३० असोज २०८३, शुक्रबार
Fri, Oct 16, 2026
SUBSCRIPTION

विन रोजारियोलाई गोली ठोक्ने प्रहरी अधिकृत जोगाउने खेल: कारबाहीबिनै पेन्सन्सहित अवकाश, परिवारले माग्यो प्रहरी प्रमुखको बर्खास्ती

विन रोजारियोलाई गोली ठोक्ने प्रहरी अधिकृत जोगाउने खेल:   कारबाहीबिनै पेन्सन्सहित अवकाश, परिवारले माग्यो प्रहरी प्रमुखको बर्खास्ती

न्यू योर्क। क्वीन्सका बंगलादेशी मूलका १९ वर्षीय विन रोजारियोको गोली हानी हत्या गरेको आरोपमा विभागीय कारबाही सामना गरिरहेका एक प्रहरी अधिकृतलाई सुनुवाइअघि नै पेन्सनसहित अवकाश दिइएको खुलासा भएको छ। 

रोजारियोको परिवारले यसलाई प्रहरी प्रशासनको मिलेमतोमा कारबाहीबाट जोगाउने प्रयास भएको आरोप लगाएको छ। परिवारले प्रहरी कमिसनर जेसिका टिशलाई बर्खास्त गर्न माग गरेको छ।

“हामीलाई मेयर जोहरान माम्दानीबाट धोका भएको महसुस भएको छ। चुनाव प्रचारका बेला उहाँ हाम्रो घर आउनुभएको थियो। उहाँले फरक किसिमको मेयर बन्ने बताउनुभएको थियो।”

देसिज राइजिङ अप एण्ड मुभिङ (ड्रम) ले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी अधिकृत साल्भातोर अलोङ्गीलाई गत मे महिनामै अपांगता निवृत्तिभरणसहित अवकाश दिएको जनाइएको छ।  न्युयोर्क सिटी पुलिस डिपार्टमेन्ट (एनवाईपीडी) ले उनको अवकाशबारे सिभिलियन कम्प्लेन्ट रिभ्यु बोर्ड (सीसीआरबी) लाई समयमै जानकारी दिएको थिएन। यसबाट बोर्डले अनुशासनात्मक सुनुवाइ छिटो गर्ने अवसर गुमाएको छ। साउथ असियन तथा इन्डो-करेबियन समुदायको अधिकारका लागि काम गरिरहेको संस्था ड्रमको अगुवाईमा रोजारियोको मुद्दा अघि बढेको हो।


रोजारियोकी आमा नोतन इभा कोस्टा, बुबा फ्रान्सिस रोजारियो र भाइ उत्शो रोजारियोले संयुक्त वक्तव्यमार्फत भनेका छन, “हामीलाई मेयर जोहरान माम्दानीबाट धोका भएको महसुस भएको छ। चुनाव प्रचारका बेला उहाँ हाम्रो घर आउनुभएको थियो। उहाँले फरक किसिमको मेयर बन्ने बताउनुभएको थियो।”

परिवारले अर्का प्रहरी अधिकृत म्याथ्यु चियानफ्रोकोविरुद्ध तत्काल अनुशासनात्मक सुनुवाइ गरी बर्खास्त गर्न माग गरेको छ। अलोङ्गीको अवकाश प्रक्रियाको स्वतन्त्र छानबिन गर्न र उनलाई फेरि प्रहरी सेवामा प्रवेश गर्न नपाउने व्यवस्था गर्न पनि माग गरिएको छ।

प्रहरी कमिसनर टिशले अवकाशबारे बोर्डलाई जानकारी नदिइनु मानवीय त्रुटि भएको स्वीकार गरेकी छन्। उनले भनेकी छन्, “हामीले बोर्डलाई जानकारी दिनुपर्थ्यो। मानवीय त्रुटिका कारण त्यसो हुन सकेन। म यस गल्तीका लागि क्षमा चाहन्छु।”

सन् २०२४ मार्च २७ मा मानसिक स्वास्थ्य संकटमा रहेका रोजारियोले आपत्कालीन सेवामा फोन गरेका थिए। त्यसपछि क्वीन्सको ओजोन पार्कस्थित उनको घर पुगेका दुई प्रहरी अधिकृतले गोली चलाएका थिए। रोजारियोको आमा र भाइकै अगाडि मृत्यु भएको थियो।

सन् २०२५ सेप्टेम्बरमा सीसीआरबीले दुवै अधिकृतविरुद्ध अत्यधिक बल प्रयोग र अधिकार दुरुपयोगसम्बन्धी आठ आरोप पुष्टि गरेको थियो। तर डिसेम्बर २०२५ मा न्युयोर्क राज्यको एटर्नी जनरल कार्यालयले फौजदारी मुद्दा नचलाउने निर्णय गरेको थियो। विभागीय कारबाहीको प्रक्रिया भने अलग्गै अघि बढेको थियो।

यसैबीच, मेयर ममदानीले अक्टोबर १२ मा प्रहरीको बल प्रयोगसम्बन्धी नीतिको समीक्षा र अनुशासनात्मक कारबाही छल्न नपाउने गरी अवकाश प्रक्रियामा सुधार गर्ने घोषणा गरेका छन्। रोजारियोको परिवारले मानसिक स्वास्थ्य संकटमा प्रहरीको सट्टा स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था गर्नसमेत माग गरेको छ।

प्रतिक्रिया