न्यूयोर्क । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले नतताएको जलवायुबाट प्रभावित भएको र सुरु नगरेको युद्धबाट पिडीत भएको भन्दै जलवायु परिवर्तन र युद्धको असर बारेमा विश्व समुदायको गम्भीर ध्यानाकर्षण गराएका छन् । संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई विहीबार सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले विश्वब्यापी समस्या बन्न पुगेको दुवै विषयमा विश्वका नेताहरुको ध्यानकर्षण गराएका हुन् ।
म आज नेपालबाट यहाँ आएको छु। हिमालयमा रहेको एउटा टाढाको देशबाट मानवजातिका लागि एउटा गम्भीर चेतावनी बोकेर आएको छु, भन्दै भाषण शुरु गरेका प्रधानमन्त्री बालेनले जलवायु परिवर्तनबाट नेपालले भोग्नु परेको मानवीय संकट र त्यसमा धनीदेशहरुले निर्वाह गर्नुपर्ने जिम्मेवारीको बारेमा गम्भीर रुपमा विश्वको ध्यानाकर्षण गराए । करिब तीन वर्षअघि सगरमाथाको छायामा उभिएर संयुक्त राष्ट्रसंघका महासचिवले मानवजातिलाई आउँदै गरेको जलवायु विपत्तिको खतराबारे चेतावनी दिएको तर त्यसलाई विश्वका नेताहरुले नसुन्दा अहिलेको मानवीय विपत्ति भोग्नु परेको उनले बताए ।
भोटेकोशी–त्रिशूली विपत्ति केवल स्थानीय त्रासदी नभई विश्वका लागि एउटा चेतावनी रहेको उल्लेख गर्दै के हामीले वास्तवमै त्यो चेतावनी सुनेका छौँ ? भन्दै विश्वसामु प्रश्न गरे ।
तातिँदै गएको जलवायुले कमजोर हिमाली पारिस्थितिक प्रणालीलाई अस्थिर बनाइरहेको, हिमनदीमुनिको स्थायी रूपमा जमेको जमिन पग्लिँदा पहाडी चट्टानहरू कमजोर भइरहेको र हिमपहिरो, हिम–ढुंगा पहिरो, बाढी, पहिरो तथा अन्य श्रृंखलाबद्ध विपत्तिको जोखिम बढिरहेको प्रधानमन्त्री बालेनले बताए ।
यो विनाशले नेपाल–चीन हुँदै भारतसम्म पुगेको बताउदै जलवायु परिवर्तनले सीमा चिन्दैन र हिमनदी र बाढी पासपोर्टमा भिसा लगाएर यात्रा नगर्ने तर्क गरे ।
त्यसैले तत्काल पहिलो कदमका रूपमा हामी नेपाल, भारत र चीनको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्न प्रस्ताव गर्छौँ, प्रधानमन्त्री बालेनलेभने । यस संयन्त्रमार्फत भू–उपग्रहबाट प्राप्त तथ्यांक र विशेषज्ञता साझा गर्ने, जोखिमपूर्ण हिमतालहरूको निगरानी गर्ने, संयुक्त पूर्वसूचना प्रणालीलाई थप बलियो बनाउने र विपत्ति आउँदा सीमापार सहायता समन्वय गर्ने कार्य गर्न पनि प्रधानमन्त्री बालेनले प्रताब गरे ।
“हामीले यो संकट सिर्जना गरेका होइनौँ। तर यसको ठूलो मूल्य हामीले चुकाइरहेका छौँ। हाम्रा हिमनदीहरू बाढीमा परिणत भइरहेका छन्, हाम्रा पहाडी ढलानहरू अस्थिर बन्दै गइरहेका छन्। हाम्रा नदीहरूको प्रवाह पूर्वानुमान गर्न झन् कठिन हुँदै गएको छ।” उनले भने ।
र प्रत्येक ठूलो विपत्तिले विकासका वर्षौँको उपलब्धि मेटाउने खतरा पैदा गर्छ।
प्रधानमन्त्री बालेनले आफूले सिर्जना नगरेको क्षतिको मर्मत गर्न गरिब देशलाई ऋण लिन बाध्य बनाउन नहुने भन्दै सबैलाई साझा जिम्मेवारी र ऐक्यबद्धताप्रति पुनःप्रतिबद्ध हुन आग्रह गरे । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिमार्फत अन्तर्राष्ट्रिय समुदायले साझा तर फरक–फरक जिम्मेवारी तथा सम्बन्धित क्षमताहरूको सिद्धान्त स्वीकार गरिसकेकोले ऐतिहासिक रूपमा जलवायु परिवर्तनमा बढी योगदान गरेका देशहरु गम्भीर बन्नुपर्ने बताए।
