न्यूयोर्क । न्यूयोर्क सिटीको सिटी काउन्सिलले नेपाली समुदायको आउदै गरेको दशैं पर्वको अवसरमा नेपाली समुदायलाई शुभकामना दिने उदेश्यले दशैं–उत्सब कार्यक्रम आयोजना गरेको छ । म्यानहट्टनको सिटी हलस्थित सिटी काउन्सिल च्याम्बरमा भएको सो कार्यक्रममा नेपाली समुदायको महान पर्व दशैंको अवसरमा शुभकामना आदान प्रदानसंगै नेपालमा हालै आएको बिनासकारी बाढीका कारण भएको जनधनको क्षतिमा दुख प्रकट तथा पिडीतहरुप्रति ऐक्याबद्धता समेत जनाएका थिए ।
पण्डितद्धय उद्धब शास्त्री र दीपक खरालको शान्ति वाचन र दुर्गा भजनसंगै शुरु भएको दशैं कार्यक्रममा न्यूयोर्क सिटी काउन्सिलका सभामुख जुली मेनिनले शान्तिपूर्ण र आनन्दमय दशैँको शुभकामना भन्दै यो पर्वको खुसी र उमंगलाई सबैले महसुस गर्न सकौँ भनी कामना गरे । शुभकामनाका क्रममा सभामुख मेनिनले नेपालमा हालै आएको रसुवा बाढीबाट ज्यान गुमाएका र पिडीतहरुको सम्झना गर्दै त्यो पिडा सम्झदा आफ्नो मन समेत भारी हुने बताए । यस्ता ठूलो मानवीय क्षति र पीडाको गहिराइलाई शब्दहरूले व्यक्त गर्न सम्भव नहुने उल्लेख गर्दै सभामुख मेनिनले पीडितहरूप्रति आफ्नो ऐक्यबद्धता रहेको बताए । नेपाली समुदायले दुर्भाग्यवश भोगिरहेको यो कठिन समयमा सिटी काउन्सिलले समुदायलाई निरन्तर साथ र समर्थन गर्ने समेत उनले प्रतिबद्धता व्यक्त गरे।
न्युयोर्कमा नेपाली समुदाय बढ्दै र समृद्ध हुँदै गएको देखेर अत्यन्तै खुसी भएको उल्लेख गदैं उनले ज्याक्सन हाइट्स र रुजभेल्ट एभिन्यूमा देखिने नेपाली समुदायको व्यवसाय, समुदायका संस्थाहरू र मानिसहरूको सक्रिय सहभागिताले न्युयोर्कको विविधतालाई अझ समृद्ध बनाएको सभामुख मेनिनले बताए ।
न्यूयोर्क सिटीका काउन्सिल सदस्य लीन शुलम्यानको प्रमुख सक्रियतामा भएको दशैं उत्सब समारोहमा अर्का काउन्सिल सदस्य लिण्डा लीले नेपाली समुदायले अहिले भोगिरहेको दुःखद घटनाहरूमा संधै साथमा रहेको बताए । “दुखद् घटनाहरु भएका छन्। तर दशैँले हामीमा आशा र उज्यालो ल्याउँछ। हामी एकअर्काको साथमा रहेर, एकअर्कालाई हौसला दिँदै र छिमेकीका रूपमा एकअर्काको साथमा उभिएर यी दुःखद परिस्थितिमाथि विजय हासिल गर्न सकौँ भन्ने आशा गर्छु।” काउन्सिल वमन लीले भने ।
नेपाली समुदाय साना व्यवसाय सञ्चालनदेखि स्वास्थ्य, यातायात र सरकारी तथा निजी क्षेत्रमा काम गर्नेमा समेत सक्रिय रहेको उल्लेख गर्दै नेपाली समुदायले न्यूयोर्क सहरमा ठूलो योगदान पु¥याइरहेको काउन्सिल वमन लीले बताए । “विशेष गरी, रेस्टुरेन्ट व्यवसायीहरूले बनाउने अद्भुत नुडल्स, स्वादिष्ट परिकार र हामीसँग ल्याउनुभएको समृद्ध खाना तथा संस्कृतिका लागि विशेष धन्यवाद भन्न चाहन्छु,” काउन्सिल वमन लीले भने ।
सिटीमा ५१ जना काउन्सिल सदस्यहरूमध्ये ८ जना एसियाली–अमेरिकी समुदायका सदस्यहरू रहेको चर्चा गर्दै काउन्सिलमा समुदायलाई साँच्चिकै बुझ्नेहरुको प्रतिनिधित्व हुँदा समुदायका मानिसहरूलाई कसरी सहयोग गर्न सकिन्छ र कस्ता कानून आवश्यक छ भन्ने विषयमा निर्णय गर्न र आवाज राख्न सफल हुने काउन्सिल सदस्य लीको भनाई थियो ।
