न्यू योर्क। इजरायल र हमास बीच युद्ध रोक्ने प्रारम्भिक सहमति बनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा तयार भएको शान्ति रोडम्यापको पहिलो चरणमा दुबै पक्ष युद्धविराम गर्न सहमत भएका छन्।
यो सहमतिबाट गाजामा जारी युद्ध रोकिने बन्दीको सुरक्षित रिहाइ हुने विश्वास गरिएको छ।अन्तराष्ट्रीय सञ्चारमाध्यमहरूका अनुसार सम्झौतामा बिहीबार इजिप्टमा हस्ताक्षर हुनेछ। त्यससँगै पहिलो चरणमा २० इजरायली बन्दी जीवितै रिहा गरिनेछ भने गाजामा सहायता पुऱ्याउन तत्काल पाँच नाका खोलिनेछन्।
अन्तराष्ट्रीय सञ्चारमाध्यम एपीका अनुसार हमासले यही साताभित्र सबै २० जीवित बन्दी छाड्नेछ भने इजरायली सेना गाजाका धेरै क्षेत्रबाट फिर्ता हुने तयारीमा छ। ट्रम्पले सामाजिक सञ्जालमार्फत बन्दी चाँडै मुक्त हुने र इजरायली फौज निश्चित सीमाभित्र फर्किने बताएका छन्। उनको दाबीमा यो दीर्घकालीन शान्तितर्फको ठोस कदम हो।
सम्झौतामा अमेरिका, इजिप्ट, कतार र टर्की ‘ग्यारेन्टर’ रहनेछन्। शर्त पालना हुँदासम्म दुवै पक्षले आक्रमण नगर्ने प्रतिबद्धता जनाएका छन।
यसै बीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र राष्ट्रपति ट्रम्पबीच फोन वार्ता भएको छ। दुबै नेताले बन्दी रिहाइसम्बन्धी सहमतिमा ‘ऐतिहासिक उपलब्धी’ भएको भन्दै बधाई आदानप्रदान गरेका छन्। नेतन्याहूले ट्रम्पलाई इजरायली संसद केनेसटमा सम्बोधन गर्न निमन्त्रणा समेत पनि दिएका छन्।
युद्धविराम समझौताका लागि कतारले मध्यस्थताको भूमिका खेलेको थियो। अमेरिका, इजिप्ट, इजरायल र कतारका वार्ताकारहरू सोमबारदेखि शर्म–अल–शेखमा बसेर युद्धविराम र बन्दी रिहाइको रूपरेखा टुंग्याइरहेका थिए। रोयटर्सका अनुसार, कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानी वार्तामा प्रत्यक्ष सहभागी भएका थिए।
वार्तामा गाजाको शासन व्यवस्थाको स्वरूप वा हमासको निरस्त्रीकरणजस्ता संवेदनशील विषयमा सहमति भए/नभएको खुलेको छैन। ती एजेन्डाले इजिप्टमै हुने अर्को चरणका वार्तामा प्राथमिकता पाउने जनाइएको छ।
७ अक्टोबर २०२३ को हमास आक्रमणपछि संघर्ष चर्किएको थियो। सो घटनामा १० नेपाली विद्यार्थी सहित करिब १,२०० जनाको मृत्यु भएको थियो। त्यही बेला अपहरणमा परेका नेपाली युवा विपिन जोशीको अवस्था अझै अज्ञात छ।





प्रतिक्रिया