०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

समुदायद्धारा संचालित पर्यटक आतिथ्यताको अनुभव संगाल्न नेपाललाई गन्तब्य रोज्न अमेरिकी पर्यटकहरुलाई आग्रह

समुदायद्धारा व्यवस्थापन गरिएको कम्युनिटी होमस्टे नेटवर्कहरु नेपालको मौलिक पर्यटकीय उत्पादन रहेको र अन्तराष्ट्रिय पर्यटकमाझ यसको लोकप्रियता समेत बढ्दै गएको बताइएको छ ।
समुदायद्धारा संचालित पर्यटक आतिथ्यताको अनुभव संगाल्न नेपाललाई गन्तब्य रोज्न अमेरिकी पर्यटकहरुलाई आग्रह

 

न्यूयोर्क । नेपालमा संचालित समुदायले व्यवस्थापन गरेको पर्यटक आतिथ्यता विश्व पर्यटन बजारमै लोकप्रिय हुँदै गएकोले अमेरिकी पर्यटकहरुलाई पनि यस्तो मौलिक पर्यकटीय अनुभवको लागि नेपाललाई भ्रमण गन्तव्य रोज्न आग्रह गरिएको छ । समुदायद्धारा व्यवस्थापन गरिएको कम्युनिटी होमस्टे नेटवर्कहरु नेपालको मौलिक पर्यटकीय उत्पादन रहेको र अन्तराष्ट्रिय पर्यटकमाझ यसको लोकप्रियता समेत बढ्दै गएको बताइएको छ । 
न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले जुलाई ११ मा आयोजना गरेको नेपालको पर्यटक प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा महावाणिज्यदूत दधिराम भण्डारीले समुदायद्धारा व्यवस्थापन गरिएको कम्युनिटी होमस्टे नेटवर्कहरु विश्वमै लोकप्रिय हुँदै गएको बताउदै अमेरिकी पर्यटकहरुलाई पनि यसको अनुभव लिन आग्रह गरेका हुन् ।  । नेपालमा संचालित समुदायले व्यवस्थापन गरेको पर्यटक आतिथ्यता बारेमा हालै टाइम म्यागेजिनमा समेत आलेख प्रकाशन भएको चर्चा गर्दै महावाणिज्यदूत भण्डारीले कम्युनिटी होमस्टेमार्फत पर्यटकले प्रत्यक्ष रुपमा स्थानीय परिवारसंगको जिबन्त अनुभव र सम्बन्ध संगाल्न अवसर मिल्ने बताए । 

अघिल्लो आर्थिक वर्षमा अमेरिकाबाट १ लाख १० हजार पर्यटक नेपाल भ्रमणमा गएको उल्लेख गर्दै भण्डारीले प्राकृतिक र साँस्कृतिक विविधताको अनुभव संगाल्दै साहासिक पर्यटनको लागि अमेरिकी पर्यटकको लागि नेपाल उत्कृष्ट गन्तब्य हुने बताए । न्यूयोर्कमा रहेका पर्यटन व्यवसायीहरुसंग समेत सहकार्य गरेर आगमी दिनमा अमेरिकी नागरिकहरुलाई नेपाल भ्रमण गराउन थप प्रयासहरु गरिने पनि महावाणिज्यदूत भण्डारीले बताए । 
महावाणिज्यदूत भण्डारीले हिमाल अवलोकन एवं आरोहण, विविध कला संस्कृति, प्राकृतिक सौन्दर्य, ऐतिहासिक विरासत, जंगल सफारीको साथै आध्यात्मिकताका लागि समेत नेपाल उत्कृष्ट गन्तव्य भएको बताउदैै अमेरिकी पर्यटकलाई नेपालमा आकर्षित गर्न भूमिका खेल्न स्थानीय पर्यटन व्यवसायीहरूलाई आग्रह गरे । 

महावाणिज्य दूतावासले नेपाल पर्यटन बोर्ड र प्यासेफिक एसिया ट्राभल एजेन्ट एसोसिएसन (पाटा) न्यूयोर्क च्याप्टरसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले साहासिक पर्यटनको लागि नेपाल विश्वमै उत्कृष्ट गन्तव्य भएकोले अमेरिकी पर्यटकलाई पनि नेपालमा आकार्षण गराउन सक्नुपर्ने बताए । यसप्रकारको छलफल र समन्वयबाट नेपालमा पर्यटक वृद्धि गर्न सहयोग पुग्ने स्थायी प्रतिनिधि थापाको भनाई थियो । 
सो अवसरमा पाटा च्याप्टर न्यूयोर्कका प्रतिनिधिकासाथै न्यूयोर्कस्थित पर्यटन व्यवसायीहरले समेत अमेरिकी पर्यटकलाई नेपाल भ्रमणमा आकर्षण गराउन सक्रियता बढाइने जानकारी गराइएको थियो । 

प्रतिक्रिया