०१ असार २०८३, सोमबार
Mon, Jun 15, 2026
SUBSCRIPTION

रिजउडमा डीएसए उम्मेदवारहरूको निर्णायक जनपरिचालन

रिजउडमा डीएसए उम्मेदवारहरूको निर्णायक जनपरिचालन

न्यू योर्क। न्यू योर्क सिटी डेमोक्रेटिक सोसलिस्ट्स अफ अमेरिका (एनवाईसी–डीएसए) समर्थित उम्मेदवारहरूले क्वीन्सको रिजउडमा ठूलो र्‍याली तथा घरदैलो अभियान गरेका छन्।

मतदातालाई मतदानका लागि आकर्षित गर्त आयोजना गरिएको यो र्‍याली तथा घरदैलो अभियान निर्णायक हुने ठानिएको छ। जुन १४ मा आयोजित कार्यक्रममा न्यू योर्कको ७औं कंग्रेसनल डिस्ट्रिक्टकी उम्मेदवार क्लेयर भाल्डेज, एसेम्ब्ली डिस्ट्रिक्ट ३८ का उम्मेदवार डेभिड अर्किन, स्टेट सिनेट डिस्ट्रिक्ट १२ का उम्मेदवार अबेर कवास र एसेम्ब्ली डिस्ट्रिक्ट ३७ की उम्मेदवार सामन्था क्याटन सहभागी थिए। र्‍यालीपछि स्वयंसेवकहरूले आ–आफ्ना निर्वाचन क्षेत्रमा हजारौँ घरको ढोका ढकढक्याउँदै उम्मेदवारहरूको सन्देश मतदातासम्म पुर्‍याएका थिए।

भाल्डेज, अर्किन र क्याटनले अर्ली भोटिङको पहिलो दिन मतदान गरिसकेका छन्। यी उम्मेदवारले घरभाडा, सुलभ जीविकोपार्जन, महँगाइ, कामदार वर्ग, आप्रवासी समुदाय, स्वास्थ्य सेवा, चाइल्ड केयर, सार्वजनिक यातायात, जलवायु न्याय र युद्धविरोधी एजेन्डालाई आफ्नो मुख्य मुद्दा बनाएका छन्। एसेम्ब्ली डिस्ट्रिक्ट ३८ का उम्मेदवार डेभिड अर्किनले रिजउड क्षेत्रका मानिसहरूले सस्तो र बस्नयोग्य सहर चाहेको बताए। “स्थानीय बासिन्दाले कामदार वर्ग र आप्रवासी समुदायको पक्षमा उभिने प्रतिनिधि चाहेका छन्, उनले भने। उनले विदेशमा युद्ध र कब्जाको विरोध गर्दै धनीमाथि कर लगाएर स्थानीय समुदाय र सहरमा लगानी गर्नुपर्ने बताए।

कंग्रेसनल डिस्ट्रिक्ट ७ की उम्मेदवार क्लेयर भाल्डेजले आफू आइस (इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट), एआईप्याक (अमेरिक इजरायल पब्लिक अफेयर्स कमिटी), घरधनी र कामदारलाई दबाउने शक्तिहरू विरुद्ध लामो समयदेखि सङ्घर्ष गरिरहेका आयोजकहरूसँगै चुनावी मैदानमा रहेको बताइन्। “कलाकार, शिक्षक, बस चालक, नयाँ आएका आप्रवासी र पुस्तौँदेखि बसोबास गर्दै आएका समुदायका लागि रिजउडलाई सस्तो र बस्नयोग्य बनाउन हामी एकजुट हुनुपर्छ,” उनले भनिन्।

एसेम्ब्ली डिस्ट्रिक्ट ३७ की उम्मेदवार सामन्था क्याटनले आवास मानव अधिकार भएको बताइन्। उनले कामदार परिवार, आप्रवासी समुदाय र बालबालिकाको हितका लागि धनीमाथि कर लगाएर युनिभर्सल चाइल्ड केयर जस्ता कार्यक्रमलाई कोष उपलब्ध गराउनुपर्नेमा जोड दिइन्।

स्टेट सिनेट डिस्ट्रिक्ट १२ की उम्मेदवार अबेर कवासले आफ्नो अभियान स्वास्थ्य सेवा, यातायात र आवास सबैका लागि सुलभ बनाउने अभियान भएको बताइन। उनले आफूहरूको अभियान जलवायु न्याय, युद्धविरोधी राजनीति र आइसलाई समुदायबाट टाढा राख्ने अभियान भएको पनि बताइन।

कार्यक्रममा विभिन्न सङ्गठनका प्रतिनिधिहरूले पनि डीएसए समर्थित उम्मेदवारहरूलाई समर्थन गरेका थिए। ज्यूइश भ्वाइस फर पिस–एक्शनकी राजनीतिक निर्देशक बेथ मिलरले न्यू योर्क सिटीमा प्रगतिशील उम्मेदवारहरूलाई निर्वाचित गर्ने ऐतिहासिक अवसर रहेको बताइन्। उनले कामदार परिवारका लागि बजेट खर्च गर्नुपर्ने र विदेशमा युद्ध तथा विनाशमा रकम खर्च गर्न नहुने धारणा राखिन्।

टेनेन्ट्स पीएसीकी बोर्ड सदस्य तथा भाडावाल अधिकार अभियन्ता डोर्का रेनोसोले यी उम्मेदवारहरू न्यू योर्क राज्यमा घरभाडा सुलभ बनाउन प्रतिबद्ध रहेको बताइन्। उनका अनुसार राजनीति निर्वाचित अधिकारी र धनीहरूको मात्र विषय नभई आम जनता र भाडावालहरूको अधिकारसँग जोडिएको विषय हो।

एनवाईसी–डीएसएकी को–चेयर ग्रेस माउसरले सामन्था क्याटन, डेभिड ओर्किन, अबेर कावास र क्लेयर भाल्डेजले श्रमिक संगठन, भाडावाल संगठन र आप्रवासी न्याय आन्दोलनमा काम गरेको उल्लेख गर्दै उनीहरूलाई सबै तहको सरकारमा पठाउनुपर्ने बताइन्।

ड्रम बिट्सले जारी गरेको प्रेस विज्ञप्ति अनुसार ड्रम बिट्सका सामुदायिक आयोजक आदित सिवाकोटीले गत वर्ष समुदायले जोहरान ममदानीका लागि ठूलो संख्यामा मतदान गरेको स्मरण गर्दै कामदार वर्गलाई प्राथमिकतामा राख्ने प्रतिनिधि निर्वाचित हुँदा परिवर्तन सम्भव हुने बताए। उनले समुदायलाई केवल क्यामेराका लागि देखिने नभई वास्तविक रूपमा काम गर्ने जनप्रतिनिधि चाहिएको बताए।

युएडब्ल्यू आयोजक निकोल साल्कले धनीमाथि कर लगाउने, मेडिकेयर फर अल, सस्तो आवास, वातावरण संरक्षण र आइसविरोधी अभियानमा आफूहरूको समर्थन रहेको बताइन्।

यो निर्वाचनमा रिजउड न्यू योर्क सिटीको समाजवादी लोकतान्त्रिक राजनीतिको महत्वपूर्ण परीक्षणस्थल बन्ने देखिएको छ। आयोजकहरूका अनुसार र्‍यालीपछि गरिएको घरदैलो अभियानमार्फत उम्मेदवारहरूले सुलभता, न्याय सामुदायिक एकताको सन्देश सीधै मतदातासम्म पुर्‍याएका थिए।

प्रतिक्रिया