न्यु योर्क। राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमलाई बर्खास्त गरेका छन्। विभागभित्र बढ्दो विवाद र आलोचनाबीच उनको कार्यकाल अन्त्य गरिएको हो।
ट्रम्पले नोएमको स्थानमा ओक्लाहोमाका सिनेटर मार्कवेन मुलिनलाई होमल्याण्ड सेक्युरिटी सेक्रेटरीमा मनोनयन गर्ने योजना बनाएका छन। न्यु योर्क सिटीमा समेत आप्रवासी गिरफ्तार गर्न आईससँगै मैदानमा खटेकी नोएम पछिल्लो समय चर्को विवादमा परेकी थिइन। मिनियापोलिसमा संघीय अधिकारीबाट दुई अमेरिकी नागरिक मारिएका घटनापछि उनको भूमिकामाथि प्रश्न उठेको थियो। त्यस्तै, २२० मिलियन डलरको विज्ञापन सम्झौताबारे पनि उनीमाथि सांसदहरूले प्रश्न गरेका थिए।
नोएमले ट्रम्प प्रशासनको आप्रवासन कडाइसँग सम्बन्धित नीतिहरू, त्यसविरुद्ध परेका मुद्दाहरू, प्रदर्शनहरू, र टेक्सासको घातक बाढीप्रति संघीय प्रतिक्रियाका कारण पनि व्यापक आलोचना बेहोर्नुपरेको थियो। बर्खास्तगीको निर्णय अचानक जस्तो देखिएको छ। किनकि फेब्रुअरी ५ मा प्रकाशित ह्वाइट हाउसको सामग्रीमा ट्रम्पले नोएमले “धेरै राम्रो काम” गरिरहेको बताएका थिए।
अर्कोतर्फ, बिहीबारै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जारी गरेको वक्तव्यमा नोएमको प्रशंसा गरिएको थियो। त्यसमा उनको नेतृत्वमा विभागले “सबैभन्दा सफल” समय व्यतीत गरेको दाबी गरिएको छ।
नोएम ट्रम्पको आप्रवासन र बोर्डर एजेन्डाको सबैभन्दा अगाडि देखिने अनुहारमध्ये एक थिइन्। उनले कडा इन्फोर्समेन्ट नीतिको सार्वजनिक बचाउ गर्दै आएकी थिइन् र प्रशासनको होमल्याण्ड सेक्युरिटी सन्देशमा केन्द्रीय भूमिका खेलेकी थिइन्।
फोटो स्रोत: नोएमको एक्स एकाउण्ट





प्रतिक्रिया