अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले मल्टिमिडिया स्टोरीटेलिङ कार्यशाला गरेको छ। नेजाले नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिजम नेटवर्क (निम्जिन) सँगको सहकार्यमा अनलाइन प्रविधिमार्फत दुई दिने कार्यशाला सम्पन्न गरेको हो । मल्टिमिडिया जर्नालिस्ट रजनीश भण्डारीले प्रशिक्षण गरेका थिए । भण्डारीले सैद्धान्तिक तथा व्यवहारिक दुवै पक्षलाई समेटेर “मल्टिमिडिया स्टोरीटेलिङ” विषयमा प्रशिक्षण दिएका थिए। कार्यशालामा मल्टिमिडिया रिपोर्टिङ तथा सम्पादन सम्बन्धी सीप समेत सिकाइएको थियो । जुममार्फत गरिएको कार्यशालमा ३५ जना सहभागी थिए । सहभागीहरुले प्रविधिको प्रयोगमार्फत पत्रकारिता पेसालाई छिटो र गुणस्तर रूपमा प्रवाह गर्न सहयोग पुग्ने बताएका थिए।

मल्टिमिडिया जर्नालिस्ट लीना दुवाडी र बेनुप भट्टराईले मल्टिमिडिया स्टोरी टेलिङका सम्बन्धमा आफ्ना अनुभवहरु साटेका थिए। नेजाका महासचिव बाबुराम दाहालले सहजीकरण गरेको दुइ दिने कार्यशालामा नेजाका अध्यक्ष सुरज भण्डारीले प्रशिक्षक, वक्ता तथा सहभागीहरुलाई धन्यवाद दिँदै पत्रकारको हितअनुकूल बेला मौकामा क्षमता अभिवृद्धि गर्ने तालिमको आवश्यकता रहेको औल्याउँदै यसलाई नेजाले निरन्तरता दिने बताए।







प्रतिक्रिया