न्यू योर्क। न्यू योर्क सिटी मेयर जोहरान माम्दानीले आगामी जुन २३ मा हुने डेमोक्र्याटिक प्राइमरीअघि न्यूयोर्क स्टेट एसेम्ब्ली र स्टेट सिनेटका पाँच उम्मेदवारलाई समर्थन गरेका छन्। माम्दानीको यो समर्थनलाई न्यूयोर्कको प्रोग्रेसिभ राजनीतिक धार, डेमोक्र्याटिक सोसलिस्ट आन्दोलन र अल्बानीमा उनको ‘अफोर्डेबिलिटी एजेन्डा’ अघि बढाउने रणनीतिसँग जोडेर हेरिएको छ।
माम्दानीले समर्थन गरेका उम्मेदवारहरूमा क्वीन्सबाट स्टेट सिनेट डिस्ट्रिक्ट १२ का उम्मेदवार अबेर कवास, स्टेट एसेम्ब्ली डिस्ट्रिक्ट ३४ का ब्रायन रोमेरो, स्टेट एसेम्ब्ली डिस्ट्रिक्ट ३७ की सामन्था कट्टन, लोअर म्यानह्याटनस्थित स्टेट एसेम्ब्ली डिस्ट्रिक्ट ६५ का इलापा सैरितुपाक र अपर म्यानह्याटनस्थित स्टेट एसेम्ब्ली डिस्ट्रिक्ट ६९ का इलाई नर्थरप रहेका छन्। यीमध्ये चार जना एसेम्ब्लीका उम्मेदवार हुन् भने एबर कावास स्टेट सिनेटका उम्मेदवार हुन्।
ममदानीको समर्थन पाएका सबै उम्मेदवारहरू ‘ओपन सिट’मा प्रतिस्पर्धा गरिरहेका छन्। यसले माम्दानीले यसपटक सिधै पदमा रहेका डेमोक्र्याटिक ‘इन्कम्बेन्ट’ विरुद्ध जानेभन्दा खाली हुन लागेका सिटमा नयाँ प्रोग्रेसिभ नेतृत्व निर्माण गर्न चाहेको संकेत गरेको छ। न्यू योर्कको राज्य विधानसभामा नीति निर्माणको मुख्य केन्द्र अल्बानी भएकाले मेयर माम्दानीको समर्थनलाई केवल चुनावी समर्थन मात्र नभई उनको मेयरल एजेन्डा राज्य तहसम्म पुर्याउने प्रयासका रूपमा पनि हेरिएको छ।
माम्दानीले आफ्नो समर्थनबारे जारी गरेको वक्तव्यमा यी उम्मेदवारहरूले अल्बानीमा किफायती जीवनयापनसम्बन्धी एजेन्डा अघि बढाउने विश्वास व्यक्त गरेका छन्। उनले न्यूयोर्कका कामकाजी वर्ग, आप्रवासी समुदाय र भाडामा बस्ने जनताको हितमा काम गर्ने नेतृत्व आवश्यक रहेको बताएका छन्। माम्दानीको प्रमुख एजेन्डामा युनिभर्सल चाइल्ड केयर, छिटो र निःशुल्क बस सेवा, धनीमाथि कर बढाएर सार्वजनिक सेवा विस्तार, आप्रवासी सुरक्षाको नीति र भाडावालाको अधिकार संरक्षण जस्ता विषयहरू पर्दै आएका छन्।

अबेर कवास क्वीन्सको स्टेट सिनेट डिस्ट्रिक्ट १२ बाट उम्मेदवार हुन्। उनी प्यालेस्टिनी मूलकी कम्युनिटी अर्गनाइजर र डेमोक्र्याटिक सोसलिस्टका रूपमा चिनिन्छिन्। उनको अभियानले किफायती न्यूयोर्क, आप्रवासी परिवारको सुरक्षा, आइसविरुद्ध समुदायको संरक्षण र सार्वजनिक यातायात सुधारलाई प्राथमिकता दिएको छ।
ब्रायन रोमेरो स्टेट एसेम्ब्ली डिस्ट्रिक्ट ३४ बाट उम्मेदवार हुन्। उनी यसअघि स्टेट एसेम्ब्ली सदस्य जेसिका गोन्जालेज-रोहास र स्टेट सिनेटर क्रिस्टेन गोन्जालेजसँग काम गरिसकेका छन्। रोमेरोलाई वर्किङ फ्यामिलिज पार्टी र विभिन्न प्रोग्रेसिभ नेताहरूको समर्थन पनि प्राप्त छ। उनको उम्मेदवारीलाई क्वीन्समा आप्रवासी, कामदार र एलजीबीटीक्यू समुदायको प्रतिनिधित्वसँग जोडेर हेरिएको छ।

