२२ भदौ २०८३, सोमबार
Mon, Sep 7, 2026
SUBSCRIPTION

अमेरिकी अध्यागमन हिरासतमा यस वर्ष २३ जनाको मृत्यु, जवाफदेहिता सुनिश्चित गर्न राष्ट्रसंघको माग

अमेरिकी अध्यागमन हिरासतमा यस वर्ष २३ जनाको मृत्यु, जवाफदेहिता सुनिश्चित गर्न राष्ट्रसंघको माग

एजेन्सी। अमेरिकाको अध्यागमन हिरासतमा सन् २०२६ मा २३ जनाको मृत्यु भएको भन्दै संयुक्त राष्ट्रसंघले जवाफदेहिता माग गरेको छ। संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त भोल्कर टुर्कले ती मृत्युबारे जवाफदेहिता सुनिश्चित गर्न अमेरिकी सरकारसँग माग गरेका हुन्।

टुर्कले सोमबार जेनेभामा संयुक्त राष्ट्र मानव अधिकार परिषद्लाई सम्बोधन गर्दै दिएको पछिल्लो जानकारीपछि अमेरिकी अध्यागमन हिरासतमा थप चार जनाको मृत्यु भएको बताएका छन। यससँगै सन् २०२६ मा अमेरिकी अध्यागमन हिरासतमा मृत्यु हुनेको संख्या २३ पुगेको उनले बताए। “यी मृत्युका लागि जवाफदेहिता हुनुपर्छ,” टुर्कले भने।

टुर्कले अमेरिकाको अध्यागमन हिरासत र निर्वासन नीतिबारे पनि चिन्ता व्यक्त गरेका छन्। उनले कुनै व्यक्तिलाई गम्भीर वा सुधार गर्न नसकिने क्षतिको जोखिम रहेको देशमा जबरजस्ती फिर्ता नपठाउन अमेरिकालाई आग्रह गरे। उनले हैटीको अवस्थालाई विशेष रूपमा उल्लेख गरे।

टुर्कले तेस्रो मुलुकमा पठाइने आप्रवासीलाई पर्याप्त कानुनी प्रक्रिया उपलब्ध गराउन पनि आग्रह गरे। उनले अमेरिकी अध्यागमन अधिकारीलाई विद्युतीय झट्का दिने ग्लोभ उपलब्ध गराउने योजनाप्रति समेत चिन्ता व्यक्त गरेका छन्।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा अध्यागमन नियन्त्रण कडा बनाइएको छ। अध्यागमन पक्राउ र हिरासतको दायरा पनि विस्तार भएको छ। यससँगै इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईस), को हिरासत केन्द्रमा हुने मृत्यु, स्वास्थ्य सेवा र हिरासतको अवस्थाबारे मानव अधिकार संस्थाहरूले प्रश्न उठाउँदै आएका छन्।

ह्युमन राइट्स वाच र फिजिसियन्स फर ह्युमन राइट्सले गत जुनमा सार्वजनिक गरेको अध्ययनले पनि आईसीई हिरासतमा मृत्यु बढेको जनाएको थियो। उक्त अध्ययनले जनवरी २०, २०२५ देखि जुन ४, २०२६ सम्म आईसीई हिरासतमा ५२ जनाको मृत्यु अभिलेख गरेको थियो।

यो तथ्यांक टुर्कले उल्लेख गरेको सन् २०२६ का २३ मृत्युको तथ्यांकभन्दा फरक समयावधिको हो। संयुक्त राष्ट्र मानव अधिकार प्रमुखको पछिल्लो टिप्पणीले अमेरिकी अध्यागमन हिरासतमा हुने मृत्यु, स्वास्थ्य सेवा, बल प्रयोग र सरकारी जवाफदेहिताको विषयलाई फेरि अन्तर्राष्ट्रिय ध्यानमा ल्याएको छ।

प्रतिक्रिया