हाम्रो देशका जनताले आफ्नो विगतलाई बारम्बार पुनर्निर्माण गरिरहनुको सट्टा आफ्नो भविष्य
विश्वव्यापी शासन व्यवस्थाको असफलताले अझ गम्भीर बनाएको संकटविरुद्ध नेपालले एक्लै पुननिर्माण गर्न नसक्ने भन्दै राहत,पुनःस्थापना, पुनर्निर्माण, जिम्मेवारी, क्षतिपूर्ति र पुनस्थापनामा सबैको साझा दायित्वको लागि आह्वान गरे ।
जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिले गरिब देशको पूर्वाधार नष्ट गर्दा त्यसको समाधान अर्को ठूलो ऋण वा थोरै–थोरै अनुदान मात्र हुन नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको उनले औल्याए ।
हानि तथा क्षति कोष, विश्वव्यापी वातावरण सुविधा तथा अन्य सम्बन्धित वित्तीय संयन्त्रहरू पर्याप्त छैनन्, जलवायु वित्त त्यस्तो कर्मचारीतन्त्रीय भूलभुलैया बन्नु हुँदैन, जहाँ जोखिममा रहेका देशहरूले सहयोग आवश्यक छ भनेर प्रमाणित गर्न वर्षौँ खर्च गर्नुपरोस्, घरमा आगो लागेको बेला हामी परिवारलाई ५० वटा फाराम भर्न लगाउँदैनौँ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ, प्रधानमन्त्री बालेनले भने ।
कमजोरहरूले शक्तिशालीहरूले जे निर्णय गर्छन्, त्यसलाई मात्र स्वीकार गर्नुपर्ने विश्व प्रणालीको विरोध गर्दै धेरैपटक सैन्य र आर्थिक शक्तिले कसको आवाज सुनिने भन्ने निर्धारण गरिरहेकोप्रति पनि असन्तुष्टि प्रकट गरे ।
गरिब मुलुकका नागरिकहरु विभिन्न अन्तर्राष्ट्रिय प्रतिकूलताहरूको सामना गर्नुपरेको उल्लेख गर्दै गएको मनसुनमा नेपालकी एक गरिब किसान महिला आफ्नो खेतमा बीउ छर्न जाँदा मल समयमै नपुगेको राज्यले नयाँ राजमार्ग निर्माण गर्न चाहँदा बिटुमिन उपलब्ध नभएको, र एउटा परिवार साँझको खाना खान बस्दा खाना पकाउने इन्धनको अभाव भएको भन्दै युद्धका कारण आपूर्ती व्यवस्थामा आएको समस्याप्रति कटाक्ष गरे ।
एकातिर हिमनदीहरू पग्लिरहेका छन्, बाली उत्पादनमा समस्या भइरहेको छ र बाढी बिना चेतावनी आइरहेको छ। अर्कोतिर, विश्वव्यापी आपूर्ति शृंखलाले गरिब मानिसहरूलाई उनीहरूको नियन्त्रणभन्दा बाहिरका कारणको मूल्य चुकाउन बाध्य बनाइरहेको छ, बालेनले भने ।
प्रधानमन्त्री बालेनले महादेशीय क्षेप्यास्त्रहरू समयमै पुग्ने, राइफल र गोलीगठ्ठा सीमाना पार गर्ने, हरेक अवरोध पार गर्ने तर आवश्यक परेको समयमा नेपालका किसानले बजार मूल्यमा मल वा इन्धन किन किन्न सक्दैन भन्दै प्रश्न गरे । युद्धका लागि पूर्ण रूपमा व्यवस्थित आपूर्ति प्रणाली हुने तर खाद्यान्नका लागि कमजोर आपूर्ति प्रणाली भएको विश्व निर्माण गरेको भन्दै उनले विरोध गरे । यस्ता समस्य नेपालको मात्र नभई बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलंका लगायतका देशको भएको पनि उनले बताए ।
प्रधानमन्त्री बालेनले आफ्नो सम्बोधनको क्रममा नेपाली भाषामै भगवान पशुपतिनाथले विश्वको कल्याण गरून् र विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् भनी कामाना गरे ।



प्रतिक्रिया