०९ असोज २०८३, शुक्रबार
Fri, Sep 25, 2026
SUBSCRIPTION

डोरड्यास डेलिभरी कामदारलाई १३१.५ मिलियन डलर क्षतिपूर्ती तिर्न राजी

डोरड्यास डेलिभरी कामदारलाई १३१.५ मिलियन डलर क्षतिपूर्ती तिर्न राजी

न्यू योर्क — डोरड्यासले डेलिभरी कामदारलाई १३१.५ मिलियन डलर क्षतिपूर्ति दिने भएको छ।न्युयोर्क सिटीले डोरड्यास विरुद्ध अनुसन्धान गरेर मुद्दा अदालतमा लैजानु अघि डोरड्याससँग क्षतिपूर्तिका लागि "सेटलमेन्ट" गरेको हो।

 करिब २ लाख ६४ हजार डेलिभरी कामदारले १३१.५ मिलियन डलर क्षतिपूर्ति पाउनेछन्। यो न्युयोर्क सिटीको इतिहासकै सबैभन्दा ठूलो श्रम कानुन कार्यान्वयनसम्बन्धी सम्झौता भएको सिटीले जनाएको छ।

न्युयोर्क सिटी डिपार्टमेन्ट अफ कन्ज्युमर एन्ड वर्कर प्रोटेक्सन (डीसीडब्लूपी) ले मङ्गलबार सेटलमेन्ट भएको घोषणा गरेको छ। त्यसानुसार करिब २ लाख ६४ हजार डेलिभरी कामदारले १३१.५ मिलियन डलर क्षतिपूर्ति पाउनेछन्। यो न्युयोर्क सिटीको इतिहासकै सबैभन्दा ठूलो श्रम कानुन कार्यान्वयनसम्बन्धी सम्झौता भएको सिटीले जनाएको छ।

डेलिभरी कामदारको उजुरीपछि न्युयोर्क सिटीले डोरड्यासमाथि अनुसन्धान गरेको थियो। सिटीले अदालतमा मुद्दा लैजान तयार रहेको जनाएको थियो। मुद्दा दायर हुनुअघि नै डोरड्यास र सिटीबीच १३१.५ मिलियन डलरको सेटलमेन्ट भएको हो।

सम्झौतामध्ये ११५ मिलियन डलरभन्दा बढी रकम कामदारलाई दिइनेछ। बाँकी करिब १६ मिलियन डलर जरिवाना र प्रशासनिक खर्चमा जानेछ। डीसीडब्लूपीले डोरड्यासले केही कामदारलाई कम तिरेको, ढिलो तिरेको वा काम गरेपछि पनि रकम नदिएको पत्ता लगाएको जनाएको छ।

कामदारले पाउने क्षतिपूर्ती रकम समान हुने छैन। करिब २ लाख ६४ हजार प्रभावित कामदारमध्ये औसत भुक्तानी करिब ४८ डलर हुनेछ। योग्य कामदारले कम्तीमा १० डलर पाउनेछन्। वास्तविक रकम उनीहरूलाई कति रकम कम तलब दिइएको थियो भन्ने आधारमा निर्धारण हुनेछ।

तलब नै नपाएका कामदारले नपाएको रकमको अतिरिक्त क्षतिपूर्ति पाउनेछन्। उदाहरणका लागि १,००० डलर नपाएको कामदारले ३,००० डलरसम्म पाउन सक्छ। त्यही १,००० डलर कानुनले तोकेको समयभन्दा ढिलो पाएको कामदारले २,००० डलर पाउन सक्छ।

मेयर जोहरान माम्दानीले कामदारले कमाएको रकम समयमै र पूर्ण रूपमा पाउनुपर्ने बताए।“कामदारले ज्याला कमाएपछि त्यो समयमै र पूर्ण रूपमा पाउनुपर्छ,” माम्दानीले भने। उनले कुनै पनि कम्पनी कानुनभन्दा माथि नभएको बताए।

डोरड्यासले पनि भुक्तानीसम्बन्धी गल्ती भएको स्वीकार गरेको छ। कम्पनीले प्राविधिक समस्या र जटिल डेलिभरी अवस्थाका कारण केही भुक्तानी प्रभावित भएको जनाएको छ। कम्पनीले ती समस्या समाधान गरिएको बताएको छ।

डीसीडब्लूपीका अनुसार अप्रिल २२, २०२२ देखि जुन २८, २०२६ सम्म प्रभावित कामदारले रकम पाउनेछन्। उनीहरूले छुट्टै दाबी वा प्रमाण बुझाउनुपर्ने छैन। अक्टोबरको अन्त्यतिर व्यक्तिगत इमेल पठाइनेछ। कामदारले इलेक्ट्रोनिक भुक्तानी वा चेक रोज्न सक्नेछन्।

सम्झौताअनुसार डोरड्यासले आगामी तीन वर्षसम्म प्रत्येक महिना कामदारको तलबसम्बन्धी विस्तृत डेटा डीसीडब्लूपीलाई बुझाउनुपर्नेछ। सिटीले त्यसको आधारमा कम्पनीले न्यूनतम तलब र अन्य डेलिभरी कामदारसम्बन्धी कानुन पालना गरे-नगरेको निगरानी गर्नेछ। न्यू योर्क सिटीमा डेलिभरी कामदारको हालको न्यूनतम तलब दर टिपबाहेक प्रतिघण्टा २२.१३ डलर छ।

प्रतिक्रिया