न्यू योर्क। नेपाली अमेरिकन कलाकार संघले क्रिसमस तथा नयाँ बर्षको उपलक्ष्यमा साँगीतिक कार्यक्रम रमझम साँझ २०२४ गर्दैछ। कलाकार संघले यही डिसेम्बर २८ मा ज्याक्सन हाइटमा अवस्थित गुल्सन टेरेशमा रमझम साँझ दोश्रो संस्करण गर्न लागेको हो। संघले न्यू योर्कको ज्याक्सनहाइटमा अवस्थित भान्छाघर रेष्टुरेन्टमा एक पत्रकार सम्मलेन गरी रमझम साँझ २०२४ बारेमा जानकारी दिएको हो। साँझ साँढे ७ बजे देखि हुने कार्यक्रममा नेपाली गीत संगीत तथा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुति रहने छन्। संघका महासचिव संगीता थापाले सुगम संगीतका लोकप्रिय गायक राजेश पायल राई कार्यक्रमको मुख्य आकर्षकको रुपमा रहने जानकारी दिइन्। थापाका अनुसार राजेश पायलसँगै चर्चित दोहोरी गायिका सिर्जना बिरही, चर्चित लोक गायक राजन ठकुरी, नृत्य निर्देशक शंकर बिसी, मोडल तथा डान्सर पार्वती राई, चर्चित नृत्य निर्देशक शिव विश्वकर्मा तथा उषा लामा, र मोडल तथा डान्सर रश्मी तामाङ, तथा नृत्य निर्देशक बब्बु थापाको बेजोड प्रस्तुति रहने छ। कार्यक्रममा समुदायका सबै सदस्यहरुको साथ र सहयोगले सफल हुनेमा विश्वास रहेको थापाको भनाइ छ । महासचिव थापाले रमझम साँझमा मगर संघ अमेरिका तथा युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाले साँस्कृतिक प्रस्तुतिमा सहयोग गर्ने जानकारी दिइन्। साथै डिजे राजाले अन्त्यमा उपस्थित सबैलाई डिजेमा नचाउने कार्यक्रम छ।
संघका अध्यक्ष वसन्ती राइले आफुले विगत २५ बर्षदेखि नेपाली अमेरिकन समुदायलाई गीत, नृत्य जस्ता कलामार्फत सहयोग गरेको बताउँदै कार्यक्रममा उपस्थित भइ सहयोग गरी सफल बनाइदिन सबैलाई आग्रह गरिन् । अध्यक्ष राईले आफ्नो नेतृत्वमा पहिलो कार्यक्रम गर्न लागेको जानकारी दिंदै सबैलाई साथ सहयोगको लागि अपिल गरिन् ।
वरिष्ठ उपाध्यक्ष विमल डाँगीले पत्रकार सम्मेलनको सहजीकरण गरेका थिए । निवर्तमान अध्यक्ष तथा संरक्षक निशा सुनुवारले आफुहरु कार्यक्रम सफल बनाउनको लागि सबैलाई सहयोग गरिदिनुहुन अनुरोध गरिन्। निवर्तमान अध्यक्ष सुनुवारको कार्यकालमा रमझम साँझ पहिलो संस्करण आयोजना गरिएको थियो। पत्रकार सम्मेलनमा उपाध्यक्षहरु राजेन्द्र राई, मधुर गिरी, विक्की पुलामी, उपाध्यक्ष यत्ना कार्की, कोषाध्यक्ष नबिन श्रेष्ठ, सचिव प्रेम सेन्चुरी, सदस्यहरु बीर घर्तिमगर, दिनेश सुनार सहभागी थिए।







प्रतिक्रिया