२६ भदौ २०८३, शुक्रबार
Fri, Sep 11, 2026
SUBSCRIPTION

रिपब्लिकन पार्टीले जिते हरेक अमेरिकी नागरिकलाई ५ हजार डलर दिने ट्रम्पको वाचा

रिपब्लिकन पार्टीले जिते हरेक अमेरिकी नागरिकलाई ५ हजार डलर दिने ट्रम्पको वाचा
  • रिपब्लिकनले दुवै सदन जिते हरेक वयस्क अमेरिकी नागरिकलाई ५ हजार डलर दिने वाचा।
  • योजना लागू १.२ ट्रिलियन डलरभन्दा बढी खर्च हुने।
  • रकम वितरण गर्न कंग्रेसको स्वीकृति आवश्यक।
  • रकमको स्रोत, योग्यताको विस्तृत मापदण्ड र वितरण प्रक्रिया सार्वजनिक गरिएको छैन।

न्यू योर्क। राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कंग्रेसका दुवै सदनमा नियन्त्रण कायम राखे हरेक वयस्क अमेरिकी नागरिकलाई ५ हजार डलर दिने वाचा गरेका छन्। 

ट्रम्पले बुधबार टेक्ससको ड्यालसमा आयोजित रिपब्लिकन पार्टीको मध्यावधि सम्मेलनमा उक्त वाचा गरेका हुन्। कार्यक्रम अमेरिकन एयरलाइन्स सेन्टरमा आयोजना गरिएको थियो।

ट्रम्पले रिपब्लिकनले हाउस अफ रिप्रेजेन्टेटिभ्स र युनाइटेड स्टेट्स सिनेट दुवैमा जिते रकम वितरण गर्ने घोषणा गरे। उनले भने, “रिपब्लिकनले जिते तपाईं पनि हामीसँगै जित्नुहुन्छ। तपाईंले ५ हजार डलर पाउनुहुन्छ।”

ट्रम्पले उक्त रकमलाई “ट्रम्प डिभिडेन्ड” नाम दिएका छन्। यस्तो योजना कार्यान्वयन गर्न १.२ ट्रिलियन डलरभन्दा बढी खर्च हुन सक्ने अनुमान छ। संघीय सरकारबाट रकम वितरण गर्न कंग्रेसको स्वीकृति आवश्यक पर्छ।

ट्रम्पले यसलाई सफल कम्पनीले आफ्ना शेयरधनीलाई नाफाबाट रकम वितरण गरेजस्तै “डिभिडेन्ड” भएको बताएका छन्। उनले अमेरिकाको आर्थिक शक्ति र सफलताका कारण यस्तो रकम दिन सकिने दाबी गरे।

ट्रम्पले अर्को सर्त पनि राखेका छन्। उक्त ५ हजार डलर अमेरिकाभित्रै खर्च गर्नुपर्ने उनको भनाइ छ।

तर रकम अमेरिकाभित्रै खर्च भएको कसरी प्रमाणित गर्ने भन्नेबारे उनले कुनै व्यवस्था सार्वजनिक गरेका छैनन्। कसलाई रकम दिने भन्ने विस्तृत मापदण्ड पनि सार्वजनिक भएको छैन। रकम कहिले वितरण हुने भन्ने समयसीमा पनि घोषणा गरिएको छैन।

उनको घोषणा योजना कार्यान्वयन भए संघीय सरकारलाई ठूलो रकम आवश्यक पर्नेछ।

युनाइटेड स्टेट्स सेन्सस ब्युरोको सन् २०२४ को तथ्यांकअनुसार अमेरिकामा १८ वर्ष वा त्यसभन्दा माथिका करिब २४ करोड ५३ लाख नागरिकछन्। ती सबैलाई जनही ५ हजार डलर दिए करिब १.२३ ट्रिलियन डलर आवश्यक पर्छ।

२०२४ यता १८ वर्ष पुगेका नागरिकको संख्या बढेर करिब २७ करोड पुगेको अनुमानका आधारमा लागत करिब १.३५ ट्रिलियन डलर हुन सक्ने अनुमान छ। वास्तविक लागत भने कसलाई योग्य बनाइन्छ भन्ने मापदण्डमा निर्भर हुनेछ। ट्रम्पको प्रत्यक्ष भनाइमा भने “हरेक वयस्क नागरिक” उल्लेख गरिएको छ।

