काठमाडौ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १ हजार ३ सय ४२ जनाको शव फेला परेको छ । बाढीमा परि हालसम्म चार हजार ९ सय ९६ जना अझै बेपत्ता छन् । गृहमन्त्रालयका अनुसार फेला परेका शव मध्ये ३२५ महिला, ५२३ पुरुष तथा ४९४ वटा शव चिन्न नसकिने अवस्थाका फेला परेका छन् । अझै चार हजार ९ सय ९६ जना सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ ।
सम्पर्कविहीनमध्ये विदेशी नागरिकतर्फ पुरुष २६९ र महिला ३३२ रहेका छन् । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ । फेला परेकामध्ये एक हजार ३७ शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ ।
बाढीपछि हालसम्म नौ हजार १५१ जना घाइतेको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन हजार ९८ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ । यसैगरी, मृतक एक हजार २८६ जना तथा मृतकका आफन्त एक हजार १८६ जना गरी दुई हजार ४७२ जनाको ‘डिएनए’ नमूना सङ्कलन गरिएको छ ।
बेपत्ताको पहिचान तथा शवको सनाखतका लागि ‘डिएनए’ नमूना सङ्कलनलाई प्राथमिकताका साथ अघि बढाइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले बताए । भोटेकोशी बाढीपछि ठूलो मानवीय क्षति भएको छ । बाढीमा परी बेपत्ता भएकाको खोजी, उद्धार तथा शव व्यवस्थापन र पिडीतका लागि राहत वितरण जारी रहेको छ । यसका लागि नेपाल प्रहरीसहित सुरक्षा निकाय र सम्बन्धित विभिन्न सरकारी निकायका गरि २० हजारभन्दा बढी उद्धारकर्मीहरु निरन्तर परिचालित भइरहेका छन् ।






प्रतिक्रिया