न्यू योर्क। मेयर एरिक आडम्सले म्यानहटनको नोलिटास्थित ‘एलिजाबेथ स्ट्रीट गार्डेन’ लाई सार्वजनिक पार्क बनाउने प्रक्रिया सुरु गरेका छन्। यस निर्णयले मेयर–निर्वाचित जोहरन माम्दानीलाई त्यही जग्गामा सहुलियतपूर्ण आवास निर्माण गर्ने चुनावी वाचा पूरा गर्न कठिन बनाइदिएको छ।
डिपार्टमेन्ट अफ सिटिवाइड एडमिनिस्ट्रेटिभ सर्भिसेज (डीसीएएस) आयुक्त लुईस मोलीनाले नोभेम्बर ३ मा लेखको पत्रमा बगैचा रहेको जग्गा स्थायी रूपमा पार्कल्यान्ड घोषणा गरेर पार्क विभागको जिम्मा लागाउने जानकारी छ। न्यू योर्क टाइम्स र गोथामिस्टले उक्त पत्रबारे विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। उक्त पत्र आन्तरिक प्रशानिक हुन सक्ने संभावना छ।
न्यू योर्क राज्यको कानुन अनुसार पार्कल्यान्ड घोषणा भएपछि उक्त जग्गामा भवन बनाउन राज्य संसदको विशेष स्वीकृति चाहिन्छ। यो प्रक्रियालाई “एलिनेशन” भनिन्छ। त्यसैले माम्दानी मेयर बनेपछि पनि उनले वर्षौँदेखि तयारी भइरहेको “हेवन ग्रीन” नामक १२३ युनिट ज्येष्ठ नागरिकका लागि सहुलियतपूर्ण आवास परियोजना पुनः सुरु गर्न उनले सिधै आदेश दिन सक्दैनन्। त्यसका लागि पहिले अल्बानीस्थित राज्य संसदबाट अनुमति लिनुपर्छ।
एलिजाबेथ स्ट्रीट गार्डेन करिब एक एकडको सानो सामुदायिक बगैँचा हो। १९९० को दशकदेखि स्थानीयले यहाँ मूर्तिकला, सांस्कृतिक कार्यक्रम र खुला हरित क्षेत्रका रूपमा प्रयोग गर्दै आएका छन्। लामो समयदेखि गार्डेन जोगाउनेहरू र सहुलियतपूर्ण आवास चाहनेहरू बीच चर्को विवाद चलिरहेको छ। डिपार्टमेन्ट अफ हाउजिङले भने यो ठाउँलाई चरम गरीबीमा रहेका ज्येष्ठ नागरिकका लागि घर बनाउने योजना अघि सारेको थियो। अधिकांश स्थानीय मानिस र रोबर्ट डे नायरो, मार्टिन स्कोर्सेजी, प्याट्टी स्मिथजस्ता केही प्रसिद्ध कलाकार बगैँचा बचाउने अभियान चलाउँदै आएका छन्।
आडम्सले सुरुवातमा हेभन ग्रीन आवास योजनालाई समर्थन गरेका थिए। तर उनले २०२५ को जूनमा धारणा बदल्दै काउन्सिल सदस्य क्रिस्टोफर मार्टेसँग सम्झौता गरेर गार्डेनमा निर्माण रोक्ने निर्णय गरे। बदलामा लोअर म्यानहटनका बाउरी, सफोक स्ट्रीट र गोल्ड स्ट्रीटमा करिब ६००–६२० युनिट सहुलियतपूर्ण आवास बनाउने योजना अघि बढाए। चुनाव अभियानका क्रममा मेयर–निर्वाचित जोहरन माम्दानीले यो सम्झौतामाथि कडा आलोचना गर्दै गार्डेन चलाउँदै आएको संस्थालाई हटाएर त्यही जग्गामा आवास परियोजना पुनः सुरु गर्ने वाचा गरेका थिए। आडम्सको पार्कल्यान्ड घोषणा माम्दानीको यही वाचामाथिको सीधा चुनौती हो। किनभने अब त्यहाँ घर बनाउन राज्य स्तरको जटिल कानुनी प्रक्रिया पूरा गर्नुपर्छ।
हालसम्म मेयर आडम्स र मेयर–निर्वाचित माम्दानी दुवैले पार्कल्यान्ड घोषणाबारे विस्तृत औपचारिक प्रतिक्रिया दिएका छैनन्। तर आडम्सको यो अन्तिम घडिको निर्णयले एलिजाबेथ स्ट्रीट गार्डेनसम्बन्धी पुरानो विवादलाई नयाँ राजनीतिक उचाइमा पुर्याएको छ।





प्रतिक्रिया