न्यु योर्क। फेसबुक, इन्स्टाग्राम र वाट्सएपको मातृ कम्पनी मेटाले अमेरिकाको न्यु मेक्सिकोमा ठूलो कानुनी हार बेहोरेको छ।
न्यु मेक्सिकोको एक जुरीले मेटा प्लेटफर्म्सलाई ३ सय मिलियन डलर जरिवाना तिर्न आदेश दिएको छ। जुरीले कम्पनीले राज्यको कानुन उल्लंघन गरेको ठहर गरेको हो।
यो मुद्दा न्यु मेक्सिकोका अटर्नी जनरल राउल टोरेजले दायर गरेका थिए। राज्य पक्षले मेटाले फेसबुक, इन्स्टाग्राम र वाट्सएप बालबालिका र किशोरका लागि सुरक्षित छन् भन्ने भ्रामक सन्देश दिएको, तर आफ्नै प्लेटफर्ममा बाल यौन शोषण रोक्न पर्याप्त कदम नचालेको आरोप लगाएको थियो। अदालतले मेटाले न्यु मेक्सिकोको कन्ज्युमर प्रोटेक्शन कानुन उल्लंघन गरेको निष्कर्ष निकालेको हो।
मुद्दाको आधार २०२३ मा गरिएको अन्डरकभर अपरेसन थियो। अनुसन्धानकर्ताले आफूलाई कम उमेरका प्रयोगकर्ता जस्तो देखाएर मेटाका प्लेटफर्ममा खाता खोलेका थिए। राज्यका अनुसार ती खातामा स्पष्ट यौन सामग्री देखियो र वयस्कहरूबाट सम्पर्क पनि आयो। त्यसपछि राज्यले मेटामाथि बाल शोषणलाई सहज बनाएको आरोपसहित कानुनी कारबाही अघि बढाएको थियो।
राज्य पक्षले मेटाका केही डिजाइन फिचरमाथि पनि प्रश्न उठाएको थियो। इन्फिनिट स्क्रोल र अटो–प्ले जस्ता फिचरले बालबालिकालाई लामो समय प्लेटफर्ममा अड्याउने र मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्ने दाबी अदालतमा गरिएको थियो। उमेर प्रमाणीकरणजस्ता आधारभूत सुरक्षा उपाय पर्याप्त नभएको आरोप पनि लगाइएको थियो। राज्यका अनुसार कम्पनीले प्रयोगकर्ता संलग्नता र नाफालाई सुरक्षाभन्दा माथि राखेको थियो।
मेटाले भने आरोप अस्वीकार गरेको छ। कम्पनीले यो फैसला विरुद्ध अपिल गर्ने जनाएको छ। मेटाले अदालतमा अमेरिकाको फर्स्ट अमेंडमेन्ट र कम्युनिकेसन्स डिसेन्सी एक्टको सेक्शन २३० अन्तर्गत आफूलाई कानुनी सुरक्षा मिल्नुपर्ने तर्क गरेको थियो। कम्पनीले आफ्ना प्लेटफर्म सुरक्षित बनाउन धेरै सुरक्षा उपाय लागू गरिएको दाबी पनि गरेको छ।
यो फैसला सामाजिक सञ्जाल कम्पनीहरूविरुद्ध बढ्दो कानुनी दबाबबीच आएको हो। रोयटर्सका अनुसार न्यु मेक्सिकोको यो मुद्दा मेटाविरुद्ध जुरीसम्म पुगेको यस प्रकारको पहिलो ठूलो परीक्षण थियो। मेटा अहिले नाबालिगको सुरक्षा र सामाजिक सञ्जालको असरबारे हजारौं अन्य मुद्दासमेत सामना गरिरहेको छ।
यो निर्णयले सामाजिक सञ्जाल कम्पनीहरूले “हामी केवल प्लेटफर्म हौं” भनेर मात्र उम्किन सक्दैनन् भन्ने संकेत गरेको छ।




प्रतिक्रिया