२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

ट्रम्पको आप्रवासी धरपकड असफल पार्न सिकागो मेयरले एक्ज्यकेटिभ अर्डर जारी गरे

ट्रम्पको आप्रवासी धरपकड असफल पार्न सिकागो मेयरले एक्ज्यकेटिभ अर्डर जारी गरे

न्यू योर्क। सिकागोका मेयर ब्रान्डन जोनसनले सङ्घीय सरकारको आप्रवासीमाथिको धरपकड असफल पार्न एक्ज्याकेटिभ अर्डर (कार्यकारी आदेश) जारी गरेका छन्। त्यस्तो कार्यकारी आदेशमा हस्ताक्षर गर्दै मेयर जोनसनले सिकागो सिटीका सबै निकायलाई आफ्ना नगरवासीको संवैधानिक अधिकार जोगाउन निर्देशन दिएका छन्

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सेप्टम्बर सिकागोमै आप्रवासी धरपकड गर्ने योजना बनाएको छ। त्यसका लागि नौसेना समेत प्रयोग गर्ने ट्रम्प प्रशासनको उद्देश्य छ। सिकागो मेयर जोनसनको कार्यकारी आदेशले सिकागो प्रहरी विभागलाई सङ्घीय सुरक्षा निकायसँग ट्रम्प प्रशासनको आप्रवासन कारबाहीमा सहयोग गर्न रोक लगाएको छ। सिकागो प्रहरीले  संयुक्त गस्ती, ट्राफिक जाँच, चेकपोष्ट सञ्चालनमा गर्दै आएको सहयोग बन्द गर्नु पर्छ। साथै, सुरक्षाकर्मीलाई मुख ढाक्ने अनुहार–ढाक्ने कवच (फेस–कभरिङ) लगाएर पहिचान लुकाउन पनि रोक लगाइएको छ।

जोनसनले राष्ट्रपति ट्रम्पलाई 'संविधानको दायराबाहिर चलेका' र 'लापरवाह र नियन्त्रणबाहिर' भएको आरोप लगाएका छन्। ह्वाइट हाउसले भने सङ्घीय एजेन्ट पठाउने सम्भावित कदम 'अपराध नियन्त्रण' को लक्ष्यसँग सम्बन्धित भएको दाबी गरेको छ।। प्रवक्ता अबिगेल ज्याक्सनले भनेकी छन्, 'डेमोक्र्याट नेताहरूले आफ्नै सहरको अपराध समाधानमा ध्यान दिएको भए उनका समुदाय अझ सुरक्षित हुने थिए।'

मेयर जोनसनले सिकागो सिटी अन्तर्गतका सबै विभागलाई सम्भावित 'सैनिकिकृत' आप्रवासन कारबाही वा नेशनल गार्डको तैनाथी भइन्जेल सिकागो वासीको अधिकार संरक्षणमा उभिन निर्देशन दिएका छन्। पत्रकार सम्मेलनमा जोनसनले आफू सङ्घीय सरकारबाट आदेश नलिने प्रष्ट पारेका छन्

सिकागोमा ट्रम्प प्रशासनले इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) बोर्डर पेट्रोल, नौसेना लगायतका सुरक्षा निकायबाट ठूलो सङ्ख्यामा सुरक्षाकर्मी र उपकरण परिचालन गर्ने तयारी गरेको छ। बोर्डर जार टम होम्यानले 'सिकागो सहित देशभर अपरेशन तीव्र' भएको बताएका छन्। उनले मेयर जोनसनलाई 'हटेर बस, हामी गर्छौं' भनेका छन्।

गत हप्तामै ह्वाइट हाउसले सिकागो नजिकैको अमेरिकी सैन्य बेसलाई आप्रवासन अपरेशनका लागि उपलब्ध गराउन अनुरोध गरेको थियो। ट्रम्प प्रशासनले डेमोक्र्याटले चलाएका आश्रय सहर (स्यान्क्चुअरी सिटी) हरूमा व्यापक नियन्त्रणको योजना अघि बढाइरहेको बताइएको छ। सिकागो र इलिनोइसमा सङ्घीय आप्रवासन कारबाहीमा असहयोग गर्ने कडा नियम छ, जसले समूहगत निष्कासन (मास डिपोर्टेशन) एजेन्डा अस्वीकार गर्छ। 

इलिनोइसको प्रतिक्रिया

इलिनोइसका गभर्नर जेबी प्रिट्जकरले नेशनल गार्ड पठाउने योजना आक्रमण (इनभेजन) बराबर भएको बताएका छन्। उनले यदि नेशनल गार्ड पठाइन्छ भने “लक्ष्य केवल अपराध नियन्त्रण होइन, २०२६ को निर्वाचन रोकिने वा नियन्त्रणमा लिने प्रयोजन पनि हुन सक्छ” भन्ने जनताले बुझ्नुपर्ने बताएका छन्।

ह्वाइट हाउसको पुनः प्रतिक्रिया

ह्वाइट हाउसकी प्रवक्ता ज्याक्सनले पुनः प्रतिक्रिया भनेकी छन्, “अपराध नियन्त्रण दलगत विषय हुनु हुँदैन। तर केहि डेमोक्र्याटहरू  ट्रम्प डिएरेन्जमेन्ट सिन्ड्रोम बाट ग्रस्त भएर यसलाई दलगत बनाउँदै छन्। वाशिङ्टन डीसीकी डेमोक्र्याट मेयर म्युरियल बाउजरले अपराध घटाउन ट्रम्प प्रशासनको सफलताप्रति हालै समर्थन जनाएकी छन्—त्यसैको उदाहरण हेर्नुहोस्।”

 

 

प्रतिक्रिया