२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

खेलाडी विदेश पलायन रोक्न कानूनमै पुरस्कारको व्यवस्थाः सदस्य सचिव घिसिङ

यसअघि खेलाडीहरुलाई नेतृत्वको तजविजीको आधारमा पुरस्कार दिने गरेको भएपनि आफु आएपछि यसलाई कानून नै बनाएर पुरस्कारको सुनिश्चित गरिएको उनले बताए ।
खेलाडी विदेश पलायन रोक्न कानूनमै पुरस्कारको व्यवस्थाः सदस्य सचिव घिसिङ

 

न्यूयोर्क । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले देशका लागि खेलिरहेका खेलाडीहरुको विदेश पलायन रोक्न कानून नै बनाएर पुरस्कारको व्यवस्था गरिएको बताएका छन् । यसअघि खेलाडीहरुलाई नेतृत्वको तजविजीको आधारमा पुरस्कार दिने गरेको भएपनि आफु आएपछि यसलाई कानून नै बनाएर पुरस्कारको सुनिश्चित गरिएको उनले बताए । 

‘अब विजेता खेलाडीहरुले कानून अनुसार नै पुरस्कार पाउने छन्, कोही आएर दिदैन भन्न सकिदैन, कानूनले नै पुरस्कारको निर्धारण गरेको छ ।’ अमेरिका भ्रमणमा रहेका सदस्य सचिव घिसिङले सोमबार साँझ न्यूयोर्कको क्वीन्समा आयोजना भएको मिट एण्ड ग्रिड कार्यक्रममा भने, ‘ठूलो मिहेनत गरेर यो कानून ल्याएको हो, कानून आएपछि क्रिकेटका विजेता खेलाडिले २१ लाख रुपैयाँ सम्म पुरस्कार पाएका थिए, निजिक्षेत्रले दिने पुरस्कार त छुट्टै छदैछ ।’

उडसाइडमा कराँते स्कुल संचालन गर्दै आएको च्याम्पियन मार्शल आर्टले आयोजना गरेको नेपाली खेलाडी तथा खेल शुभचिन्तकहरु र राखेपा सदस्य सचिवको भेटघाट कार्यक्रम मिट एण्ड ग्रिटमा घिसिङले आफु राजनीतिक व्यक्ति भएपनि परिषद्मा आएपछि खेल क्षेत्रको विकासमा मात्र केन्द्रीत भएर काम गरेकोले नेपाली खेलक्षेत्रले महत्वपूर्ण सफलताहरु हासिल गर्न सफल भएको दावी गरे । आफु परिषदमा आउने बेलामा कोभिडका कारण खेलक्षेत्र तहस नहसको रुपमा रहेको, राष्ट्रिय खेलकुद संचालन हुन नसकेको र हरेक खेलकुदमा खेल संघहरुका कारण अस्तव्यस्त रहेकोमा ती सबैलाई सुधार गरेर अहिलेको अवस्थामा ल्याउन सफल भएको उनले सुनाए ।  

‘भारतमा ५६ वटा खेल संघहरु छन् तर नेपालमा भने म आउने बेलामा २०९ वटा संघहरु रहेछन्, त्यसमाथि थप २५ वटा दर्ता गर्न ठूलै राजनीतिक दवाव ल्याएर आएका थिए, नयाँ दर्ता गर्ने त टाढाको कुरा २०९ संघलाई घटाएर ६१ संघ बनायो ।’ यसरी खेलसंघहरु घटाउदा आफुले थुप्रै दवाव झेल्नुपरे पनि नेपाली खेलकुदको विकासका लागि निर्मम भएर घटाउनु परेको उनको भनाई थियो । लामो समयदेखि रोकिएको राष्ट्रिय खेलकुद हुन सकेकोले अब नेपाली खेलकुदको विकासले राम्रो फड्को मार्न सफल हुने उनको विश्वास थियो । विद्यालय र विश्व विद्यालयमा खेलकुद गतिविधिलाई प्राथमिकता दिन शुरु भएको, खेलकुदको पूर्वाधारलाई राष्ट्रिय गौरभको योजनाको रुपमा शुरु गरिएको र आगमी दिनमा खेल क्षेत्रलाई पनि देशको आर्थिक विकाससंग जोडेर प्रवद्र्धनको तयारी भइरहेको सदस्य सचिव घिसिङले बताए । 

सो अवसरमा अमेरिकी मूलधारको राजनीतिमा सक्रिय उसुका पूर्व अन्तरष्ट्रिय नेपाली खेलाडी छेमाङ लामाले खेलकुद क्षेत्रको विकासको लागि खेललाई राजनीतिबाट टाढा राखिनु पर्ने बताए । खेल संघहरुको विवादका कारण लामो सममदेखि नेपालका उसु खेलाडीहरुलाई अमेरिकन एम्बेसीले कालो सूचिमा राखेको भन्दै परिषद्ले यसबारेमा चासो राख्न उनले आग्रह गरे । यस्तै नेपाली जनसंपर्क समिति अमेरिकाका सचिव भोजराज थोकरले खेलकुदलाई पनि व्यवसायिक रुपमा अंगाल्न सकिने गरी विकास गरिनुपर्ने बताउदै यसो हुन सके खेलप्रति चाहना भएकाहरु खेल क्षेत्रमै रहेर देशको सेवा गर्ने अवसर मिल्ने बताए । 

कार्यक्रममा च्याम्पियन मार्शल आर्टका संस्थापक तथा ११ औं साफ गेमका कराते स्वर्ण पदक विजेता सुनिल लामाले स्पोर्टस साइन्सको अवधारणाले अबको खेल क्षेत्रको विकास गरिनुपर्ने बताउदै नयाँ पुस्ताले व्यवसायिक रुपमै खेल क्षेत्रमा रहेर राष्ट्रको लागि खेल्न सकिने वातवरण बनाउनु पर्ने बताए । 

सो अवसरमा जनजाति महासंघ अमेरिकाका बरिष्ठ उपाध्यक्ष तुलबहादुर तामाङ, अन्तराष्ट्रिय तामाङ परिषदका उपमहासचिव लक्यान लामा, प्रवासी नेपाली एकता मंचका याम लामा, क्वीन्सका युवा समूह मामा–भान्जा का संयोजक दावा घिसिङ, युवा व्यवसायी दीपेन्द्र लामा लगायतले नेपाली खेल क्षेत्रको विकास र विदेशमा रहेर खेल्न सकिने भुमिकाको बारेमा चर्चा गर्दै नेपाली खेलकुदको विकासमा सदस्य सचिव घिसिङले अघि सारेका योजनाहरुको सफलताको कामना व्यक्त गरेका थिए । 

प्रतिक्रिया