न्युयोर्क । न्युयोर्कको क्वीन्सस्थित फार रकअवेमा एक व्यक्तिले आफ्नै परिवारमाथि गोली प्रहार गरी घरमा आगो लगाउदा दुईजनाको मृत्यु भएको छ । प्रहरीले घटनाका आरोपीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।
शनिबार मध्यन्ह तिर भएको उक्त घटनामा भएको विस्फोट र आगलागीमा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् भने दुई जनाको शव फेला परेको न्यूयोर्क प्रहरी विभागले पुष्टि गरेको छ ।
प्रहरी स्रोतका अनुसार घटनाको जानकारी पाएपछि १०१औँ प्रिसिन्क्टका प्रहरी अधिकारीहरू फार रकअवेस्थित २५३३ ओसनक्रेस्ट बुलेभार्ड पुगेका थिए। प्रारम्भिक जानकारीअनुसार ३३ वर्षीय केगन थोमसले आफ्नै घरभित्र गोली चलाउँदा केही व्यक्ति गम्भीर घाइते भएका थिए।
प्रहरी घटनास्थल पुग्दा संदिग्ध व्यक्ति सटगनसहित घरभित्र रहेको जानकारी पाएपछि प्रहरीले न्यूयोर्क प्रहरी विभागको आपतकालीन सेवा इकाइलाई बोलाएको थियो।
प्रहरी र संदिग्ध थोमसबीचको तनावपूर्ण अवस्थाकै क्रममा संदिग्धले घरमा आगो लगाएको प्रहरी स्रोतले जनाएको छ। आगलागीका कारण ठूलो विस्फोट भएको थियो, जसले आगो छिमेकी घरहरूमा समेत फैलिएको थियो।
आगो लागेपछि थोमस घरबाट बाहिर निस्कने प्रयास गर्दा प्रहरीले गोली चलाएको थियो। प्रहरीले उनलाई हतियार छोड्न पटक–पटक निर्देशन दिए पनि उनले आदेश नमानेपछि प्रहरीले गोली चलाएको थियो। गोली लागेका थोमसलाई अस्पताल लगिएको छ। उनको अवस्था गम्भीर भए पनि स्थिर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गोली लागेर मृत्यु हुने दुई जना आरोपीकै परिवारका सदस्य हुन सक्ने अनुमान गरिएको छ । प्रहरी र न्युयोर्क अग्नि विभागले घटनाको थप अनुसन्धान गरिरहेको घटना बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दिइएको छ ।



प्रतिक्रिया