वायोमिङ्ग । क्यालिफोर्नियाको सानफ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदुत लक्ष्मण खनालले वायोमिङ्ग राज्यका माननीय गभर्नर मार्क गोर्डनसँग रिभर्टन शहरमा भेट गरेका छन् । भेटका अवसरमा महावाणिज्यदूत खनालले नेपाल र वायोमिङ्ग राज्यबीच सम्भाव्य सहकार्यका क्षेत्रहरूका बारेमा छलफल गरेका थिए ।
भेटका क्रममा विशेषगरी कृषि, पर्यटन, उच्च शिक्षा तथा अनुसन्धान, जलवायु परिवर्तन, वातावरण तथा उच्च हिमाली क्षेत्र संरक्षणसँग सम्बन्धित विषयमा अध्ययन तथा अनुसन्धान र उद्यमशीलताको विकासका क्षेत्रमा हुनसक्ने सम्भावित आपसी सहयोग एवम् सहकार्यका बारेमा छलफल भएको थियो । गत वर्ष जुलाई महिनामा सान फ्रान्सिस्कोमा स्थापना भएको नेपाली महावाणिज्यदूतावासले वायोमिङ्ग राज्यमा रहेका नेपालीको लागि समेत काम गर्ने क्षेत्राधिकार रहेको गभर्नरलाई जानकारी गराएका थिए ।
महावाणिज्यदूत खनाल र गभर्नरबीच अप्रिल २४ मा भेट भएको हो । यसैबीच महावाणिज्यदूत खनाल Central Wyoming College -CWC रिभर्टनमा आयोजना भएको CentralWyoming Innovation & Entrepreneurship Conference 2026 मा सहभागी भएका थिए । सम्मेलनको क्रममा खनालले वायोमिङ्ग राज्यका विधायक माननीय इभान पोसेसँग भेट गरी नेपाल र वायोमिङ्ग राज्यबीच हुनसक्ने सहयोग एवम् सहकार्यका क्षेत्रहरुका बारेमा सामान्य छलफल गरेको महावाणिज्यदूतले जनाएको छ ।
महावाणिज्यदूत खनालले सेन्ट्रल वायोमिङ कलेजमा आयोजित Bringing Wyoming to the Global Community : A Conversation with the Consul General of Nepal सेसनमा भाग लिएका थिए ।
सेसनमा विद्यार्थी, प्राध्यापक, पत्रकार सहभागी थिए । खनालले नेपाल सरकारको सुशासन तथा आर्थिक विकासका प्राथमिकताहरू एवम् नेपालमा विद्यमान आर्थिक अवसर तथा सम्भावनाहरूका बारेमा बताएका थिए ।
त्यस्तै महावाणिज्यदूत खनालले वायोमिङ्ग राज्यको लारामी शहरस्थित वायोमिङ्ग विश्वविद्यालयका अध्यक्ष, डिन, प्रोफेसरसँग पनि छलफल गरेका थिए ।
महावाणिज्यदूत खनालले वायोमिङ्ग विश्वविद्यालयमा From the Wonder of Himalaya to the Wonderland of America शीर्षकमा एक प्रस्तुति दिएका थिए । नेपाल र वायोमिङ्गबीच लगानी तथा पर्यटन प्रवद्र्धन, उच्च शिक्षा तथा अध्ययन अनुसन्धान लगायतका साझा हित र सम्भाव्य सहकार्यका क्षेत्रहरूका बारेमा प्रस्तुति गरेका थिए । विश्वविद्यालका प्राध्यापक तथा कर्मचारीहरु, विश्वविद्यालयमा अध्ययन तथा अनुसन्धानरत नेपाली तथा अन्य मुलुकका विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
वायोमिङ्ग विश्वविद्यालयमा हाल ७० जना नेपाली विद्यार्थीहरु अध्ययनरत छन् । यसैबीच विश्वविद्यालयसँग आवद्ध नेपालीहरूको संस्था (Friends of Nepal at the University of Wyoming- FNUW) ले अप्रिल २५ मा लारामीमा बसोबास गर्ने नेपाली समुदायसँग एक छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा नेपाली महावाणिज्यदूतावासबाट प्रदान हुने सेवा तथा नेपालको हित प्रवद्र्धनमा नेपाली डायस्पोराको भूमिकाका बारेमा छलफल तथा अन्तरक्रिया भएको थियो ।
कार्यक्रममा प्राध्यापक डा. मोहन बहादुर डांगी, डा. रमेश सेढाइँ, पत्रकार शिव नेपाल र उपमहावाणिज्यदूत ऋषिराज आचार्य लगायत उपस्थित रहेको थिए । प्राध्यापक डा. डांगीले भेटघाट तथा कार्यक्रमहरूको समन्वय तथा संयोजन गरेका थिए ।





प्रतिक्रिया