२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

दुर्गा प्रसाई रिहा

उच्च अदालत पाटनले सोमबार प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख र तीनकुने हिंसात्मक घटनाका मुद्दामा ३ लाख गरी २८ लाख धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको हो ।
दुर्गा प्रसाई रिहा

 

काठमाडौ । चैत १५ गते काठमाडौमा भएको हिंसात्मक घटनाका मुख्य आरोपी मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनले सोमबार प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख र तीनकुने हिंसात्मक घटनाका मुद्दामा ३ लाख गरी २८ लाख धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको हो । उच्च अदालत पाटनका मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको इजलासले यस्तो फैसला गरेको हो । 

१८ करोड ४४ लाख रुपैयाँ बिगो दाबी गरिएको कर्जा अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो । अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा प्रसाईंलाई निर्दोष भन्न नसकिने तर उनी क्यान्सर रोगबाट पीडित रहेकोले धरौटीमा छाड्न आदेश दिएको सो अदालतले जनाएको छ । 
आदेशमा भनिएको छ, ‘मिसिलमा संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादी दुर्गाप्रसाद प्रसाईं निर्दोष रहेछन् भनी अहिले नै भन्न सकिने अवस्था नदेखिँदा, साथै निज क्यान्सर रोगबाट पीडित रहेको भन्ने निजले पेस गरेको प्रमाणबाट देखिन आएबाट समेत पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी २५ लाख नगद धरौटी वा बैंक जमानत दिए लिई मुद्दाको पुर्पक्षका लागि तारेखमा राख्नुहोला ।’


यो आदेशसंगै प्रसाईं धरौटी रकम बुझाएर डिल्लीबजार कारागारबाट सोमबार साँझ रिहा भएका छन् ।  गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोड पछि प्रसाईंलाई आपराधिक उपद्रव, संगठित अपराधमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । जिल्ला अदालतले उनलाई उक्त मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको थियो । उक्त आदेशविरुद्ध उनले उच्च अदालतमा निवेदन दिएका थिए । प्रसाईको नेतृत्वमा भएको तीनकुनेको प्रदर्शन हिंसात्मक हुँदा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो भने प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए ।

प्रतिक्रिया