिब ७ लाख मानिसले बसको प्रयोग गर्छन्।

अमेरिकाका मन्टगोमेरी, एलेक्जेन्ड्रिया, टक्सन लगायत एक दर्जनभन्दा बढी शहरमा निःशुल्क बस सेवा सञ्चालनमा छन्। अमेरिका बाहिर पनि दर्जनौं ठूला शहरमा निःशुल्क बस सेवा सञ्चालनमा छन्। न्यू योर्क सिटीमा पनि कोभिड महामारीका बेला बस सेवा निःशुल्क गरिएको थियो। न्यू योर्क सिटी संसारकै सबैभन्दा धनी शहर हो।

त्यस्तै 'रेन्ट स्टेबलाइज्ड अपार्टमेन्ट' मा बस्ने न्यू योर्कवासीले तिर्ने भाडा अनुसार रकम जोगाउन सक्नुहुनेछ। 'रेन्ट फ्रिज' कार्यक्रम अन्तर्गत तपाईँले कति जोगाउन सक्नुहुन्छ भन्ने घरभाडा रकम हाले पछि बचत वेबसाइटले हिसाब गरेर देखाइदिन्छ। रेन्ट गाइडलाइन बोर्डका अनुसार न्यू योर्क सिटीमा १० लाख परिवार रेन्ट स्टेबलाइज्ड अपार्टमेन्टमा बस्छन्। 

'म मेयर भएपछि यी कुरा (युनिभर्सल चाइल्डक केयर, फ्रि बस, रेन्ट स्टेबलाइज्ड अपार्टमेन्ट) वास्तकिवतामा परिणत हुनेछ,' माम्दानीले भने

 

प्रतिक्रिया