सामन्था कट्टन स्टेट एसेम्ब्ली डिस्ट्रिक्ट ३७ बाट उम्मेदवार हुन्। उनी कम्युनिटी अर्गनाइजर र डेमोक्र्याटिक सोसलिस्ट हुन्। उनको अभियानले किफायती जीवनयापन, आप्रवासी परिवारको सुरक्षा र समुदायमा आधारित सार्वजनिक सुरक्षालाई मुख्य मुद्दा बनाएको छ।
इलापा सैरितुपाक लोअर ईस्ट साइड र चाइनाटाउन समेट्ने स्टेट एसेम्ब्ली डिस्ट्रिक्ट ६५ बाट उम्मेदवार हुन्। उनी भाडावाला अधिकारका पक्षधर र आप्रवासी परिवारका सन्तान हुन्। उनको अभियानले धनीमाथि कर, युनिभर्सल चाइल्ड केयर, स्वास्थ्य सेवा, सोसल हाउजिङ, आइसविरुद्ध राज्यस्तरीय नीति र ‘टेनन्ट अपर्चुनिटी टु पर्चेज एक्ट’ जस्ता मुद्दालाई अघि सारेको छ।

इलाई नर्थरप स्टेट एसेम्ब्ली डिस्ट्रिक्ट ६९ बाट उम्मेदवार हुन्। उनी अपर म्यानह्याटनका पब्लिक डिफेन्डर र आपराधिक न्याय सुधारका पक्षधरका रूपमा परिचित छन्। नर्थरपको अभियानले सार्वजनिक सुरक्षा, आप्रवासी अधिकार, भाडावालाको सुरक्षा र न्याय प्रणाली सुधारलाई जोड दिएको छ।
माम्दानीको यो समर्थन सूचीमा न्यूयोर्क सिटी डेमोक्र्याटिक सोसलिस्ट्स अफ अमेरिका (एनवाईसी-डीएसए) समर्थित सबै उम्मेदवारहरू भने समावेश छैनन्। माम्दानीले यसपटक डीएसए समर्थित तीन उम्मेदवार—सामन्था कट्टन, अबेर कवास र इलापा सैरितुपाक—लाई समर्थन गरेका छन्। ब्रायन रोमेरो र इलाई नर्थरप भने वर्किङ फ्यामिलिज पार्टीसँग नजिक रहेका प्रोग्रेसिभ उम्मेदवारका रूपमा देखिएका छन्।

यसैबीच, कंग्रेस सदस्य अलेक्जान्ड्रिया ओकासियो-कोर्टेज (एओसी) ले पनि केही डीएसए समर्थित राज्य विधानसभाका उम्मेदवारहरूलाई समर्थन गरेकी छन्। तर माम्दानी र एओसीको समर्थन सूची पूर्ण रूपमा एउटै छैन। राजनीतिक विश्लेषकहरूले यसलाई दुई प्रोग्रेसिभ नेताहरूबीचको पूरक रणनीतिका रूपमा व्याख्या गरेका छन्। माम्दानीले मुख्य रूपमा ओपन सिटमा उम्मेदवारहरूलाई समर्थन गरेका छन् भने एओसीले केही इन्कम्बेन्टविरुद्ध लडिरहेका डीएसए उम्मेदवारहरूलाई समर्थन गरेकी छन्।
माम्दानीको समर्थनले जुन २३ को डेमोक्र्याटिक प्राइमरीमा कति प्रभाव पार्छ भन्ने कुरा अब मुख्य चासोको विषय बनेको छ। मेयरका रूपमा उनको लोकप्रियता, डेमोक्र्याटिक सोसलिस्ट आन्दोलनको संगठनात्मक शक्ति र न्यूयोर्कका कामकाजी वर्ग तथा आप्रवासी समुदायमा उनको प्रभावले यी उम्मेदवारहरूलाई थप ऊर्जा दिन सक्छ। तर न्यूयोर्क डेमोक्र्याटिक पार्टीभित्र प्रोग्रेसिभ र संस्थापन पक्षबीचको शक्ति संघर्ष अझै जारी रहेकाले यी समर्थनहरू राजनीतिक रूपमा संवेदनशील पनि मानिएका छन्।
माम्दानी समर्थित उम्मेदवारहरूले जित हासिल गरे भने अल्बानीमा उनको अफोर्डेबिलिटी एजेन्डालाई बल पुग्नेछ।




प्रतिक्रिया