२२ असार २०८३, सोमबार
Mon, Jul 6, 2026
SUBSCRIPTION

न्यूयोर्कमा पहिलोपटक नौ देशको आयोजनामा बुद्ध पूर्णिमा (वेसाक डे) मनायो

बुद्धको संदेशलाई विश्वमाझ फैलाउन न्यूयोर्कमा पहिलोपटक एसियाका बौद्धमार्गी रहेका देशहरुले सामुहिक रुपमा दिवश मनाउन सफल भएको मूल आयोजक बाँगलादेश बुद्धिष्ट कम्युनिटी अमेरिकाका अध्यक्ष शुभाषिस बरुआले बताए ।
न्यूयोर्कमा पहिलोपटक नौ देशको आयोजनामा बुद्ध पूर्णिमा (वेसाक डे) मनायो

न्यू योर्क । बुद्धका अहिंसा, करुणा र मैत्री वाणीलाई विश्वमाझ थप उजागर गर्ने उदेश्यले न्यूयोर्कमा पहिलोपटक एसियाका विभिन्न नौ राष्ट्रका बौद्ध संघसंस्थाहरुले संयुक्त रुपमा बुद्ध पूर्णिमा (वेसाक डे) मनाएका छन् । जुन २८ को दिन न्यूयोर्कको ज्याक्सन हाइट्समा आयोजना भएको अन्तराष्ट्रिय बौद्ध पूर्णिमा अर्थात “इन्टरनेश्लन वेसाक डे” एसियाका नौ देशका ३० भन्दा बढी बौद्ध संघसंस्थाहरुले संयुक्त रुपमा मनाएको हो । 

बुद्धको संदेशलाई विश्वमाझ फैलाउन न्यूयोर्कमा पहिलोपटक एसियाका बौद्धमार्गी रहेका देशहरुले सामुहिक रुपमा दिवश मनाउन सफल भएको मूल आयोजक बाँगलादेश बुद्धिष्ट कम्युनिटी अमेरिकाका अध्यक्ष शुभाषिस बरुआले बताए । यो समारोह बंगलादेश, भुटान, भारत, जापान, म्यानमार, नेपाल, श्रीलंका, थाइल्यान्ड र तिब्बतका तीस भन्दाबढी बौद्ध संस्थाहरुको सक्रियतामा सम्पन्न भएको थियो । 
बुद्ध पूर्णिमा (वेसाक डे) को अवसरमा न्यूयोर्कको ज्याकसन हाइट्सस्थित ७६ स्ट्रिट र ३७ एभिन्युबाट शुरुभएको शान्ति र्याली रुजभेल्ट एभिन्यु हुँदै ७४ स्ट्रिटबाट पुनः ७६ स्ट्रिटमा आएर टुंगिएको थियो । दिवशको अवसरमा शान्ति र्यालीका साथै बौद्ध दर्शन प्रवचन, शान्ति ध्यान, तथा मूल समारोहको आयोजना भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर जोहरान ममदानीले अहिँसा र शान्तिको सन्देश फैलाउन बुद्ध पूर्णिमा (वेशाक डे)ले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । अमेरिकामा बसोबास गर्ने एसियाका बौद्धमार्गिहरुले सामुहिक रुपमा कार्यक्रम आयोजना गरेकोमा प्रशंसा गर्दै मेयर माम्दानीले यसले बौद्ध समुदायबीच एकता स्थापित गर्न समेत सफल भएको बताए । उनले बुद्धका शान्ति, करुणा र प्रज्ञाका सिद्धान्तहरू सांस्कृतिक रूपमा विविधताको सहरको रुपमा रहेको न्यूयोर्कमा समावेशी र सम्मानपूर्ण समाज निर्माणका लागि अत्यन्त सान्दर्भिक रहेको बताए । मेयर माम्दानीले विविधता विभाजनको स्रोत नभई ठूलो शक्ति भएको उल्लेख गर्दै बुद्धले दिएका सद्भाव र मैत्रीका बाणीहरूले अझ सहिष्णु र एकताबद्ध न्यूयोर्क निर्माणमा सहयोग सिद्ध हुने बताए । 

समारोहमा अन्तर्राष्ट्रिय वेसाक दिवस २०२६ समारोह समितिका प्रमुख सल्लाहकार उर्गेन शेर्पाले एसियाका विभिन्न देशका बौद्धमार्गीवीचको समन्वयमा न्यूयोर्कमा संयुक्त रुपमा बुद्ध पूर्णिमा मनाउन सफल भएको बताउदै यो प्रयासले न्यूयोर्कमा बुद्ध पूर्णिमाको दिन शैक्षिक विदा दिनुपर्ने माग पुरा गराउनमा सफलता मिल्ने विश्वास व्यक्त गरे । प्रमुख सल्लाहकार शेर्पाले आयोजकको तर्फबाट मेयर मम्दानीलाई प्रेमको प्रतीकस्वरूप बुद्धको प्रतिमा प्रदान गरेका थिए । 
कार्यक्रममा समारोहका कन्भेनर रुपक बरुआ, बंगलादेश बुद्धिष्ट कम्युनिटी अमेरिकाका सचिव अमित बरुआ, बंगलादेश बुद्धिष्ट बिहार न्यूयोर्कका प्रमुख भिक्षु मुदिता रतना, क्यानडाको ओन्टारियोस्थित वेस्ट एन्ड बौद्ध मन्दिर तथा ध्यान केन्द्रका भिक्षु भन्ते डा. सरणपाल, गेग्ये योङयाल रिन्पोछे लगायतले वर्तमान अवस्थामा बुद्धको शान्तिका सन्देशको महत्वको बारेमा प्रकाश पारेका थिए । 
औपचारिक समारोहअघि भन्ते टी.के. नाकागाकी (जापान), भन्ते धम्मज्योति थेरो (श्रीलंका), भन्ते यू लिन (चीन), भन्ते धर्मानन्द महाथेरो (अमेरिका), तथा भन्ते विशुद्धबंश थेरोले  धर्मदेशना प्रदान गरेका थिए । 

प्रतिक्रिया