११ असार २०८३, बिहिबार
Thu, Jun 25, 2026
SUBSCRIPTION

सताब्दीकै शक्तिशाली भूकम्पका कारण भेनेजुएलामा १६४ जनाको मृत्यु, उद्धार कार्य तीव्र

जनघनत्व धेरै भएका उत्तरी राज्यहरूमा केन्द्रित भूकम्पका कारण मृतक संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ, किनभने उद्धार टोलीहरू सबैभन्दा बढी प्रभावित क्षेत्रमा भर्खरै पुग्न थालेका अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। उद्धार तथा खोज कार्य तीव्र पारिएको त्यहाँको सरकारले बताएको छ।
सताब्दीकै शक्तिशाली भूकम्पका कारण भेनेजुएलामा १६४ जनाको मृत्यु, उद्धार कार्य तीव्र


न्यूयोर्क । भेनेजुएलामा सताब्दी यताकै सबैभन्दा शक्तिशाली भूकम्पपरि हालसम्म कम्तीमा १६४ जनाको मृत्यु भएको छ । करिब १ हजार जना घाइते भएको त्यहाँको सरकारले जनाएको छ । 
भेनेजुएलामा बुधबार साँझ एकमिनेटको फरक गरी ७ रेक्टरस्केलभन्दा माथिका दुई शक्तिसाली भुकम्प गएको थियो । जनघनत्व धेरै भएका उत्तरी राज्यहरूमा केन्द्रित भूकम्पका कारण मृतक संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ, किनभने उद्धार टोलीहरू सबैभन्दा बढी प्रभावित क्षेत्रमा भर्खरै पुग्न थालेका अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। उद्धार तथा खोज कार्य तीव्र पारिएको त्यहाँको सरकारले बताएको छ। 

बुधबार आएको दुईवटा शक्तिशाली भूकम्पका कारण प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा राजधानी कराकास तथा नजिकैको बन्दरगाह सहर ला गुआइरामा आवासीय भवनहरू भत्किएको देखिएको छ। संयुक्त राष्ट्रसंघको मानवीय सहायता निकायका अनुसार ला गुआइरामा मात्रै १०० भन्दा बढी भवन ध्वस्त भएका छन्। पहाडी क्षेत्रमा अस्थायी तथा कमजोर संरचनामा बसोबास गर्ने समुदायमा थप मानवीय क्षतिको आशंका गरिएको छ।
तेल तथा प्राकृतिक स्रोतमा सम्पन्न भए पनि भेनेजुएला विगत एक दशकदेखि आर्थिक संकटबाट गुज्रिरहेको छ। आर्थिक मन्दी, जीर्ण पूर्वाधार, कमजोर उद्धार संयन्त्र तथा उच्च मुद्रास्फीतिले पुनःस्थापनाको कार्यलाई थप चुनौतीपूर्ण बनाएको बताइएको छ।
यो विपत्ति देशको राजनीतिक संक्रमणकालमा आएको छ। पूर्व राष्ट्रपति निकोलास मादुरो अमेरिकी सैन्य कारबाहीपछि हटाइएलगत्तै सत्ता सम्हालेकी राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रिय एकताको आह्वान गरेकी छन्। उनले विभिन्न देशबाट राहत तथा उद्धार सहयोग प्राप्त भइरहेको जानकारी दिएकी छन्।
राष्ट्रपति रोड्रिगेजका अनुसार संयुक्त राज्य अमेरिका, डोमिनिकन गणतन्त्र, एल साल्भाडोर, मेक्सिको तथा कतारबाट उद्धार टोली पठाइने तयारी भइरहेको छ। चीन, ब्राजिल तथा केही क्यारिबियन राष्ट्रहरूले समेत सहयोगको प्रतिबद्धता जनाएका छन्।
संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय उद्धार टोलीलाई कराकासस्थित ला कार्लोटा हवाई अड्डामार्फत प्रवेश गर्न निर्देशन दिएको छ, किनकि भूकम्पका कारण मुख्य अन्तर्राष्ट्रिय विमानस्थल सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ।
यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकाले खोज तथा उद्धार टोली तथा हवाई निगरानी सहयोग उपलब्ध गराउने बताएका छन्।
सन् १९९९ मा आएको विनाशकारी पहिरोबाट प्रभावित ला गुआिरा क्षेत्र यसपटक पुनः ठूलो प्राकृतिक विपत्तिको केन्द्र बनेको छ। विज्ञहरूले यस भूकम्पलाई भेनेजुएलाको पछिल्ला दशकहरूकै सबैभन्दा ठूलो मानवीय संकट बन्न सक्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया