१५ माघ २०८२, बुधबार
Wed, Jan 28, 2026
SUBSCRIPTION

अहिलेकै अवस्थामा जेनजी विद्रोहको उदेश्य पुरा हुन असम्भवः अध्यक्ष शेर्पा

देशमा भ्रष्टचार व्यप्त हुनुमा निर्वाचन प्रणाली प्रमुख रहेको उल्लेख गर्दै यो प्रणालीलाई परिवर्तन नगरी गरिएको चुनाबबाट निर्वाण हुने सरकार र मन्त्रीपरिषद्बाट भ्रष्टचार अन्त्य र सुशासन संभव नभएको बताए ।
अहिलेकै अवस्थामा जेनजी विद्रोहको उदेश्य पुरा हुन असम्भवः अध्यक्ष शेर्पा


न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे शेर्पाले अहिलेको अवस्थामा जेन्जी विद्रोहको उदेश्य पुरा हुन नसक्ने बताएका छन् । जेन्जी विद्रोहपछिको वर्तमान सरकारले फागुन २१ गते चुनाब घोषणा गरेको र चुनाब भइहाले पनि पुरानै राज्य प्रणाली र पुरानै दलहरुको मिलिजुली सरकार निर्माण हुने अवस्था रहेकोले जेन्जी विद्रोहको उदेश्य पुरा हुन कठीन रहेको अध्यक्ष शेर्पाले बताए । 
हाल अमेरिका भ्रमणमा रहेका अध्यक्ष शेर्पाले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले न्यूयोर्कको ज्याक्सन हाइटमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

देशमा भ्रष्टचार व्यप्त हुनुमा निर्वाचन प्रणाली प्रमुख रहेको उल्लेख गर्दै यो प्रणालीलाई परिवर्तन नगरी गरिएको चुनाबबाट निर्वाण हुने सरकार र मन्त्रीपरिषद्बाट भ्रष्टचार अन्त्य र सुशासन संभव नभएको बताए । अहिले निर्वाचनमा उम्मेद्धार हुन ७÷८ करोड रुपैयाँ नभइ जितिदैन, यति खर्च गरेर साँसद भएपछि मन्त्री नभई चुनाबमा लागेको खर्च उठाउन सकिदैन, त्यसका लागि भ्रष्टचार गर्नै पर्छ, अनि कसरी भ्रष्टचारको अन्त्य हुन्छ कसरी सुशासन आउछ ? अध्यक्ष गेल्जे शेर्पाले भने । प्रत्यक्ष कार्यकारी निर्वाचन प्रणाली नेपालमा उपयुक्त नहुने उल्लेख गर्दै अध्यक्ष शेर्पाले साँसद समानुपातिक प्रणालीबाट चयन हुने र विज्ञलाई मन्त्री बनाइनु पर्ने संबैधानिक व्यवस्था नगरेसम्म नेपाललाई भ्रष्टचारमुक्त र सुशासनयुक्त बनाउन नसकिने शेर्पाले बताए । बालेन र केपी ओली प्रत्यक्ष कार्यकारीको लागि चुनाबमा जाँदा बालेनले जित्न सक्छ तर नानीमैया जस्तो कार्यकारी प्रमुख निर्वाचित भयो भने के गर्ने ? शेर्पाको प्रश्न थियो ।
राजनीतिक प्रणाली फेर्नका लागि निर्वाचनअघि नै सकेको भए यही निर्वाचनबाटै परिवर्तन हुन सकिने अवस्था रहेपनि त्यो अब सम्भव नरहेको र ७६ जनाको बलिदान भएको जेनजी विद्रोहबाट पनि परिवर्तनको अनुभूत हुन नसक्ने देखिएको उनको दुखेसो थियो ।
अध्यक्ष शेर्पाले स्थानीय र राज्य सरकारमा आदिवासी जनजातिको सहभागिता वृद्धि भएको देखिए पनि संघीय संसदमा आदिवासी प्रतिनिधिहरुको संख्या अझै अपेक्षित हुन नसकेको बताए । स्थानीय सरकारहरुमा प्रमुख र उपप्रमुख चुनिएका छन्, प्रदेशमा पनि सरकारको नेतृत्व लिएका छन् तर संघीय संसद र सरकारमा यथोचित प्रतिनिधित्व हुन सकेको छैन, हाम्रो आन्दोलन जारी छ, अध्यक्ष शेर्पाले भने । आदिवासी जनजाति महासंघ सडक आन्दोलनमा नगएपनि नीति निर्माणको क्षेत्रमा आदिवासीमैत्री बनाउन लागिरहेको उनको भनाई थियो । 

जीवनको एक कालखण्डमा आफु पनि  बैदेशिक रोजगारमै रहेको स्मरण गर्दै अध्यक्ष शेर्पाले स्वदेशमा नै केही गर्ने उदेश्यले नेपाल फर्किएको र व्यवसायसंगै समाजसेवामा सक्रिय रहेको बताए । नेपालमा पछिल्लो वर्षहरुमा विकासले गति पाउदै गएको विदेशमा रहेका नेपालीहरुले देशमा लगानी गरी आर्थिक विकासमा सहभागी हुन शेर्पाले आग्रह गरे । देशमा केही हुन्छ भन्ने आशावादीमा छु म चाँही  हामी सबैले सकारात्मक भएर सोच्नुपर्छ, शेर्पाका भनाई थियो । 
अन्तक्रिया कार्यक्रममा सहभागीहरुले नेपालमा आदिवासीका मुद्धाहरुलाई बद्लिदो परिस्थिति अनुरुप शसक्त बनाउन सुझाएका थिए । सो अवसरमा फिप्नाका सभामुख भारती राईले आदिवासी जनजातिको अधिकार प्राप्तिका आन्दोलनमा अमेरिकामा बसोबास गर्ने आदिवासी जनजातिहरु पनि संधै सक्रियताकासाथ सहभागी हुने बताए । यस्तै नेपाल आदिवासी जनजाति महासंघ अन्तराष्ट्रिय समितिका अध्यक्ष मन रानामगरले संविधानले दिएका कतिपय अधिकारहरु पनि गुम्ने अवस्थामा पुगेकाले यस्को संरक्षण गर्न सक्नुपर्ने बताए । आदिवासी जनजाति अगुवा पार्वती थापामगरले आदिवासी जनजाति समुदायको परम्परागत ज्ञान सीपलाई व्यवसायीकरण गर्नेमा महासंघले ध्यान दिइनुपर्ने बताए । 
अन्तरक्रियाका क्रममा फिप्नाका सल्लहाकार डण्डु ढोक्प्याले आदिवासी जनजातिको मुद्धाहरुको बारेमा जेनजीका प्रतिनिधिहरुलाई अवगत गराउनुपर्ने बताएका थिए । यस्तै शेर्पा किदुकका पूर्व अध्यक्ष उर्गेन शेर्पाले महासंघले गर्ने क्रियाकलापहरुलाई आम रुपमा जानकारी गराउन सशक्त संचार प्रणालीको व्यवस्था आवश्यकता औल्याएका थिए । तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष राम पाख्रिनले आदिवासी जनजातिहरुको गीत संगीत, भेष भुषा, बाजागाजा, जस्ता परम्परागत सम्पदाहरुलाई समुदायको पुर्व स्वीकृति बिना अन्य समुदायले प्रयोग गरेमा र व्यवसायिक रुपमा प्रयोग गरेमा विरोध गर्नसक्ने अधिकार संयुक्त राष्ट्रसंघले सुरक्षित गरेकोले सो प्रावधानको व्यवहारिक प्रयोग कसरी गर्न सकिन्छ भन्नेमा महासंघले ध्यान दिनुपर्ने बताए । फिप्नाको अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पेमा लामा ह्योल्मोले सहभागीलाई स्वागत गरेका थिए भने कार्यक्रम महासचिव दीपक चौधरीले संचालन गरेका थिए ।  

प्रतिक्रिया