२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

किन झुण्डिन्छन् बिजुलीका तारमा जुत्ताहरु?

किन झुण्डिन्छन्  बिजुलीका तारमा जुत्ताहरु?

चार पाँच पेग दारु खाएपछि ‘फ्रस्टेसन’ पोख्न जुत्ता फाल्नु र त्यो जुत्ता सडकको तारमा झुण्डिनु एउटा संयोग हुन सक्छ। पुरानो वा कसैले फालेको जुत्ता टिनएजर्सले रमाइलोका लागि बिजुलीका तारमा अड्काउने प्रतिस्पर्धा गर्नु अर्को संयोग। बिजुलीका तारमा कहिलेदेखि, र किन जुत्ता झुण्डिन थाल्यो, र यो प्रचलन कसले सुरु गर्‍यो भन्ने रहस्यकै गर्भमा छ। सत्य के हो भने बिजुलीको तारमा जुत्ता झुण्डिएको विश्वभर देख्न सकिन्छ। अर्थात् यो विश्वव्यापी प्रचलन हो। एनवाइसी नेपालले यो प्रचलनसँग जोडिएका केही रोचक तथ्य संकलन गरेको छ।

क्षेत्राङ्कनः अपराधिक गिरोह, गुण्डा नाइके वा टोले दादाहरुले आफ्नो क्षेत्रको जनाउ दिन बिजुलीको तारमा जुत्ता झुड्याउँछन् भन्ने विश्वास गर्ने जमात ठूलो छ। उनीहरुले आफ्नो क्षेत्रमा अरु समुह प्रवेश नगरुन भन्ने चहान्छन्। झुड्याइएको जुत्ताले यस्ता गिरोह, समुह वा टोले दादाहरुलाई अर्को समुहको क्षेत्र सुरु भएको सन्देश दिन्छ।

श्रद्धाञ्जलीः हिंसा वा दुर्घटनाबाट मारिएका मानिसको सम्मान र श्रद्धाञ्जलीका लागि जुत्ता झुण्ड्याउने समुदाय पनि छन्। खासगरि कम उमेरमा मरेका मानिसको सम्झना र सम्मानमा मृतकको परिवार वा साथीभाइले तारमा जुत्ता झुण्ड्याउने गर्छन्।

बुलिइङः अरुलाई होच्याउन वा सताउन जुत्ता खोसेर बिजुलीको तारमा फालिदिने पनि छन्। खासगरि विद्यालय आसपासका क्षेत्रमा ‘बुलिइङ’ को यस्तो रुप देख्न सकिन्छ।  

खुशि मनाउनः प्रतिस्पर्धामा बिजयी भएपछि, हाइ स्कूलको पढाइ सिध्याएपछि, वा सैनिक प्रशिक्षण सिध्याएपछि जीवनको नयाँ अध्याय सुरु गर्न लागेको खुशियालीमा पुरानो जुत्ता बिजुलीको तारमा झुण्ड्याउने प्रचलन छ। 

पुरानो कुरा भुल्नः कतिपय समुदायमा पुराना तीता अनुभूति र घटना भुल्न पनि पुरानो जुत्ता बिजुलीको तारमा झुड्याउने चलन छ। कतिपयले त बसाईँ सराई गर्दा वा नयाँ ठाउँमा सर्दा पनि बिजुलीको तारमा जुत्ता फाल्छन्। 

कला व्यक्त गर्नः केही आफ्नो कला व्यक्त गर्न वा सिर्जनात्मक ‘स्टेटमेन्ट’ पोख्न बिजुलीको तारमा जुत्ता झुड्याउँछन्। यस्तो घटना ज्यादै कम हुन्छ। कलाकारको उदेश्य मानिसमा आश्चर्य र कौतुहलता पैदा गर्नु वा केही सन्देश दिनु हुन्छ। कला प्रयोग गरिएको अबस्थामा झुण्डिएका जुत्तासँग अन्य बस्तु पनि हुन सक्छन्।

हेङिङ् सुजसँग जोडिएका यी केही विश्वव्यापी मान्यता र विश्वास हुन्। संस्कार, संस्कृति, देश, क्षेत्र र समुदाय अनुसार झुण्डिएका जुत्तासँग अन्य थुप्रै मान्यता र विश्वास जोडिएका हुन सक्छन्। जस्तो, कतिपय क्षेत्रमा लागु औषध कारोबार हुने ठाउँमा जुत्ता झुड्याइन्छ भने कतिपय ठाउँमा खतराको सन्देश दिन। झुण्डिएका जुत्तासँग रमाइला र सामान्यदेखि गम्भीर अर्थ जोडिएका छन्। यो प्रचलन कहिलेदेखि, कहाँबाट र किन सुरु भयो भन्ने चाहिँ रहस्यकै गर्भमा छ। 

प्रतिक्रिया