२७ साउन २०८३, बुधबार
Wed, Aug 12, 2026
SUBSCRIPTION

न्यू योर्कमा आईस गिरफ्तारी ७१% बढ्यो, आईस एजेन्टको परिचालन शैली पनि बदलियो

न्यू योर्कमा आईस गिरफ्तारी ७१% बढ्यो, आईस एजेन्टको परिचालन शैली पनि बदलियो


न्यू योर्क। न्यूयोर्क सिटी क्षेत्रमा यूएस इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईस) बाट हुने गिरफ्तारी अघिल्लो प्रशासनको समान अवधिको तुलनामा ७१ प्रतिशतले बढेको छ। पछिल्ला कारबाहीमा आईस एजेन्टहरू मास्क, साधारण पोशाक र कतिपय अवस्थामा स्पष्ट एजेन्सी चिन्ह नदेखिने पोशाकमा परिचालित भएको पनि पाइएको छ।

न्यूयोर्क सिटीले सार्वजनिक गरेको अडिटअनुसार सन् २०२५ जनवरी २० देखि २०२६ मार्च १० सम्म न्यूयोर्क क्षेत्रमा आईसले ५ हजार ५६७ जनालाई गिरफ्तार गरेको थियो। अघिल्लो प्रशासनको तुलनायोग्य अवधिभन्दा यो संख्या ७१ प्रतिशत बढी हो। पक्राउमध्ये आधाभन्दा बढी म्यानहटनको २६ फेडरल प्लाजास्थित इमिग्रेशन कोर्टमा भएका थिए।

गिरफ्तारी संख्यासँगै एजेन्ट परिचालन शैलीमा आएको परिवर्तन देखिएको छ। सञ्चारमाध्यामहरूका अनुसार आईस एजेन्टहरू विभिन्न सहरमा मास्क लगाएर र साधारण पोशाकमा गिरफ्तारीमा सहभागी भएका थिए। पछिल्ला समयमा केहीको पोशाकमा उनीहरू कुन एजेन्सीका अधिकारी हुन् भन्ने स्पष्ट चिन्हसमेत नदेखिने गरेको छ। साथै, उनीहरू सादा पोषाकमा समेत परिचालित हुने गरेको केहि प्रत्यक्षदर्शीको दावि छ।

न्यूयोर्क सिटी बार एसोसिएसन (सिटी बार) ले पनि आईस अधिकारीले गिरफ्तारीका क्रममा मास्क लगाउने र आफ्नो पहिचान अस्पष्ट बनाउने अभ्यासप्रति चिन्ता जनाएको छ। म्यानहटनका इमिग्रेशन कोर्टमा केही एजेन्ट साधारण पोशाकमा, केही कालो युनिफर्म वा भेस्टमा र धेरैजसो मास्क लगाएर परिचालित भएको सिटी बारले जनाएको छ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) ले भने एजेन्टहरूले आफ्नो तथा परिवारको सुरक्षा र व्यक्तिगत विवरण सार्वजनिक हुने जोखिमबाट जोगिन मास्क प्रयोग गर्ने गरेको बताउँदै आएको छ। विगतमा यस्तो फेस कभरिङ विशेषगरी अन्डरकभर अपरेसनमा बढी प्रयोग हुने गरेको पूर्व आईस अधिकारीहरूले रोयटर्सलाई बताएका छन्।

न्यूयोर्कले फेडेरल इमिग्रेशन एजेन्टलाई सर्वसाधारणसँगको कारबाहीका क्रममा अनुहार छोप्न रोक लगाउने र स्पष्ट परिचय देखाउनुपर्ने व्यवस्थामा यूएस डिस्ट्रिक्ट कोर्ट जज मे ए. डी'अगोस्टिनोले रोक लगाएपछि मास्क वा साधारण पोशाकमा देखिएको व्यक्तिलाई हेरेर मात्र उनीहरू आईस एजेन्ट होइनन् भन्ने निष्कर्ष निकाल्न नहुने अवस्था बनेको छ।

प्रतिक्रिया