न्यू योर्क। राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मदिरामा दुई सय प्रतिशत महशुल लगाउने चेतावनी दिएका छन्। युरोपेली युनियनले अमेरिकी ह्विस्कीमा ५० प्रतिशत महशुल लगाउने तयारी सार्वजनिक भएपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल एक्समार्फत यस्तो अभिव्यक्ति दिएका हुन्।
उनले बिहीबार युरोपेली युनियनले लागू गर्ने तयारी गरेको भन्सार महशुल फिर्ता नलिए अमेरिकाले युरोपेली मदिरामा दूई सय प्रतिशत महशुल लगाउने चेतावनी दिएको हुन्। ‘यदि यो महशुल तत्काल फिर्ता नगरिए अमेरिकाले फ्रान्स र अन्य युरोपेली मुलुकबाट आयात हुने सबै वाइन, स्याम्पेन र मदिरामा दुई सय प्रतिशत महशुल लगाउने छ,’ उनले भनेका छन्, ‘यसले अमेरिकी वाइन र स्याम्पेन व्यवसायलाई फाइदा पुग्छ।’
अमेरिकाले विदेशी फलाम र स्टिलमा मार्च १२ देखि २५ प्रतिशत महशुल लगाएको थियो। त्यसबाट असन्तुष्ट क्यानडाले अमेरिकाले प्रयोग गर्ने विद्युतमा महशुल लगाउने तयारी गरेको थियो। प्रतिक्रियामा ट्रम्पले क्यानडाको फलाममा ५० प्रतिशत भन्सार लगाउने धम्की दिएका थिए। त्यसपछि दुई पक्षीय व्यापार वार्ता गर्ने सहमति सहित क्यानडाले तत्काल भन्सार नबढाउने निर्णय गरेको थियो।
उता, युरोपेली युनियनले भने अमेरिकी उत्पादनमा २८ अर्ब डलरको भन्सार लगाउने योजना सार्वजनिक भएको छ। त्यसमा मुख्य रुपमा अमेरिकी ह्विस्की पर्छ।
ट्रम्प प्रशासनले क्यानडा र मेक्सिकोको उत्पादनमा २५ प्रतिशत महशुल लगाउने निर्णय अप्रिल ४ सम्मका लागि स्थगन गरेको छ। आफ्ना उत्पादनमा अमेरिकाले भन्सार लगाउने भएपछि क्यानडाले पनि अमेरिकी उत्पादनमा झण्डै २१ अर्ब डलर बराबरको भन्सार लगाउने तयारी गरेको थियो।
अमेरिकी सञ्चारमाध्यमहरूले राष्ट्रपति ट्रम्पले दशकौं पुरानो खुला व्यापार सम्झौता विपरित अमेरिकी व्यापार नीति परिवर्तन गरेको विश्लेषण गरिरहेका छन्। ट्रम्प प्रशासनको व्यापार नीतिबाट व्यापारिक युद्ध सुरु भएको कतिपयको विश्लेषण छ।




प्रतिक्रिया