२६ चैत २०८२, बिहिबार
Thu, Apr 9, 2026
SUBSCRIPTION

ट्रम्प विरुद्ध अमेरिकाभर नो किङ र्याली, न्यूयोर्कमा अहिलेसम्मकै विशाल प्रदर्शन

अमेरिकाका ५० वटै राज्यका मुख्य मुख्य शहरहरुमा लाखौं मानिसहरुले ट्रम्प प्रशासनको विभिन्न नीतिहरुको विरोधमा नारा घन्काउदै र प्लेकार्डको प्रदर्शन गर्दै “नो किंग्स” विरोध प्रदर्शन गरेका हुन् ।
ट्रम्प विरुद्ध अमेरिकाभर नो किङ र्याली, न्यूयोर्कमा अहिलेसम्मकै विशाल प्रदर्शन

न्युयोर्क । राष्ट्रपति डोनाल्ड ट्रम्पले अवलम्बन गरेको आप्रावासी विरोधी लगायतका नीतिहरुको विरोध गर्दै शनिबार अमेरिकाभर विशाल प्र्रदर्शन भएको छ । अमेरिकाका ५० वटै राज्यका मुख्य मुख्य शहरहरुमा लाखौं मानिसहरुले ट्रम्प प्रशासनको विभिन्न नीतिहरुको विरोधमा नारा घन्काउदै र प्लेकार्डको प्रदर्शन गर्दै “नो किंग्स” विरोध प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा विषेश गरी “नो किंग्स,” “नो वार” तथा “नो आइस” का प्लेकार्डहरु प्रदर्शन गरी ट्रम्प नीतिप्रति आक्रोश पोखेका थिए । “नो किंग्स” अभियान अन्तर्गत स्वतःस्फुर्त रुपमा गरिएको प्रदर्शन यो तेस्रो पटक हो । देशभरि आयोजित “नो किंग्स” प्रदर्शनमा सहभागी प्रदर्शनकारीहरूले राष्ट्रपति ट्रम्पका विभिन्न नीतिहरू र कदमहरूको कडा आलोचना समेत गरे ।

विशेषगरी ट्रम्प प्रशासनको कडा आप्रवासन नियन्त्रण नीतिप्रति प्रदर्शनकारी बढी असन्तुष्ट सुनिए । उनीहरूले उक्त नीतिले आप्रवासी समुदायमाथि अन्याय र दमन बढाएको आरोप लगाए । यसैगरी इरानमा अमेरिका–इजरायल सम्बन्धित सैन्य गतिविधिहरूको पनि व्यापक विरोध गरिएको थियो। प्रदर्शनकारीहरूले युद्धले अन्तर्राष्ट्रिय तनाव बढाएको र अमेरिकी नागरिकमाथि आर्थिक बोझ थपेको बताए । यसैगरी दिवंगत यौन अपराधी जेफ्री एप्स्टीनसँग सम्बन्धित जारी अनुसन्धानमा ट्रम्पको सम्भावित संलग्नताबारे पनि प्रदर्शनमा नाराबाजी लागेको थियो । 

न्यूयोर्कको म्यानह्याटनस्थित मिडटाउनमा पनि दशौँ हजार मानिसहरू सडकमा उत्रिँदै विरोध प्रदर्शन गरेका छन् । सेन्ट्रलपार्क साउथस्थित सेभेन्थ एभेन्युबाट शुरु भएको विशाल र्याली ३४ स्ट्रीट सम्मा पुगेर टुँगिएको थियो । र्यालीका सहभागीहरुले हातमा प्लेकार्ड र ब्यानर बोकेर राष्ट्रपति र उनको प्रशासनविरुद्ध नाराबाजी गरेका थिए । न्यूयोर्कका प्रदर्शनकारीहरुले ट्रम्पको हालै इरान र भेनेजुएलाविरुद्ध गरिएको सैन्य कारबाहीप्रति पनि असन्तुष्टि जनाएका छन्। 
क्तिपय प्रदर्शनकारीहरूले ट्रम्पद्वारा राजनीतिक विरोधीहरूमाथि मुद्दा चलाउने प्रयासको पनि विरोध गरे। यसमा राज्यका महान्यायाधिवक्ता लेटिशिया जेम्ससमेत सहभागी थिइन्। साथै, जेफ्री एप्स्टिनसँग सम्बन्धित न्याय विभागका कागजातहरूबारे सरकारको निष्क्रियताप्रति पनि आलोचना गरियो।
सबै उमेर समूहका न्युयोर्कवासीहरू प्रदर्शनमा सहभागी भएका थिए। एक प्रदर्शनकारी, “जुआन” नामले चिनिने व्यक्तिले आफूलाई स्टेटन आइल्याण्डमा आफन्त भेट्न जाँदा आइसले पक्राउ गरेको बताए। उनले भने, “आफ्नै शहर र राज्यमा यस्तो घटना भोग्नुपर्छ भन्ने कल्पना गर्न पनि गाह्रो छ। अधिकारीहरू अचानक गाडीबाट निस्किएर हामीतर्फ दौडिए, म निकै डराएको थिएँ, उनीहरूले मेरो परिचयपत्र मागे, र मसँग नभएको बताएपछि मलाई तुरुन्तै हतकडी लगाएर पक्राउ गरियो।”

र्यालीमा चर्चित कलाकार तथा नेताहरू पनि सहभागी भएका थिए। अभिनेता रोबर्ट डी नीरो, टेलिभिजन प्रस्तोता पद्मा लक्ष्मी र रेवरेन्ड अल शार्पटनले ¥याली सुरु हुनुअघि मन्तव्य दिएका थिए।
डी नीरोले ट्रम्पको कडा आलोचना गर्दै भने, “जब मानिसहरूले ‘नो किंग्स’ भन्छन्, वास्तवमा त्यो ‘नो ट्रम्प’ हो। इतिहासमा अन्य राष्ट्रपतिहरूले पनि संविधानको सीमा परीक्षण गरेका छन्, तर ट्रम्पजस्तो स्वतन्त्रता र सुरक्षामा खतरा बनाउने कोही थिएनन्।”
पद्मा लक्ष्मीले पनि नागरिकहरूलाई डरको विरोध गर्न र पारदर्शी तथा जिम्मेवार शासनको माग गर्न आह्वान गरिन्।

प्रतिक्रिया