न्यूयोर्क । अमेरिकाको विभिन्न राज्यमा संचालित नेपाली व्यवसायीवीच सहकार्य र संजालिकृत गर्दै नेपालमा समेत लगानी प्रवद्र्धन गर्ने उदेश्यले ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सले नेपाली अमेरिकन व्यापार तथा लगानी सम्मेलन २०२६ को औपचारिक घोषणा गरेको छ । सम्मेलनले अमेरिका र विश्वभर रहेका नेपाली व्यवसायीहरुवीच सहकार्य र नेटवर्किङलाई प्रवद्र्धन गर्दै नेपाल र अमेरिकाबीच व्यापार, लगानी, तथा आर्थिक विकासमा सहकार्य अविवृद्धि गर्ने उद्देश्य राखेको छ ।
सम्मेलनको औपचारिक घोषणाका लागि आइतबार न्यूयोर्कको क्वीन्समा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो । सम्मेलन आगामी सेप्टेम्बर २५ देखि २७ सम्म न्यूयोर्कस्थित जेएफके मेरियट होटलमा आयोजना हुने ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रदीप श्रेष्ठले जानकारी दिए । सम्मेलनको यो वर्षको नारा “पूँजी, विचार र अवसरलाई जोड्ने साझा अभियान” भन्ने रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । सम्मेलन नेपाली महावाणिज्यदूताबास न्यूयोर्कसंगको सहकार्यमा हुन लागेको हो ।
सम्मेलनमा अमेरिकाका विभिन्न राज्यका नेपाली व्यवासायीहरु, नेपाल र अमेरिकाका सरकारी प्रतिनिधि, व्यवसायी तथा लगानीकर्ता, नेपालका विभिन्न उद्याग व्यवसायी क्षेत्रका संघसंस्थाका प्रतिनिधि तथा विश्वभर फैलिएको नेपाली डायस्पोरा विज्ञ र उद्यमीहरु समेत गरी करिब ३ सय जनाको सहभागिता रहने अध्यक्ष श्रेष्ठले बताए । सम्मेलनमार्फत नेपाल र अमेरिकावीच व्यापार विस्तार, लगानी प्रवद्र्धन, प्रविधि विकास तथा दीर्घकालीन आर्थिक साझेदारी निर्माण गर्ने लक्ष्य राखिएको बताइएको छ।
पत्रकार सम्मेलनमा बोल्दै ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रदीप श्रेष्ठले यो सम्मेलन एउटा साधारण सम्मेलन मात्र नभई नेपाल र अमेरिकाबीच आर्थिक सम्बन्धलाई नयाँ दिशामा लैजाने साझा अभियान भएको बताए। सम्मेलनले नेपाली व्यवसायीहरुलाई एकअर्कामा नेटवर्क गर्दै अनुभव आदनप्रदान गर्ने, रणनीतिक साझेदार निर्माण गर्ने, व्यवसायलाई स्थानीयबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय तहसम्म पुर्याउने साझा प्लेटफर्मको रुपमा विकास गर्ने लक्ष रहेको अध्यक्ष श्रेष्ठले बताए । अमेरिकामा नेपाली समुदायको व्यवसाय फस्टाउनु भनेको नेपाली समुदायको उन्नती पनि भएको उनले बताए ।
सेम्टेम्बर महिनामा संयुक्त राष्ट्रघीय महासभा समेत हुने भएकोले नेपालका उद्यमी तथा नीति निर्माताहरु, सरकारी तथा निजी क्षेत्रका विज्ञहरुसंग समेत संवादको अवसर हुने उनले जानकारी दिए । सम्मेलनका क्रममा स्टार्टअप प्रदर्शनी तथा उत्पादन सार्वजनिक कार्यक्रम, लगानीकर्ता सञ्जालीकरण, व्यवसाय–व्यवसाय तथा व्यवसाय–सरकार भेटघाट, रणनीतिक साझेदारी बैठक तथा गाला डिनर एवं सम्मान कार्यक्रम आयोजना गरिने जनाइएको छ।
पत्रकार सम्मेलनका क्रममा नेपाली अमेरिकन व्यापार तथा लगानी सम्मेलन २०२६ को वेबसाइट समेत सार्वजनिक गरिएको थियो । यससंगै सम्मेलनमा सहभागी हुन चहानेहरुको दर्ता प्रक्रिया समेत सुरु भएको ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सका सचिव एवं सम्मेलनका संयोजक दिपेन्द्र लामाले जानकारी दिए ।
संयोजक लामाका अनुसार स्टार्टअप तथा उद्यमीहरूले आफ्नो व्यवसाय प्रस्तुत गर्न स्टार्टअप प्रदर्शनी तथा उत्पादन सार्वजनिक कार्यक्रमका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिएका स्टार्टअप मध्ये छनौटमा परेका पाँच जनाले लगानीकर्तासंग सहकार्य गर्न सकिने लामाले जानकारी दिए । यस्तै सम्मेलनको दोस्रो दिन महत्वपूर्ण चारवटा छलफल सत्रहरु आयोजना हुने उनले बताए ।
सो अवसरमा न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारीले नेपाली डायस्पोरा रिमिटेन्स बेस मात्र नभई नेपालको आर्थिक विकासको लागि रणनीतिक साझेदारको रुपमा विकास भएको बताए । यो सम्मेलनले नेपालमा अहिले देखिएको पोलिटिकल कन्फिडेन्टलाई संसारभर संचार गराउने अवसरको रुपमा समेत सदुपयोग गर्न सकिने बताए । यसमा नेपाल सरकारको नीति अन्तर्गत रहेर महावाणिज्यदूताबासले आयोजकसंग सहकार्य गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
कार्यक्रममा अमेरिका भ्रमणका क्रममा रहेका रास्वपाका नेता मनिष झाले वर्तमान राजनीतिक परिवर्तनमा डायस्फोराले खेलेको भूमिका अहं रहेको उल्लेख गर्दै अब आर्थिक विकासको फड्को मार्नकोलागि पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।




प्रतिक्रिया