न्यू योर्क। विश्वकै राजधानी मानिने न्यू योर्कको म्यानह्याटनमा यही मे १७, २०२६ मा हुने नेपाल डे परेड २०२६ को तयारी पूरा भएको आयोजकले जनाएको छ । ज्याक्सन हाईट्समा आईतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपाल डे परेड, सेलिबे्रटिङ नेपाली हेरिटेज टुगेदर को तयारी पूरा भएको आयोजकले जानकारी दिएको हो ।
गैर आवसीय नेपाली संघ (एनआरएनए) न्यू योर्क च्याप्टर, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को आयोजना तथा नेपाली महावाणिज्य दुतावासको समन्वयमा सामाजिक एकता, नेपालको विविधता, पहिचान र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नेपाल डे परेड सेलिबे्रटिङ नेपाली हेरिटेज टुगेदर भन्ने नारासहित आयोजना गर्न लागेको एनआरएनए न्यू योर्क च्याप्टरका अध्यक्ष बासु लामिछानेले जानकारी दिए ।आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना, गैर आवासीय नेपाली संघ न्यू योर्क च्याप्टर र नेपाल डे परेड इन्कवीच गएको अप्रिलमा सहमति जुटेपछि फिप्ना परेड डे मा सहभागी हुने भएको हो । परेडमा फिप्ना अन्तर्गतका विभिन्न जातिय संस्थाहरुसहित ४५ सय देखि ५ हजार नेपाली समुदायका सदस्यहरु सहभागी हुने अपेक्षा गरिएको छ ।
नेपालको विविधतालाई झल्काउने विविध समुदायका भेषभुषा, संस्कृति र परम्परा झल्कने झाँकीसहित नेपाल डे परेड आयोजना हुने भएकोले यस बर्षको परेड विशेष र भव्य हुने कन्भेनर तथा फिप्नाका अध्यक्ष एपी शेर्पाले जानकारी दिए । फिप्ना अन्तर्गतका सबै जातिय संस्थाहरुले आफ्नो जातिय पहिचान झल्कने मौलिक, परम्परागत, भेषभुषामा विभिन्न जातजातिका झाँकीसहित सहभागी हुने भएका छन् । नेपालको विविधतामा एकता झल्कने विविध समुदाय, भाषा, संस्कृति, परम्परा, जीवनशैली र पहिचानहरू झल्कने भएकोले मिनी नेपाल प्रस्तुत गर्नका लागि नेपाल डे परेड आयोजना गरेको परेडका आर्थिक संयोजक कृष्ण लामिछानेले बताए ।
परेडले विश्वको सर्वोच्च्च शिखर सगरमाथा, शान्तिका अग्रदूत तथा एसियाका ज्योतिको रुपमा परिचित भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनी, विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ, स्वयम्भूनाथ, पशुपतिनाथ लगायतका ऐतिहासिक, धार्मिक र साँस्कृतिक सम्पदाहरूको बारेमा प्रचारप्रसार गरी पर्यटक भित्र्याउन र पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।
न्यू योर्क च्याप्टरका अध्यक्ष लामिछानेले पहिले भन्दा व्यवस्थित बनाउनका सबै समुदायबाट ५, ५ जना गरी १ सय स्वयंसेवक खटाइएको जानकारी दिदै यस बर्ष पार्किङको व्यवस्था पनि गरिएको बताए । ३८ स्ट्रिट र म्याडिसन एभिन्युमा ११ बजे भेला भएर ठीक १ बजेबाट परेड शुरु हुने छ । त्यसपछि परेड २३ र २४ स्ट्रिटको बीचमा पुगेर परेड सकिनेछ।
न्यू योर्कको नेपाली महावाणिज्य दुतावाससहित फिप्ना अन्तर्गतका १८ गरी ५० वटा नेपाली संघ संस्थाहरु नेपाली मौलिक परम्परागत भेषभुषा सहित सहभागी हुने छन् । कन्भेनर शेर्पाले भने, नेपालीको विविध पहिचान झल्कने झाँकीले परेडलाई झकिझकाउ बनाउने छ, परेडलाई सफल बनाउन हामी सबैलाई सहभागी हुन अनुरोध गछौं।
परेड कार्यक्रममा सञ्चारकर्मीहरु र भिआएपीका लागि विशेष पासको व्यवस्था गरिएको जानकारी दिएको छ । सहभागीहरुका लागि खानेपानी, शौचालय र स्वास्थ्य सेवाको लागि फष्ट एड व्यवस्थापन गरिएको जानकारी दिए ।
परेडका आर्थिक संयोजक कृष्ण लामिछानेले आर्थिक सहयोगका लागि एक सय २५ संस्थालाई पत्राचार गरिएको बताउँदै अहिलेसम्म ४५ वटा संस्थाले सहयोगको प्रतिवद्धता जनाएको जानकारी दिए।
सहयोग रकम बैक डिपोजिट तथा जेल मार्फत पनि गर्न संकलन गर्न सकिने व्यवस्था गरिएको छ । परेड डे मा अनुमानित ४० हजार डलर खर्च हुन सक्ने संयोजक लामिछानेले बताए । अहिलेसम्म ३२ हजार सहयोगको प्रतिबद्धता आइसकेकोले परेड सञ्चालन खर्च सहयोग मार्फत जुट्ने अपेक्षा गरिएको छ ।
परेडको पहिलो चरणमा औपचारिक कार्यक्रम हुने छ भने दोश्रो चरणमा विविध संस्कृति झल्कने ८ वटा साँस्कृतिक प्रस्तुतिहरु रहेका छन् । परेडका सबै कार्यक्रमहरु साँझ ६ बजे सकिने आयोजकको भनाई छ ।आयोजकका अनुसार परेडमा सहभागी हुने दुई हजार मानिसको बिमा गरिएको छ । न्यू योर्कमा सन २०१६ देखि नेपाल डे परेड आयोजना हुँदै आएको छ ।
फिप्नाका निवर्तमान अध्यक्ष तोरण गुरुङ र महासचिव दिपक चौधरीको सक्रियतामा कार्यसमिति र संघीय परिषद सदस्यहरुको सहभागितामा पूर्व अध्यक्ष लुइसाङ वाइबासंगको विवाद अन्त्य गर्ने सहमति भएपछि संगै नेपाल डे परेड बारेको विवाद पनि अन्त्य भएको हो ।
फिप्ना, एनआरएन र नेपाल डे परेड इन्कवीच भएको सहमति अनुसार लुइसाङ वाइबाको अध्यक्षतामा गठीत नेपाल डे परेड इन्कलाई कानूनी रुपमा नै खारेज गर्ने र परेडको आयोजना फिप्ना र एनआरएनवीचको समन्वयमा संचालन हुने सहमति भएको छ । अप्रिलमा भएको त्रिपक्षिय सहमति अनुसार “नेपाल डे परेड इन्क” नामक संस्थाले नेपाल डे परेड आयोजनाको अधिकार फिप्ना र एनआरएन न्यूयोर्क च्याप्टरलाई हस्तान्तरण गरेको थियो । सहमतिमा तीन वटै पक्षबाट सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।




प्रतिक्रिया