काठमाडौ । नेपाली कांग्रेस फेरी विभाजनको संघारमा पुगेको छ । काठमाडौमा विषेश महाधिवेशनको आह्वान गरेर ५६ प्रतिशत महाधिवेशन प्रतिनिधिकासाथ महाधिवेशन आयोजना गरिरहेका महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन पक्षले पार्टीबाट निश्कासन गर्ने निर्णय गरेपछि काँग्रेस फुटतिर अघि बढेको हो । विषेश महाधिवेशन पक्षधरले भने महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर अघि बढ्ने निर्णय गरेको छ ।
यसअघि २०५९ सालमा वर्तमान सभापति शेरबहादुर देउवाले तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासंगको विवादका कारण नेपाली काँग्रेस विभाजन गर्दै नेपाली काग्रेस प्रजातान्त्रिक गठन गरेका थिए । २०६४ सालमा दुवै काँग्रेसबीच पुनः एकिकरण भएको थियो ।
महामन्त्रीद्वयले पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै काठमाडौमा विशेष महाधिवेशन आह्वान गरेका थिए। महाधिवेशन जारी रहेकै बेला पार्टीलाई फुटबाट जोगाउन विभिन्न चरणमा वार्ता भएपनि सहमतिमा पुग्न नसकेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन–विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो । बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ–आफ्नो भूमिकामा फर्किन भनेको छ ।
पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको बताइएको छ । पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरेका थिए । यता विशेष महाधिवेशन आह्वान गरेका थापा र शर्माले बन्द सत्रको हलले गरेको निर्णय नै अन्तिम निर्णय हुने भन्दै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका थिए ।
पार्टी विभाजन रोक्न भन्दै विभिन्न चरणमा नेताहरू छलफलमा बसेका थिए । मंगलबार नेताहरूले तीन चरणमा छलफल गरेका थिए । बुधबार बिहानमात्रै महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । उक्त छलफलले पनि निकास निकाल्न नसकेपछि दुवैपक्ष आआफ्नो निर्णय अनुसार अघि बढेका हुन ।
विशेष महाधिवेशन पक्षधर नयाँ नेतृत्व चयनको अन्तिम तयारीमा जुटिरहेकै बेला संस्थापनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई ५ वर्षसम्म साधारण सदस्य समेत नरहने गरी कारबाही गरेपछि महाधिवेशन स्थलमा संस्थापनको विरुद्ध चर्को आक्रोश पैदा भएको छ । विशेष महाधिवेशन पक्षधर नेता कार्यकर्ताले सभापति शेरबहादुर देउवाको विरोधमा नाराबाजी समेत गरेका छन् ।
पार्टीले कारबाहीको निर्णय लगतै महामन्त्रीद्धय थापा र शर्माले नेपाली काँग्रेस भनेको विशेष महाधिवेशन भएको दावी गर्दै निर्वाचन समितिलाई कारबाही अघि बढाउन निर्देशन दिएका छन् । काँग्रेस र चारतारा झण्डा आफुहरुसंग रहेको महाधिवेशन पक्षधरले बताउदै आएका छन् । संभवतः नेपाली समय अनुसार बुधबार रातीसम्ममा नयाँ नेतृत्व घोषणा गरिने छ ।





प्रतिक्रिया