न्यूयोर्क । तामाङ समुदायको महान साँस्कृतिक पर्व ल्होछार अमेरिकामा पनि विविध कार्यक्रमकासाथ मनाउने तयारी भइरहेको छ । २८६१ औं डुल(सर्प) ल्होछारको अवसरमा अमेरिकाको न्यूयोर्क, टेक्सास, भर्जिनिया, क्यालिफोर्निया लगायतका राज्यहरुमा तामाङ समुदायले विभिन्न औपचारिक कार्यक्रमहरु आयोजना गरी मनाउने तयारी भइरहेको ती राज्यहरुमा रहेका तामाङ संस्थाहरुले जनाएका छन् ।
मञ्जुश्री संवत् अनुसार माघ शुक्ला प्रतिपदाको दिन अर्थात जनवरी ३० बाट ढुक ल्हो (ड्रागन वर्ष) समाप्त भई २८६१ डुल ल्हो (सर्पवर्ष) शुरु हुनेछ । सोनाम ल्होछारको रुपमा पनि चिनिने यस ल्होछारलाई नेपालमा तामाङ, ह्योल्मो लगायतका हिमाली आदिवासी समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । ल्होछारलाई सांस्कृतिक पर्वकै रुपमा मनाउने चलन अनुसार ल्हो शुरु भएको १५ दिनसम्म पूजापाठ तथा विभिन्न विधि अनुसार ल्होछार मनाउने गर्दछ ।
अमेरिकाको न्यूयोर्कमा तामाङ सोसाइटी अफ अमेरिकाको आयोजनामा फेब्रुअरी १ मा २८६१ डुल ल्होछार विषेश कार्यक्रम आयोजना हुने सोसाइटीका अध्यक्ष बुद्धिमान तामाङले जानकारी दिएका छन् । न्यूयोर्क र न्यूजर्सी राज्यमा बसोबास गर्ने तामाङ समुदायको सहभागीतामा हुने सो कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष तामाङले बताए । न्यूयोर्कको क्वीन्सस्थित टिबेटिन कम्युनिटी सेन्टरमा आयोजना हुने ल्होछार कार्यक्रममा दिउसो लामा गुरुहरुद्धारा विषेश पूजाआज हुने र साँझ तामाङ संस्कृति झल्किने ल्होछार विषेश साँस्कृतिक कार्यक्रम आयोजना हुने उनले जानकारी दिए । ल्होछार साँस्कृतिक कार्यक्रममा
अतिथि कलाकारको रुपमा यसपटक नेपालबाट गायिकाद्धय सुबानी मोक्तान र निर्मला घिसिङ सहभागि हुने अध्यक्ष तामाङले जानकारी दिएका छन् ।
करिब ८ सय जनाको सहभागिता रहने ल्होछार कार्यक्रमको व्यवस्थापन तथा प्रचार प्रसारको कार्यक्रम अन्तिम चरणमा पुगेको सोसाइटीका महासचिव सम्शेर योन्जनले जानकारी दिएका छन् । ल्होछार कार्यक्रमलाई विषेश र भव्यतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमितिहरु सक्रिय रहेको उनले बताए । महत्वपूर्ण सांस्कृतिक पर्वको रुपमा रहेको ल्होछारलाई तामाङ समुदायका सबै सदस्यहरुमाझ जानकारी गराएर वृहत सहभागिताको लागि प्रचार प्रसारको कार्यक्रम व्यापक रुपमा भइरहेको महासचिव योन्जनले जानकारी दिए । ल्होछारमा लामा गुरुहरुले गर्ने पूजापाठलाई विषेश रुपमा लिने गरिन्छ । सो क्रममा फेबुअरी १ को दिउसो लामा गुरुहरुद्धारा गरिने विषेश पूजापाठमा सहभागी हुन समुदायका सदस्यहरुलाई अनुरोध गरेको पनि महासचिव योन्जनले जानकारी दिए ।
लामा गुरुहरुको पूजापाठपछि साँझ तामाङ लगायत अन्य नेपाली समुदायका अगुवाहरुको सहभागीतामा ल्होछार कार्यक्रमको उद्घाटन तथा शुभकामना आदनप्रदान कार्यक्रम हुने र त्यसपछि मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रम संचालन हुने बताइएको छ । साँस्कृतिक कार्यक्रमको विषेश आकर्षणको रुपमा नेपालबाट आएका अतिथि कलाकारहरु सुबानी मोक्तान र निर्मला घिसिङ रहने सोसाइटीमा महासचिव योन्जनले बताए । यसैगरी कार्यक्रममा न्यूयोर्कमै रहेका कलाकारहरु शशिकला मोक्तान, गोमा योन्जन लगायतको समेत प्रस्तुती रहने छ । साथमा नृत्य निर्देशक गोविन्द राईको निर्देशनमा तामाङ कलाकारहरुको आकर्षक नृत्यहरु समेत प्रस्तुत हुने जनाइएको छ ।
ल्होछारकै अवसरमा अमेरिकाको टेक्सास, भर्जिनिया, क्यालिफोर्निया लगायतका राज्यहरुमा समेत ल्होछार विषेश कार्यक्रमहरु आयोजना हुने जनाइएको छ । तामाङ सोसाइटी अफ टेक्सासको आयोजनामा फेब्रुअरी ८ मा टेक्सासमा सोनाम ल्होछार विषेश साँस्कृतिक कार्यक्रम आयोजना हुने सोसाइटीले जनाएको छ । यसैगरी तामाङ कोअपरेसन सोसाइटी क्यालिफोर्नियाले सोनाम ल्होछारको अवसरमा जनवरी ३० र फेब्रुअरी १ मा पूजापाठ तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ भने फेब्रुअरी १६ मा साँस्कृतिक कार्यक्रम सहीतको क्रुज पार्टी आयोजना गरेको जनाइएको छ । यसैगरी तामाङ सोसाइटी अफ ग्रेटर वासिङटनको आयोजनामा फेब्रुअरी २२ मा भर्जिनियामा विषेश साँस्कृतिक कार्यक्रम आयोजना हुने सोसाइटीले जनाएको छ ।




प्रतिक्रिया