न्यू योर्क। किरात याक्थुङ चुम्लुङ अमेरिकाले केलाङ, लिम्बु भाषा तथा लिपी सिकाई कार्यक्रम शुरु गरेको छ । ज्याक्सन हाइट्समा अवस्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा चुम्लुङले गएको आइतबार केलाङ, लिम्बु भाषा तथा लिपी सिकाई कार्यक्रमको उद्घाटन गरी कार्यक्रम शुरु गरेको हो । कार्यक्रमको प्रमुख अतिथि कोलम्बिया युनिभर्सिटीका प्राध्यापक तथा भाषा बिज्ञ प्राध्यापक डा. प्रेम फ्याकले याक्थुङ लिपीमा सेवारो लेखेर तथा चुम्लुङका अध्यक्ष पुरन पयाङगु लिम्बुले लिम्बुहरुको बाजा के बजाउर काकार्यक्रमको उद्घाटन गरेका थिए । नयाँ पुस्तालाई लिम्बु भाषा, संस्कार सिकाउँदै आफ्नो संस्कार नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियानको रुपमा यो कार्यक्रम शुरु गरेको अध्यक्ष पुरन पयाङगु लिम्बुले बताए । कार्यक्रममा १८ जना बालबालिका, अभिभावकहरु, चुम्लुङका पुर्व र वर्तमान पदाधिकारी सदस्यहरु गरी ५० बढीको सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रमपछि ३ देखि ११ बर्ष सम्मका १८ जना बालबालिकाहरुलाई गोलो घेरामा राखी के च्याब्रुङको तालमा नचाइएको थियो ।त्यस्तै दोश्रो सेसनमा बालबालिकाहरुलाई लिम्बु भाषा सिकाईको शुरुवात गरिएको थियो । बालबालिकाहरुले घरमा नियमित प्रयोग हुने आधारभूत १२ बढी शब्दहरु सिक्ने कोशिष गरेका थिए भने प्रशिक्षकहरुले सिकाउने गरिएको थियो । जस्तै सेवारो , मा, पा, नुसा, फु, नेन्ने, थेवा, युमा, आङ्गा आमीङ ‘ लिम्बु, सेवारो, आमा, बुवा, भाई, बहिनी, दाजु, दिदी, बाजे, बोजु, साथै आफ्नो नाम र परिचय लिम्बु भाषामा राख्न सिकाइएको थियो । बालबालिकाहरुको भाषा कक्षा संचालन भइरहँदा समानान्तर रुपमा अभिभावकहरुसँग के, केलाङ, केलाङको महत्व, यसको ताल र प्रकारहरुको बारेमा छलफल गरिएको थियो ।
प्रशिक्षक पूर्ण कुमारी लिङदेन र प्रनिशा फ्याकले बच्चाहरूको रुचिलाई ध्यानमा राखी सरल र सहज सिकाई पद्धति र सामग्रीहरु तयार गरी कक्षाको सहजीकरण गरेका थिए । केलाङ र लिम्बु भाषा लिपी सिकाई कार्यक्रम हरेक आइतबार ३ बजेबाट संचालन हुने भएको छ । पहिलो चरणमा ४ महिना संचालन हुने कार्यक्रमको भाषा तथा लिपी कक्षाको सहजीकरण पुर्ण कुमारी लिङदेन र प्रनिशा फ्याकले गर्नेछन् । त्यस्तै केलाङ प्रशिक्षण लीला सिङगक लिम्बु, प्रेम मेन्याङबो र शिव लाबुङले संचालन गर्नेछन् । कार्यक्रमको सम्पुर्ण व्यवस्थापनको काम किरात याक्थुङ चुम्लुङ अमेरिकाले गरेको छ भने आवश्यक शिक्षण सामग्रीहरु र बच्चाहरुको खाजा र पानीको व्यवस्था समुदायको सदस्यहरूले स्वेच्छिक रुपमा सहयोग गर्नेछन् । चुम्लुङ अध्यक्ष पुरन पयाङगु लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव दिनेश लिङदेनले गरेका थिए । सचिव हरि जवेगुले स्वागत मन्तव्य राखेका थिए ।




प्रतिक्रिया