न्यूयोर्क । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रभावशाली नेता मनिष झाले देशमा भइरहेको पछिल्लो घटनाक्रम र सरकारको सयदिनको गतिविधिप्रति पार्टी सन्तुष्ट नरहेको खुलासा गरेका छन् । पार्टी सभापतिले नै प्रधानमन्त्रीलाई घरमा बोलाएर यसबारेमा गम्भीर छलफल गरेको जानकारी दिदै थप जटिल बन्दै गएको सुकुम्बासी समस्या, नागरिक असन्तुष्टि र युवाको आत्मादहसम्मको विषयमा पार्टीले चासो राखेको नेता झाले बताए । रास्वपाका पूर्व प्रवक्ता समेत रहेका नेता झाले प्रधानमन्त्रीको निजी सचिवालय पुनर्संरचनाको संकेत समेत गरेका छन् ।
अमेरिका भ्रमणका क्रममा आइतबार न्यूयोर्कको रिजउडमा मधेशी डायस्पोरा इन युएसएले आयोजना गरेको अन्तरक्रियामा नेता झाले नेपालमा देखिएको पछिल्लो परिस्थितिका कारण आफु अमेरिका भ्रमण छोेट्याएर स्वदेश फर्कन लागेको समेत जानकारी दिए । प्रतिनिधिसभा सदस्य समेत रहनुभएका नेता झा सोमबार नै स्वदेश फर्किएका छन् ।
रिजउडस्थित नेपाली कम्युनिटी भवनमा आयोजना भएको अन्तरक्रियामा नेता झाले भने, सरकारको सयदिन जस्तो हुनुपर्ने हो त्यो भएन, मेरो विचारमा ‘दिस इज नट स्याटिस्फ्याक्ट्री’, त्यसमा पार्टीले आफ्नो धारणा राख्ला नै ।” सरकारले धैर्यता राखेर समाधानको विधि पहिल्याएर अघि बढ्नु पर्नेमा त्यसो हुन नसक्दा समस्या उत्पन्न भएको हो । उनले भने “गाँठो परिसकेको धागोलाई तानेर झन गाँठो बढाउनु हुन्न, स्थिर राखेर अघिल्लो गाँठो फुकाउने धैर्यता गर्नुपर्दछ, तर यहाँ धागो तान्दै गयो र झन गाँठो बढ्दै गएको छ । सुकुम्बासी समस्यमा पनि त्यही भएको हो।
परिस्थिति क्र्यास नहोस र एक्सिडेन्ट नहोस् भन्नेमा आफुहरु सचेत रहेको बताउदै परिस्थिति गम्भीरतातर्फ गएकोले सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई घरमै बोलाएर चार घण्टासम्म छलफल गरेको नेता झाले बताए । सरकारको टीम, यो अवधिको डेलिभरी र प्राथमिकता के हो भन्ने नै मुख्य कुरा हुने भएकोले यसमा प्रष्टता नहुँदा अहिलेको अवस्था देखिएको भन्दै पार्टी सभापतिको तर्फबाट ‘इन्टरफेयर’ गर्नुपरेको नेता झाले स्पष्ट पारे ।
प्रधानमन्त्रीको तर्फबाट निर्माण भएको सचिवालय, संयन्त्र जस्तो बन्नुपर्ने हो त्यस्तो नदेखिएको बताउदै लहडमा बनाएको जस्तो देखिएको समेत नेता झाले दावी गरे । उनले आफु नेपाल फर्किएर यसबारेमा नडराई कुरा राख्ने समेत आस्वस्त पारे । रास्वपाले निर्वाचनको बेलामा ल्याप्चे नै गरेर करारपत्र सार्वजानिक गरेको उल्लेख गर्दै त्यसमा व्यक्त प्रतिबद्धताहरु अनुरुप नै प्रवासी नेपालीको नागरिकता लगायतका अधिकारहरुको बारेमा निर्णय हुने प्रतिबद्धता व्यक्त गरे ।
सरकारले राजदूत र विश्वविद्यालयको पदाधिकारी नियुक्तिको प्रक्रियाबाट नै अब कुनैपनि राजनीतिक हस्तक्षेप नहुने स्पष्ट पारिसकेको उल्लेख गर्दै विद्यालयको व्यवस्थापन समिति सम्म यो परिपाटिलाई लगिने जानकारी दिए ।
पार्टीमा प्रष्ट वक्ताको रुपमा समेत चिनिएका नेता झाले आफु मन्त्री र प्रधानमन्त्रीको लागि भन्दा पनि इमान्दार नेता बन्ने ध्याउन्नमा रहेको बताए । आफ्नो अडानमा अडिग रहने शैली पार्टीको महाधिवेशनमा समेत कायमै राखेको नेता झाले बताए । नेता झाले अमेरिका आउने बेलामा पनि काम नै छोडेर विमानस्थलमा लिन नआउन पार्टीका समर्थकहरुलाई आग्रह गरेका थिए । साथै आफु संलग्न औपचारिक कार्यक्रमहरुमा खदामाला नलगाउन र मन्चमा आसनग्रहण नगराउन पनि नेता झाले आयोजकमा आग्रह गरेका थिए ।




प्रतिक्रिया