यो घोषणा अहिले चुनावी वाचा हो। यो स्वीकृत सरकारी कार्यक्रम होइन।अमेरिकी संविधानअनुसार संघीय कोषबाट रकम खर्च गर्न कानुनमार्फत रकम विनियोजन हुनुपर्छ। राष्ट्रपतिले कंग्रेसको स्वीकृतिबिना संघीय ट्रेजरीबाट यस्तो रकम एक्लै वितरण गर्न सक्दैनन्।

एसोसिएटेड प्रेसका अनुसार कमिटी फर अ रेस्पन्सिबल फेडरल बजेट (सीआरएफबी) का सिनियर पोलिसी डाइरेक्टर मार्क गोल्डवाइनले पनि कंग्रेसको स्वीकृतिबिना राष्ट्रपतिसँग यस्तो रकम वितरण गर्ने अधिकार नरहेको बताएका छन्। ओहायोका रिपब्लिकन सिनेटर बर्नी मोरेनोले भने नोभेम्बर ३ को निर्वाचनपछि “ट्रम्प डिभिडेन्ड” पारित गर्न विधेयक तयार गर्ने बताएका छन्।

ट्रम्पले बुधबारको घोषणामा ५ हजार डलर वितरणका लागि आवश्यक रकमको स्पष्ट स्रोत बताएका छैनन्। एसोसिएटेड प्रेसका अनुसार उपराष्ट्रपति जेडी भान्सले पछि धनी अमेरिकीहरूलाई रकम नदिइन सक्ने संकेत गरेका छन्। उनले ट्यारिफ अर्थात् आयात शुल्कबाट आएको राजस्व प्रयोग गर्न सकिने पनि बताएका छन्। त्यो विवरण ट्रम्पले घोषणा गरेको “हरेक वयस्क नागरिक” भन्ने प्रस्तावभन्दा केही फरक देखिन्छ।

हाल उपलब्ध ट्यारिफ आम्दानीले एकपटकमै एक ट्रिलियन डलरभन्दा बढीको भुक्तानी धान्न सक्ने अवस्था देखिँदैन। कमिटी फर अ रेस्पन्सिबल फेडरल बजेट (सीआरएफबी) ले ट्रम्प प्रशासनका पछिल्ला प्रस्तावित ट्यारिफबाट आर्थिक वर्ष २०३६ सम्म करिब ९७० अर्ब डलर थप राजस्व उठ्न सक्ने अनुमान गरेको छ। त्यो पनि करिब एक दशकको अनुमानित आम्दानी हो।

यो घोषणा अमेरिकी संघीय ऋण ४० ट्रिलियन डलर नाघेको समयमा आएको हो। वार्षिक संघीय बजेट घाटा पनि करिब १.८ ट्रिलियन डलर रहेको एसोसिएटेड प्रेसले जनाएको छ। ठूलो मात्रामा थप सरकारी खर्च गर्दा संघीय घाटा, ऋण र मुद्रास्फीतिमा पर्ने असरबारे पनि प्रश्न उठेको छ।

अमेरिकामा मध्यावधि निर्वाचन नोभेम्बर ३, २०२६ मा हुँदैछ। निर्वाचनबाट हाउस अफ रिप्रेजेन्टेटिभ्सका सबै सिटमा मतदान हुनेछ। सिनेटका चुनाव हुने सिटमा पनि मतदान हुनेछ। रिपब्लिकन पार्टी अहिले दुवै सदनको नियन्त्रण जोगाउने प्रयासमा छ।

ट्रम्पले ५ हजार डलर वितरणलाई निर्वाचन परिणामसँग प्रत्यक्ष रूपमा जोडेका छन्।

उनले ड्यालसको कार्यक्रममा भने, “रिपब्लिकनले हाउस अफ रिप्रेजेन्टेटिभ्स र युनाइटेड स्टेट्स सिनेट दुवै जिते म संयुक्त राज्य अमेरिकाका हरेक वयस्क नागरिकलाई ५ हजार डलरको डिभिडेन्ड जारी गर्नेछु।”

 

प्रतिक्रिया