२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

हत्या अभियोगमा एक भरतीय ४३ वर्ष जेलपछि निर्दोष ठहर, रिहाइको भोलिपल्टै आईसद्वारा पुनः पक्राउ

हत्या अभियोगमा एक भरतीय ४३ वर्ष जेलपछि निर्दोष ठहर,  रिहाइको भोलिपल्टै आईसद्वारा पुनः पक्राउ

न्यू योर्क। एकै कोठामा सँगै बस्ने साथीको हत्या आरोपमा ४३ वर्ष जेल जीवन बिताएका भारतीय मूलका सुब्रमण्यम वेदम ‘सुबु’लाई अमेरिकी अदालतले अन्ततः निर्दोष ठहर गरेको छ। तर, उनको रिहाइको खुशी लामो समय टिक्न सकेन। निर्दोष ठहर भएको भोलिपल्ट उनलाई इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आईस) ले पुनः पक्राउ गरी भारत डिपोर्ट गर्ने प्रक्रिया सुरु गरेको छ।

-हत्या अभियोगमा एक भरतीयलाइ ४३ वर्षको अन्यायपूर्ण कैद।

-नयाँ प्रमाणपछि निर्दोष ठहर, रिहाइ लगत्तै पुनः पक्राउ।

-आईसले डिपोर्ट गर्ने।

सुब्रमण्यमको जीवनको यो अध्याय १९८० बाट सुरु भएको थियो। अमेरिकाको पेन्सिलभेनिया राज्यको सेन्टर काउन्टीमा उनी आफ्नै सहपाठी १९ वर्षीय थोमस किन्सरसँग एउटै कोठामा बस्दै आएका थिए। त्यही वर्ष किन्सर हराए। नौ महिनापछि उनको शव जंगलमा गोलीको दागसहित भेटियो। सो घटनापछि प्रहरीले सुबुमाथि हत्या आरोप लगायो र पक्राउ गर्‍यो।

अदालतले १९८३ मा सुबुलाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनायो। उनले आफू निर्दोष भएको दाबी गर्दै १९८८ मा पुनरावेदन गरे। तर दोस्रो पटक पनि अदालतले उनलाई दोषी ठहर गर्‍यो। यसपछि उनले निरन्तर ४३ वर्ष जेल जीवन बिताए, जुन अमेरिकाको कानुनी इतिहासमा गलत सजायको सबैभन्दा लामो अवधिमध्ये एक मानिन्छ।

पेन्सिलभेनिया ‘इनोसेन्स प्रोजेक्ट’ नामक कानुनी सहायता संस्थाले २०२२ मा यो घटनामा नयाँ प्रमाण फेला पारेपछि पुनः सुनुवाइको बाटो खुल्यो। ती प्रमाणहरूले अभियोजन पक्षका प्रमाणहरू असत्य भएको देखाएपछि अदालतले सन् २०२५ को सेप्टेम्बरमा मुद्दाको पुनरावलोकन आदेश दियो। अन्ततः २०२५ अक्टोबर २ मा अदालतले सुबुलाई निर्दोष ठहर गर्दै रिहा गर्‍यो।

तर रिहाइको भोलिपल्टै आईसले उनलाई गैरकानुनी आप्रवासीको आरोप लगाउँदै पुनः पक्राउ गर्‍यो। आईसले उनलाई भारत पठाउने प्रक्रिया सुरु गरेको छ। 

सुबुको दिदी सरस्वती वेदमका अनुसार सुबु बाल्यकालमै अमेरिका आएका हुन्। भारतसँग उनको कुनै सम्बन्ध छैन। “उनलाई डिपोर्ट गर्नु अर्को अन्याय हो,” उनले भनिन्।वेदम परिवारले डिपोर्टेसन आदेशविरुद्ध कानुनी लडाइँ जारी राख्ने घोषणा गरेको छ। उनीहरूले यो घटनालाई अमेरिकी न्याय प्रणाली र आप्रवासन कानुनको विडम्बना भएको बताएका छन्। मानवअधिकारकर्मीहरूले समेत यो कदमलाई “४३ वर्ष जेलमा राखिएको निर्दोष व्यक्तिलाई पुनः सजाय दिने” कार्यका रूपमा व्याख्या गरेका छन्।

४३ वर्षपछि निर्दोष ठहर भए पनि सुबुको स्वतन्त्रता फेरि अनिश्चित बनेको छ। न्यायको ढोका ढिलो खुले पनि, उनको जीवनमा अझै पनि पूर्ण स्वतन्त्रताको उज्यालो नपुगेको छ।

 

प्रतिक्रिया