न्यू योर्क। उज्यालो नेपालका अभियन्त एवं नेपाल विद्युत प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक कुलमान घिसिङले नेपालमा बत्तीको उज्यालो आए जस्तै अन्य क्षेत्रमा पनि उज्यालो ल्याउने उदेश्यले उज्यालो नेपाल अभियान शुरु भएको बताएका छन् । बत्तीमार्फत उज्यालो ल्याएपनि नेपालमा राजनीति लगायत धेरै क्षेत्रमा अँध्यारो रहेको तर्क गर्दै ती क्षेत्रहरुमा पनि उज्यालो ल्याउने बेला भएको र त्यसको लागि अभियान शुरु भएकोले नेपाल र संसारभर रहेका नेपालीलाई हातेमालो गर्न आह्वान समेत गरे ।
खाडी मुलुक बहराइनबाट उज्यालो नेपाल अभियान उद्घोष गर्दै अमेरिका आइपुगेका उज्यालो नायक घिसिङले न्यूयोर्कका नेपाली समुदायसंगको अन्तरक्रियाका क्रममा यस्तो बताएका हुन् । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) र तामाङ सोसाटी अफ अमेरिकाले आइतबार बेलुका ज्याक्सन हाइटमा आयोजना गरेको अन्तरक्रियामा घिसिङले आफ्नो अभियानमा विश्वभरबाट जोडिन सकिने जानकारी दिए ।
“कुनै पनि देश संधै निराशामा बस्न सक्दैन, नेपालमा धेरै क्षेत्रमा निराशा छ अव यसलाई आशामा बदल्नु पर्छ भनेर उज्यालो अभियान शुरु भएको छ”, घिसिङले भने । अभियन्त घिसिङले देशमा निराशाको अवस्थाबाट मुक्ति पाउने बेला भइसकेको उल्लेख गर्दै देशभित्रै आशा जगाएर परिवर्तन गर्ने बेला भएको र यो संभव रहेको बताए ।
यो अभियान देशमा संवृद्धि, सुशासन, रोजगारी, आत्मनिर्भरता र सामाजिक न्यायको लागि शुरु भएको उल्लेख गर्दै यो अभियानलाई विश्वभर अघि बढाइने र यसमा सबै नेपाली जोडिएर सफल पार्नुपर्ने बताए । आफुले यो अभियान अघि बढाउदा धेरैले यो नयाँ राजनीतिक दल स्थापनाको तयारी होकी भन्ने जिज्ञाशा राखेको उल्लेख गर्दै यो कुनै दल खोल्ने अभियान नभएर देशमा व्यप्त निराशालाई अन्त्य गर्ने अभियान भएको स्पष्ट पारे । अभियानका क्रममा यस्ले निश्चय नै राजनीतिक नेतृत्वकर्ता पनि जन्माउने उल्लेख गर्दै सही र सक्षम राजनीतिक नेतृत्वकर्ता निर्माण गरेर देशको नेतृत्वमा पनि पुर्याउन सकिने दावी गरे ।
“राजनीतिक नेतृत्व जहाँपनि जोडिने विषय हो, राजनीतिक नेतृत्व सही भएमा मात्र देश चाँडै संवृद्ध हुने हो, यो अभियानले सक्षम र युवा राजनीतिक नेतृत्वलाई प्रोत्सहान गर्छ”, घिसिङले भने । कतिपयले आफुलाई आगमि उपनिर्वाचन उम्मेद्धार बनेर संसद्मा जान पनि सुझाब दिएको उल्लेख गर्दै एक जना सांसद भएर मन्त्री भएर देशको परिवर्तन संभव नभएकोले आफुलाई त्यस्तो चाहाना नभएको स्पष्ट पारे । “एकजनाले गरेर एउटा क्षेत्रमा परिवर्तन गरेर देशको सबै क्षेत्रलाई परिवर्तन गर्न सम्भव छैन, अझ अहिलेकै संरचनामा त त्यो संभव हुने कुरै भएन त्यसैले आगमि उपनिर्वाचनमा रुपन्देहीमा उम्मेद्धार बन्ने कुरा अहिलेलाई प्राथमिकतामा छैन, ” उनले भने ।
