१२ असार २०८३, शुक्रबार
Fri, Jun 26, 2026
SUBSCRIPTION

८ प्रगतिशील उम्मेदवार न्यूयोर्क डेमोक्रेटिक प्राइमरीमा विजयी

८ प्रगतिशील उम्मेदवार न्यूयोर्क डेमोक्रेटिक प्राइमरीमा विजयी

न्यूयोर्क। साउथ एसियन र इन्डो-क्यारिबियन समुदायको समर्थन पाएका ८ जना प्रगतिशील उम्मेदवार न्यूयोर्क डेमोक्रेटिक प्राइमरीमा विजयी भएका छन्। ड्रम बिट्सले समर्थन गरेका यी उम्मेदवारहरूले मेयर जोहरान माम्दानीको "अफोर्डेबिलिटी" एजेन्डालाई अल्बानी र कङ्ग्रेसमा अघि बढाउने संस्थाले जनाएको छ।

जुन २३ मंगलबार भएको प्राइमरीमा न्यूयोर्क सिटीका विभिन्न क्षेत्रमा प्रगतिशील उम्मेदवारहरू निर्वाचित भएका हुन्। ड्रम बिट्सका अनुसार "वर्किङ-क्लास" र "पिपुल अफ कलर" नेतृत्वका संगठनहरूको व्यापक गठबन्धनले महिनौंसम्म गरेको अभियानपछि यी जित सम्भव भएको हो। गठबन्धनमा एनवाईसी डीएसए, ज्यूइश भ्वाइस फर पिस एक्सन लगायतका संगठनहरू सहभागी थिए।

क्लेयर भाल्डेजले एनवाई-७ मा कंग्रेसनल प्राइमरी जितेकी छन्। ड्रम बिट्सले भाल्डेजलाई आफ्नो “मुभमेन्ट बिल्डर” समर्थन र पहिलो कंग्रेसनल समर्थन दिएको थियो। संस्थाले भाल्डेजलाई सामाजिक आन्दोलनका प्राथमिकताप्रति उत्तरदायी, जोखिम लिन तयार र सामूहिक जवाफदेहिताप्रति प्रतिबद्ध उम्मेदवारको रूपमा प्रस्तुत गरेको छ।

ड्रम बिट्सका डाइरेक्टर फाहद अहमदले यो चुनाव "वर्किङ-क्लास" समुदायका लागि महत्वपूर्ण भएको बताए। “हालको राजनीतिक संरचनाले दशकौंदेखि वर्किङ-क्लास समुदायलाई असफल बनाएको छ,” अहमदले भने। “हामीसँग न्यूयोर्क सिटीमा त्यो बन्द बाटोबाट बाहिर निस्कने अवसर छ। जनताको जीवन सुधार गर्ने राजनीतिलाई आकार दिन सक्छौं।”

ब्रुकलिन, क्विन्स र ब्रोंक्समा ड्रम बिट्सले समर्थन गरेका अबेर कवास (सिनेट डिस्ट्रीक्ट-१२), जेसिका गोन्जालेज-रोजास (सिनेट डिस्ट्रीक्ट-१३), क्रिस्टेन गोन्जालेज (एसेम्ब्ली डिस्ट्रीक्ट-५९), क्रिश्चियन सेलेस्ट टेट एडी-५४, सामन्था कट्टान एडी-३७, डेभिड अर्किन (एसेम्ब्ली डिस्ट्रीक्ट-३८) र करिनेस रेयेस (एसेम्ब्ली डिस्ट्रीक्ट-८७) विजयी भएका छन्।

ड्रम बिट्सले यी उम्मेदवारहरूलाई न्यूयोर्क सिटीको अफोर्डेबिलिटी संकट समाधान गर्न अल्बानीमा महत्वपूर्ण सहयोगी हुने बताएको छ। संस्थाका अनुसार उनीहरूले अफोर्डेबल हाउजिङ, हेल्थकेयर, पब्लिक एजुकेशन, पब्लिक ट्रान्जिट र आप्रवासी समुदायको सुरक्षाका मुद्दामा मेयर ममदानी र प्रगतिशील गठबन्धनसँग काम गर्नेछन्।

ड्रम बिट्सका स्वयंसेवकहरूले चुनावी अभियानका क्रममा घरदैलो, फोन कल र सामाजिक सञ्जालमार्फत हजारौं मतदातासँग संवाद गरेको संस्थाले जनाएको छ। संस्थाका अनुसार मतदाताहरूले भाडा तिर्न सक्ने, स्वास्थ्य सेवा पाउने, आराम गर्न सक्ने र सम्मानपूर्वक जीवन चलाउन सक्ने दृष्टिकोणलाई समर्थन गरेका छन्।

 

ड्रम बिट्सले लामो समयदेखि पदमा रहेका "इन्कम्बेन्ट" उम्मेदवारहरूलाई चुनौती दिएको पनि जनाएको छ। संस्थाले वर्किङ-क्लास समुदायका मागहरूलाई बेवास्ता गर्ने, धनी वर्ग र "प्रो-इजरायल लबी" बाट प्रभावित हुने र प्रगतिशील अफोर्डेबिलिटी एजेन्डासँग सहकार्य नगर्ने उम्मेदवारहरूविरुद्ध अभियान चलाएको बताएको छ।

 

गत वर्ष जोहरान माम्दानीको सफल चुनावमा साउथ एसियन र इन्डो-क्यारिबियन समुदायले महत्वपूर्ण भूमिका खेलेको ड्रम बिट्सले जनाएको छ। यस पटकको प्राइमरी नतिजाले ती समुदायहरू एक चुनावी चक्र वा पहिचानका आधारमा मात्र नभई वर्किङ-क्लास समुदायको जीवनमा वास्तविक सुधार चाहेर सक्रिय भएको देखाएको संस्थाको भनाइ छ।

प्रतिक्रिया