न्यूयोर्क । गुरुङ (तमु) सोसाइटी अमेरिकाको पच्चिसौ स्थापना दिवश (रजत जयन्ती) न्यूयोर्कको उडसाइडमा विभिन्न कार्यक्रम गरी भव्यरुपमा मनाएको छ । जुलाई १८ शबिारको दिन भएको संस्थाको रजत जयन्ती समारोहको अवसरमा र्याली, शुभकामना आदनप्रदान, संस्थाको हालसम्मको गतिविधिहरुको प्रस्तुती, आमा समूहको सम्मान, युवा पिँडीलाई पेशागत क्षेत्रमा प्रोत्सहान, संस्थाको सामुदायिक भवन निर्माण घोषणा तथा परम्परागत गीत संगीतको प्रस्तुती लगायतका गतिविधि आयोजना भए ।

समारोहमा विभिन्न वक्ताहरुले गुरुङ (तमु) सोसाइटी अमेरिकाले २५ वर्षको अवधिमा गरेका गतिविधिहरुको खुलेर प्रशंसा गर्दै यस कार्यहरुलाई निरन्तरता दिन आग्रह गरे । कार्यक्रममा प्रमुख अतिथि पुर्व कर्नेल एवं अमेरिकामा गुरुङ संस्थाका संस्थापक नरबहादुर गुरुङले २५ वर्षअघि केही व्यक्तिहरुले सानो संस्थाको रुपमा स्थापना गरिएको संस्थाले समुदायको लागि गरेको अतुलनीय कामहरु प्रशंसानीय रहेको बताए । संस्थाले युवा पुस्ताकालागि समुदायको भाषा संस्कृति जगेर्नाको लागि खेलेको भूमिका र युवाहरुलाई पेशागत क्षेत्रमा लाग्न गरको प्रेरणादायी कार्य अत्यन्तै अनुकरणीय रहेको भन्दै यसलाई अझ निरन्तरता दिइनुपर्ने बताए । प्रमुख अतिथि गुरुङले अब समुदायका सदस्यहरुले अमेरिकामा मात्र नभएर नेपालमा पनि गरिब विद्यार्थीको शिक्षाको क्षेत्रमा केही सहयोग गर्नुपर्ने धारणा राखे ।

कार्यक्रमका विषेश अथिति न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारीले गुरुङ (तमु) सोसाइटी अमेरिकाले गुरुङ समुदायकासाथै समग्र नेपाली समुदायकै क्षेत्रमा गरेको कामहरु प्रशंसनीय रहेको बताए । डायस्पोराका नेपाली समुदायको हितको लागि हातेमालो गर्न महावाणिज्यदूतबास तयार रहेको बताउदै यहाँ सिकेका सीप र श्रोतको उपयोग गरी नेपालको आर्थिक विकासमा साझेदारी बन्न सबैमा आह्वान समेत गरे ।
हाल अमेरिका भ्रमणमा रहेका राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. गणेश गुरुङ आफु ३५ वर्षअघि अमेरिका आउदा न्यूयोर्कमा एकजना गुरुङ भेटेकोमा आज अमेरिका आउदा ठूलो संख्यामा गुरुङहरु भेट्न पाएको र संस्थागत रुपमानै २५ वर्ष भइसकेको देख्दा अत्यन्त खुशी लागेको बताए । आप्राबासन सम्बन्धी विज्ञको रुपमा परिचित डा. गुरुङले दशलाख भन्दा बढी गुरुङहरु विश्वभर छरिएर रहेको र अमेरिकामा बस्ने गुरुङहरुले शिक्षा र आर्थिक अवसरको हिसाबले उत्कृष्ट राष्ट्रमा बसोबास गरिरहेको बताए ।
संसारभरकै गुरुङहरुलाई एउटै सुत्रमा बाँध्नको लागि मात्रृभाषा प्रमुख सुत्र हुन सक्ने उल्लेख गर्दै नयाँपुस्तालाई पनि भाषाबारे जानकार गर्नुपर्नेमा जोड दिनुभयो । विदेशी भुमिमा रहेका गुरङहरुले आफ्नो पहिचानलाई जोगाइ राख्न नामाकरणमा गुरुङ भाषा झल्किन पाएमा अझ राम्रो हुने डा. गुरुङले बताए ।
कार्यक्रममा न्यूयोर्क राज्यका सिभिल कोर्ट न्यायधिस रिना गुरुङले गुरुङ (तमु) सोसाइटी अमेरिकाको संस्थागत विकासका क्रममा एकदशक अघि आफुले पनि योगदान दिने अवसर पाएको स्मरण गर्दै नेपालको महाभुकम्पका क्रममा धेरै राहत सहयोगहरु गर्न सफल भएको बताए । उनले अब समुदायका सदस्यहरु अमेरिकाको स्थानीय राजनीतिमा लाग्नुपर्ने अवश्यकता औल्याउदै यहाँका कम्युनिटी बोर्ड हुँदै आफ्नो र नेपाली समुदायका लागि राजनीतिक रुपमा आवाजहरु उठाउनु पर्ने बताए ।

