न्यू योर्क। क्यानडाको पश्चिमी ओन्टारियोमा फैलिएका एक सयभन्दा बढी डढेलोको धुवाँ न्युयोर्क सिटीसहित ट्राइ–स्टेट क्षेत्रमा झरेपछि वायु गुणस्तर ‘अस्वस्थ’ तहमा पुग्ने चेतावनी जारी भएको छ।
न्युयोर्क, न्युजर्सी र कनेक्टिकटका प्रभावित क्षेत्रमा बिहीबार मध्यरातसम्म एयर क्वालिटी अलर्ट लागू गरिएको छ। आकाश धमिलो देखिएको छ। धुवाँ जमिनको सतहसम्म झरेपछि प्रदूषण तीव्र रूपमा बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।
न्युयोर्क स्टेट डिपार्टमेन्ट अफ इन्भाइरन्मेन्टल कन्जर्भेसन (एनवाईएसडेक) ले न्युयोर्क सिटी मेट्रो क्षेत्रमा एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २०० पुग्ने पूर्वानुमान गरेको छ। यो ‘अस्वस्थ’ श्रेणीको माथिल्लो सीमा हो। एक्यूआई १५१ देखि २०० पुगेपछि संवेदनशील समूह मात्र होइन, स्वस्थ मानिसमा पनि स्वास्थ्य समस्या देखिन सक्छ।
बिहीबार साँझ धुवाँ चरममा पुग्ने अनुमान
नेसनल वेदर सर्भिस अर्थात् एनडब्ल्यूएसका अनुसार ओन्टारियोबाट आएको धुवाँ उत्तरपश्चिमी हावासँगै न्यू योर्कतर्फ आइरहेको छ। धुवाँ बिहीबार साँझसम्म अझ बाक्लिन सक्ने अनुमान छ। कतिपय स्थानमा दृश्य दूरी दुईदेखि पाँच माइलसम्म घट्न सक्छ।
हावाको दिशा परिवर्तन भएपछि शुक्रबार बिहानबाट धुवाँको मात्रा कम हुन सक्ने पूर्वानुमान छ। डढेलोको धुवाँको दिशा अचानक परिवर्तन हुन सक्ने भएकाले अवस्था अनिश्चित रहेको अधिकारीहरूले बताएका छन्।
खोकी, सास फेर्न कठिन र छाती दुख्न सक्ने
डढेलोको धुवाँमा अत्यन्त साना प्रदूषक कण हुन्छन्। तिनलाई पीएम २.५ भनिन्छ। यसले आँखा पोल्न सक्छ। खोकी लाग्न सक्छ। सास फेर्न कठिन हुन सक्छ। छाती कसिएको महसुस हुन सक्छ। चक्कर र असामान्य थकान पनि देखिन सक्छ।
बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा मुटु वा फोक्सोको समस्या भएका व्यक्तिमा जोखिम बढी हुन्छ।
न्युयोर्क सिटीका अधिकारीहरूले लामो समय बाहिर नबस्न आग्रह गरेका छन्। दौड, व्यायाम र कडा शारीरिक काम सीमित गर्न भनिएको छ।
बाहिर जानैपर्ने अवस्थामा राम्रोसँग फिट हुने एन–९५ वा केएन–९५ मास्क लगाउन सुझाव दिइएको छ। कपडाको मास्क र सर्जिकल मास्कले पीएम २.५ बाट सुरक्षा दिन सक्दैन।
घरका झ्याल र ढोका बन्द राख्न भनिएको छ। एयर कन्डिसनरलाई बाहिरी हावा भित्र तान्ने सेटिङमा नराख्न सुझाव दिइएको छ। घरभित्र धूमपान, मैनबत्ती, धूप र धेरै धुवाँ आउने खाना पकाउने काम नगर्न पनि आग्रह गरिएको छ। गम्भीर रूपमा सास फेर्न कठिन भएमा तत्काल ९११ मा फोन गर्न भनिएको छ।
न्युयोर्कमा निःशुल्क मास्क वितरण
न्यू योर्क सिटीले पाँचवटै बरोमा सयौँ कुलिङ सेन्टर खुला राखेको छ। घरमा एयर कन्डिसनर नभएका व्यक्तिलाई चिसो र सुरक्षित भित्री स्थानमा जान आग्रह गरिएको छ।
निःशुल्क केएन–९५ मास्क न्युयोर्क पुलिस डिपार्टमेन्ट (एनवाईपीडी)का सबै प्रिसिन्क्टमा उपलब्ध छन्। पब्लिक लाइब्रेरी र केही फायर डिपार्टमेन्ट अफ न्युयोर्क (एफडीएनवाई) परिसरमा पनि मास्क वितरण भइरहेको छ।
न्युजर्सीकी गभर्नर मिकी शेरिलले एनजे ट्रान्जिट, न्युजर्सी टर्नपाइक अथोरिटी र पोर्ट अथोरिटीलाई यात्रुका लागि मास्क उपलब्ध गराउन निर्देशन दिएकी छन्।




प्रतिक्रिया