उज्यालो नेपालको विस्तृत खाका छिट्टै तयार पारिने जानकारी दिदै प्रविधिको उपयोग गरेर विश्वभरबाट अभियानमा जोडिन सक्ने गरि विकास गरिने उनले बताए । अभियानका क्रममा विभिन्न देशमा भएको भेटघाट तथा छलफलबाट आफु धेरै नै उत्साहित रहेको भन्दै हरेक देश र राज्यमा समूहहरु गठन गरेर अभियानको गतिलाई अघि बढाइने जानकारी दिए ।
खाडी मुलुकहरु र अमेरिका भ्रमणका क्रममा विदेशमा रहेका नेपालीहरुको धेरै समस्याहरु सुनेको भन्दै बंसजको नागरिकता निरन्तरता गर्दा नेपाललाई कुनै पनि कोणबाट घाटा नहुने भएकोले आफुले यस्मा वकालत गर्ने विश्वास दिलाए । विदेशमा रहेका नागरिकहरुको रिमेटेन्स नै नेपालको बैदेशिक मुद्रा आर्जनको प्रमुख श्रोत भएकोले देशमा विश्वासिलो राजनीतिक नेतृत्व निर्माण भएमा यो श्रोतलाई ठूलो लगानिको लागि उपयोग गर्न सकिने बताए । यस्को लागि राज्यले सहीत योजना र नीति बनाउनु पर्ने उनको भनाई थियो । यसक्रममा विदेशमा बस्ने नेपालका नागरिक बहाकहरुलाई विदेशबाटै मतदान गर्न सकिने नीति ल्याउन जरुरी रहेको पनि उनले बताए ।
विद्युत प्राधिकरणबाट आफुलाई बर्खास्त गरेपछि प्राधिकरण घाटामा छ भनेर भ्रम फैलाइरहेको चर्चा गर्दै आठ बर्ष अघि आफु प्रवन्ध निर्देशक हुँदा दुई खर्बको सम्पत्ति रहेको प्राधिकरणलाई करिब ७ खर्बको सम्पत्तिमा पुर्याएको तथ्यलाई भ्रम फिजाएर प्राधिकरण घाटामा छ भन्ने गलत कुरा फैलाएको गुनासो गरे ।
अन्तरक्रियाका क्रममा नेपाली समुदायका अगुवाहरुले उज्यालो नेपालका नायक घिसिङलाई राजनीतिमा आएर देशको नेतृत्व गरि परिवर्तनको बहाक बन्न सुझाब दिएका थिए । कतिपयले भने उज्यालो नेपाल अभियान राजनीतिक दल खोल्ने तयारी हो कि के हो भन्नेमा स्पष्ट नभएको भन्दै दल खोल्ने हो भने नेपालमा हाल स्वतन्त्र ढंगले राम्रो काम गरिरहेकाहरुसंग मिलेर नयाँ दल स्थापना गर्न सुझाब दिएका थिए ।
फिप्नाका अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तामाङ सोसाइटीका अध्यक्ष तुलबहादुर तामाङले व्यस्तताकाबीच पनि कार्यक्रममा सहभागी भएका सबैलाई स्वागत र धन्यवाद दिएका थिए । स्थानीय एल्महस्र्ट हस्पिटलको हलमा भएको कार्यक्रममा उज्यालो नेपालका नायक घिसिङको भनाइ सुन्नका लागि ठूलो संख्यामा नेपाली समुदायका सदस्यहरुको उपस्थिति रहेको थियो । घिसिङ अमेरिका अन्य राज्यहरुमा अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै अगष्ट १० मा बेलायत भ्रमणका लागि प्रस्थान गरिने बताइएको छ ।





प्रतिक्रिया