न्यूयोर्क । फ्रान्सले फिफा विश्वकपमा अर्को उत्कृष्ट प्रदर्शन गर्दै मोरक्कोलाई २–० ले पराजित गरेको छ। योसंगै फ्रान्स प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गर्ने पहिलो टीम बनेको छ ।
अमेरिकाको बोस्टन रंगशालामा स्थानीय समय अनुसार दिउसो ४ बजे भएको खेलमा फ्रान्सले मोरोक्कोसंग सहज जीत दर्ता गर्दै विश्वकपको दाबेदारी प्रस्तुत गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरी रहेकोमा दोस्रो हाफपछि ६० औं मिनेटमा स्टार फरवार्ड किलियन एम्बाप्पेले उत्कृष्ट गोल गर्दै टीमलाई अग्रता दिलाए ।
स्ट्राइकर एम्बाप्पेको यो गोल प्रतियोगिताको आठौं गोल हो । योसँगै उनी गोल्डेन बुटको दौडमा लियोनेल मेस्सीसँग ८÷८ गोलको बराबरीमा पुगेका छन्।
त्यसअघि खेलको २८ औं मिनेटमा पाएको पेनाल्टी प्रहार मोकालाई एम्बाप्पेले गुमाएका थिए । मोरोक्कोका खेलाडीले विपक्षी खेलाडिलाई डि एरिया भित्र लडाएपछि प्राप्त पेनाल्टीलाई मोरोक्कोका गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए ।
गोलरहीत खेलमा पहिलो गोल भएपछि रोमान्चक प्रतिस्पर्धा शुरु भएकै बेला ६६ औं मिनेटमा फ्रान्सका उस्मान डिम्बेलेले आकार्षक गोल गर्दै टोलीलाई २–० को अवस्थामा पुर्याएपछि मोरोक्को थप दबाबमा परेका थिए । एम्बाप्पेले मैदानको केन्द्रभाग तिर दिएको पासलाई नियन्त्रणमा लिदै डिम्बेलेले विपक्ष रक्षकहरुलाई छलाउदै एक्लैले बललाई पोष्टको दिशा दिलाएका थिए । यो गोलसंगै फ्रान्स २ गोलले फ्रान्सको अग्रता दोब्बर भएपछि खेललाई फ्रान्सले एकतर्फी नियन्त्रणमा लिएको थियो ।
खेलको अन्तिम समयमा मोरोक्कोले खेलमा फर्किने प्रयास स्वरुप केही उत्कृष्ट प्रहारहरु गरेपनि विपक्षी रक्षकले राम्रो बचाव गर्दै मोरोक्कोको गोल सपनामा पानी मिलाइदिएका थिए । खेलको उत्तरार्धामा फ्रान्सका स्ट्राइकर एम्बाप्पे चोटका कारण मैदानबाट बाहिरिएका थिए । उनको खुट्टामा चोट देखिएको छ । चोटपछि २७ वर्षीय एम्बाप्पे आगामी खेलको लागि फिट हुने वा नहुने भन्नेमा फ्यानहरुको चासो बढेको छ । प्रतियोगिताको दोस्रो क्वाटरफाइनल स्पेन र बेल्जियमवीच लस एन्जेलसमा शुक्रबार दिउसो हुनेछ ।




प्रतिक्रिया