सिटीका अर्का दक्षिण एसियाली मुलका काउन्सिल सदस्य शेकर कृष्णानले नेपालमा भएको पीडादायी घटनाप्रति दुख प्रकट गर्दै कुनै पनि किसिमले सहयोग गर्न वा समुदायको पुनर्निर्माणमा साथ दिन आफु तयार रहेको बताए ।
दशैँसँग जोडिएका धार्मिक तथा सांस्कृतिक महत्वमाथि चर्चा गर्दै काउन्सिल सदस्य कृष्णानले माता दुर्गाले महिषासुरमाथि प्राप्त गर्नुभएको विजयलाई स्मरण गर्ने र माता दुर्गाबाट शक्ति, साहस र कठिन परिस्थितिसँग जुध्ने आत्मबल प्राप्त गर्ने प्रेरणा लिन सबैलाई आग्रह गरे । न्युयोर्क सिटीको विविधताको चर्चा गर्दा नेपाली समुदायको उल्लेख नगरी त्यो चर्चा पूरा हुन नसक्ने उनको भनाई थियो ।
“यस वर्षको दशैँमा, हामी मातासँग प्रार्थना गर्छौँ, परिवारका रूपमा एकजुट हुन्छौँ र भगवान् श्रीरामको आराधना गर्छौँ, यसले हामी सबैलाई आशा, सान्त्वना र मानसिक शान्ति प्रदान गर्नेछ। सबै एकजुट भएमा अहिले नेपालले भोगिरहेको ठूलो विपत्ति र गहिरो पीडामाथि पनि विजय हासिल गर्नेछौँ।” काउन्सिल मेम्बर कृष्णानको भनाई थियो ।
भारतीय–अमेरिकी समुदाय र नेपाली समुदायबीचको सम्बन्ध गहिरो र बलियो भएको उल्लेख गर्दै भारत र नेपालबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध पनि उत्तिकै आत्मीय र सुमधुर रहेको उनको भनाई थियो ।
सो अवसरमा नेपाली समुदायमा विभिन्न क्षेत्रमा रहेर योगदान पुर्याउने श्रेया तुलाधर, अमित प्रताप साह र देभाशिस बस्नेतलाई सिटी काउन्सिल सदस्य लिन सुल्म्यानलेले न्यूयोर्कसिटीको तर्फबाट सम्मानपत्र प्रदान गरेका थिए ।
सम्मानप्रति सिटी काउन्सिललाई धन्यवाद दिदै माइनिरिटी इम्पावरमेन्ट नेटवर्कका निर्देशक एवं युवा समाजसेवी श्रेया तुलाधरले सानो बालिकाको रुपमा अमेरिका प्रवेश गरेर आज यो सम्मानपत्र ग्रहण गर्न पाउदा हर्षिद भएको बताए । तीन वर्षअघि काउन्सिल वुमन लिन शुलम्यानसमक्ष “सिटी हलमा दशैँ मनाउने कार्यक्रम गरौँ न” भनेर गरेको अनुरोधले आज लगतार तेस्रो वर्षसम्म दशैं उत्सव मनाउन पाएको भन्दै काउन्सिल वुमनहरु लिन शुलम्यान, लिण्डा लि लगायतलाई तुलाधरले धन्यवाद दिइन् ।
नेपाली–अमेरिकीका रूपमा सम्मानित हुन पाउदा जीवनको एउटा पूर्ण चक्र पूरा भएको जस्तो महशुस भएको उल्लेख गर्दै यसलाई सधैँ सम्झिरहने उनको भनाई थियो । दक्षिण एसियाली डायस्पोरामध्ये सबैभन्दा तीव्र गतिमा नेपाली समुदाय बढिरहेको उल्लेख गर्दै व्यवसायहरू, गैरनाफामूलक संस्थाहरू, सांस्कृतिक केन्द्रहरू र व्यावसायिक सञ्जालहरू निर्माण भइसकेको र यो सफलतामा न्यूयोर्कसिटी काउन्सिलका निर्वाचित प्रतिनिधिहरुको पनि साथ र सहयोगबाट सम्भव भएको तुलाधरले बताए ।
यसैगरी सम्मानित व्यक्तिहरु समाजसेवी अमितप्रताप साह र देबाशिस बस्नेतले पनि सिटी काउन्सिलप्रति आभार प्रकट गरेका थिए । सो अवसरमा बाल कलाकारहरुले एन्जिला साह र अन्य कलाकारहरुले नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।











प्रतिक्रिया