सो अवसरमा न्युयोर्क राज्यका लागि डिस्ट्रिक ३० का एसेमब्ली मेम्बर स्टेफन रागाले न्यूयोर्क राज्यकै सबैभन्दा विविधतायुक्त बोरो क्वीन्समा गुरुङ (तमु) सोसाइटीले गर्दैै आएको गतिविधि प्रशंसनीय रहेको बताए । उनले समुदायको हितमा काम गर्न आफु संधै तत्पर रहेको उल्लेख गर्दै एसेमब्ली डिस्ट्रीकको तर्फबाट सोसाइटीलाई प्रशंसापत्र हस्तान्तरण गरे ।
रजत जयन्तीको अवसरमा शुभकामना दिदै गुरुङ (तमु) सोसाइटी अमेरिकाका संस्थापक जुनु घलेले विदेशमा आएर हराएको परदेशी जस्तो नहोस् भनेर समुदायको भाषा संस्कृति र रहन सहन नयाँ पुस्तालाई पनि हस्तान्तरण गर्नुपर्छ भनेर सन् १९९९ तिर संगठित र संस्थागत हुनुपर्छ भन्ने अवधारणा भएको बताए । उक्त बेला लिएको अवधारणा र परिकल्पना अनुरुप नै हाल संस्थाले काम गरिरहेकोमा उनले प्रसंशा व्यक्त गरे । संस्थापक सदस्य घले हाल लासभेगास शहरमा बस्दै आएका छन् ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका बरिष्ट उपाध्यक्ष शम्भु राईले गुरुङ (तमु) सोसाइटी अमेरिकाले आदिवासी जनजाति समुदायमा गर्दै आएको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै समुदायमा एकता र सामुदायिक भावना विकास गर्न सफल भएको बताए । संस्थाको माध्यमबाट समुदायको भाषा, संस्कृती र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै आएकोमा प्रशंसा गर्दै युवा पुस्तालाई हरेक क्षेत्रको नेतृत्व तहमा विकास गराउन प्रयास गरिनुपर्नेमा जोड दिए ।
सो अवसरमा न्यूह्याम्सार गुरुङ सोसाइटीका अध्यक्ष विकास गुरुङले संस्था स्थापनाको २५ वर्षमा भएका गतिविधि र यसका लागि सामुहिक भावनासहीत अघि बढेकोमा प्रशंसा गरे । यो एकता र पहिचानको यात्रा अझै लामो समय जाने शुभकामना उनले दिए ।
कार्यक्रममा फिप्नाका पूर्व अध्यक्ष तोरण गुरुङ, गुरुङ (तमु) सोसाइटी अमेरिकाका पूर्व अध्यक्षहरु तुल्सी गुरुङ, अर्जुन गुरुङ लगायतले सोसाइटीले रजत जयन्तीको यात्रासम्म आइपुग्दा भोग्नुपरेको समस्या र हासिल गरेको उपलब्धिहरु अविस्मरणीय रहेको बताउदै समुदायमा ल्याएको एकता, आपसी सम्बन्धको विस्तार, नयाँ पुस्तामा संस्कार संकृतिको हस्तान्तरण, युवा पिडीलाई अमेरिकी अवसरमा लाग्न गर्दै आएको प्रेरणादायी कार्यक्रमहरु निरन्तर रुपमा अघि बढ्नुपर्नेमा जोड दिए । युवा लिडर ओम गोर्खाली गुरुङले समाज घरमा सबै खाल्को पुस्ता अट्ने खाल्को समाज भवन निर्माण गर्न सबैलाई आग्रह गर्दे सबैलाई एकताको लागि अनुरोध गरे ।
सो अवसरमा सोसाइटीका युवा संयोजक बिक्की गुरुङले सोसाइटीले युवा पिडीलाई समुदायको संस्कार संस्कृतिमा लगाव बढाउन गर्दै आएको गतिविधि र अमेरिकामा पेशागत क्षेत्रमा अघि बढ्न दिइदै आएको हौसलामुखी कार्यक्रमहरु बारेमा जानकारी गराएका थिए ।
युवाहरूको तर्फबाट सोसाइटीमा आबद्ध भएपछि आफूहरूको व्यक्तिगत तथा व्यावसायिक विकासमा कसरी सहयोग पुगेको छ भन्ने विषयमा गुरुङ तमु स्टुडेन्ट क्लबकी संयोजक मेलिशा गुरुङ, सह–संयोजक सेल्बी गुरुङ, सोनेश गुरुङले आफ्ना अनुभव र धारणा प्रस्तुत गरे । पूर्व सचिव रोशनी गुरुङले सोसाइटीमा आबद्ध भएपछि आफ्नो व्यक्तिगत तथा व्यावसायिक विकासमा कसरी सहयोग पुगेको छ भन्ने विषयमा आफ्ना अनुभव, विचार र धारणा प्रस्तुत गरेका थिए । यस्तै युएस आर्मी विसान्त गुरुङले अमेरिकी आर्मीमा भर्ना हुनका लागि आवश्यक योग्यता र सेवा सुविधाको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा गुरुङ (तमु) सोसाइटी अमेरिकाका अध्यक्ष ओम गुरुङले संस्थाको २५ औं वर्षसम्म आइपुग्नका लागि योगदान दिने संस्थापक सदस्यहरु, आमा समूह, अगुवाहरु, युवा पुस्ता र समुदायका सबै सदस्यहरुप्रति आभार प्रकट गर्दै भावी दिनमा पनि यस्तै सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । अध्यक्ष ओम गुरुङले (तमु) सोसाइटीले आगमी दिनमा अझ समुदाय केन्द्रीत र शसक्त कार्यक्रमहरु अघि बढाइने प्रतिबद्धता प्रकट गरे । समुदायको भवन निर्माणदेखि संस्कार परम्परालाई जोगाउन जस्ता कार्यक्रमहरु प्रभावकारी रुपमा अघि बढ्ने उनले बताए ।
सो अवसरमा सोसाइटीमा महत्वपूर्ण योगदान पु¥याउने कलाकारहरूलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। लामो समयदेखि सोसाइटीमा योगदान पु¥याउँदै आएका कलाकार राजेश थापा र पूर्व कोषाध्यक्ष गम गुरुङलाई विशेष सम्मान गरिएको थियो। साथै, सोसाइटीका पूर्व अध्यक्षहरूलाई पनि संस्थाका लागि पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो।
कार्यक्रममा कलाकारहरूले आकर्षक नृत्य प्रस्तुत गर्नुकासाथै, गुरुङ (तमु) आमाहरूले ¥याम्पमा हिँड्दै एकता, आत्मविश्वास र सामूहिक शक्तिको उत्कृष्ट नमुना प्रस्तुत गरे । औपचारिक कार्यक्रमअघि आफ्ना मौलिक भेषभूषामा सजिएका सहभागीहरूले सडकमा गुरुङ भाषाका गीत गाउँदै, तथा गुरुङहरूको परम्परागत मौलिक बाजा बजाउँदै ¥यालीसहित कार्यक्रमस्थलमा प्रवेश गरेका थिए।
कार्यक्रममा उपाध्यक्ष एलिशा गुरुङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमका सह–संयोजक गौतम गुरुङले कार्यक्रमको उद्देश्य र रूपरेखा बारे जानकारी गराएका थिए । कार्यक्रम सञ्चालन महासचिव मच्छे देवी गुरुङले गरेका थिए । कार्यक्रमका संयोजक तथा सल्लाहकार टेक गुरुङ र सह–संयोजक तथा सल्लाहकार गौतम गुरुङले कार्यक्रमको समन्वय गरेका थिए । कार्यक्रमको आर्थिक संयोजन सल्लाहकार तथा संयाृजक खड्कजंग गुरुङ र सह–संयोजन आजीवन सदस्य सुवेदार चित्र गुरुङले गरेका थिए । साँस्कृतिक कार्यक्रमको संयोजन उपाध्यक्ष लिल गुरुङले गरेका थिए ।

