०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

अमेरिकाको न्यूजर्सीमा झल्कियो नेपाल

अमेरिकाको न्यूजर्सीमा झल्कियो नेपाल

न्यूजर्सी । अमेरिकाको न्यूजर्सीमा रहेका नेपालीहरुले पहिलो पटक नेपाल डे उत्सव मनाएका छन् । नेपाली पहिचान, कला, संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले न्युजर्सीको फेयर लनमा मे ३१ मा आयोजना गरिएको कार्यक्रममा न्यूजर्सी र न्यू योर्कका नेपाली तथा नेपालीमूलका अमेरिकीहरुको सहभागिता थियो ।

कार्यक्रममा नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरुको व्यानरसहित नेपालीहरु आ आफ्नो मौलिक भेषभुषामा उपस्थित भएका थिए । कार्यक्रम स्थलमा नेपाली मौलिक सामग्रीहरु तथा नेपाली खानाहरुको स्टल समेत राखिएको थियो ।

संयुक्त राष्ट्रसंघका लागि नेपाल सरकारका स्थायी प्रतिनिधि एवं राजदूत लोकबहादुर थापा र फेयर लन सिटीका उपमेयर जोश रेईनिजले कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाली संस्कुति र नेपालीपन झल्कने विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । राजदुत थापाले यस्ता कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउनुका साथै जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने बताए। नेपाल सरकारका पर्यटन प्रवद्र्धक गोकुल श्रेष्ठले सिटीका उपमेयर जोश रेईनिजलाई नेपाल सम्बन्धी जानकारीमूलक पुस्तकहरु हस्तान्तर गर्दै नेपाल भ्रमणका लागि अनुरोध गरे।

 पर्यटन प्रवद्र्धक श्रेष्ठले नेपाल सुरक्षित, रमणिय, प्राकृतिक सुन्दरता एवं सांस्कृतिक विविधतायुक्त भएकाले देशप्रति सधै सकारात्मक सन्देश प्रवाह गर्न सहभागीहरुलाई आग्रह गरे। कार्यक्रमलाई स्थानीयवासीहरुले निकै रुची पूर्वक अवलोकन गरेका थिए ।

ग्रेटर जर्सी नेपाली समाज, न्यूजर्सी नेपाली समाज, गैरआवासीय नेपाली संघ, अमेरिका न्यूजर्सी च्याप्टर, एआरसी फर नेपाल, कारणका लागि महिला, फ्रेण्ड्स अफ नेपाल एवं स्थानीय सामाजिक संघसंस्था र नेपाल सरकार पर्यटन प्रवद्र्धक, न्यूयोर्कको समन्वयमा नेपाल डे कार्यक्रम गरिएको हो । राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सञ्जिव श्रेष्ठ इभेन्ट डाईरेक्टर र सतेन्द्र शाहले कन्भेनरको भूमिका निर्वाह गरेका थिए।

न्यूजर्सीमा नेपाल डे कार्यक्रम आगामी वर्षहरुमा पनि निरन्तर गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए। कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्थानीय प्रशासन तथा आम नेपाली समुदायलाई विशेष धन्यवाद व्यक्त गरे। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले मन्तव्य राखेका थिए।

संञ्चारकर्मी विक्कि पुलामी र मिस नेपाल इन्टरनेशनल २०१२ सुवेक्षा खड्काले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा स्थानीय कलाकारहरुले प्रस्तुति दिएका थिए । कार्यक्रममा नेपाली मौलिक खाना सेलरोटी, मःम, समोसा लगायतका खानाको स्टल समेत राखिएकाले सहभागीहरुले कार्यक्रम प्रभावकारी रहेको बताएका थिए। नेपाली उतपादनका सामानहरुको समेत प्रदर्शनी गरिएको थियो।

प्रतिक्रिया