तीन वर्ष भित्र तमु भवन
रजत जयन्तीकै अवसरमा गुरुङ (तमु) सोसाइटी अमेरिकाले आगमी तीन वर्ष भित्र न्यूयोर्कमा सामुदायिक भवन निर्माणको घोषणा गरेको छ । १५ लाख डलर सम्मको लागत अनुमान रहेको भवन निर्माणको लागि हालसम्म करिब २ लाख ५० हजार डलरको प्रतिबद्धता आएको भवन निर्माण संयोजक मेख गुरुङले जानकारी दिए । प्रमूख अतिथि पूर्व कर्णेल नर बहादुर गुरुङ तथा पे्रमकुमारी गुरुङले २५ हजार डलर सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सोसाइटीले गत ल्होसारको कार्यक्रमबाट भवन निर्माणको लागि आर्थिक संकलन शुरु गरेको थियो । भवन निर्माणको लागि आर्थिक संकलनका विविध कार्यक्रमहरु संचालन गरिने उनले जानकारी दिए । सामुदायिक भवनमा गुरुङ समुदायको संग्रहालयदेखि संस्कार संस्कृति, परम्परा र भाषा संरक्षणको विविध गतिविधिहरु संचालन गरिने संयोजक मेख गुरुङले जानकारी दिए । त्यसैगरी, डा. सुख गुरुङले भवन निर्माणको उद्देश्य, यसको महत्व तथा दीगोपनाका विषयमा आफ्ना धारणा राखेका थिए । सल्लाहकार तथा संयोजक टेक गुरुङ र फिप्नाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार तोरण गुरुङले भवन निर्माण समुदायका लागि एउटा महत्वपूर्ण र दीर्घकालीन योजना भएकाले यस पवित्र तथा पुण्य कार्यमा सबैलाई सक्रिय रूपमा जोडिन र सहयोग गर्न आह्वान गरे । कार्यक्रममा उपस्थित आजीवन सदस्यहरु तथा सहभागी सदस्यहरुले स्वतः स्फुर्त रुपमा भवन निर्माणको लागि प्लेज मार्फत आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।














प्रतिक्रिया