न्यू योर्क । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुको पुनस्थापनाको लागि अमेरिकी सरकारले ३६ मिलियन डलर सहयोग गर्ने भएको छ । युएस डिपार्टमेन्ट अफ स्टेटले एक विज्ञप्ति जारी गर्दै नेपाललाई ३६ मिलियन डलर सहयोग गर्ने जनाएको हो । नेपाल र तिब्बतमा विनाशकारी बाढी आएपछि अमेरिकाले सुरुमा एक जना सल्लाहकार र ५ लाख अमेरिकी डलर मात्र पठाएको थियो। ट्रम्प प्रशासनका अधिकारीहरूले अमेरिकी प्रतिक्रिया ढिलो भएको स्वीकार गरेका थिए।
कांग्रेसवुमन गे्रस मेङले नेपाल र तिब्बतमा आएको बाढीपछि आफुले अधिकारीहरुलाई दबाब दिएपछि प्रशासनले सहयोग रकम बढाएको बताएकी छन् । कांग्रेसवुमन मेङले विनियोजन समितिसमक्ष अमेरिकी अधिकारीहरूसँग प्रश्न उठाएपछि नेपालको बाढी प्रभावित क्षेत्रमा ३६ मिलियन डलर भन्दा बढीको सहायता तथा उद्धार सहयोग उपलब्ध गराइने भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् । उनले यो रकम प्रभावित समुदायलाई आवश्यक पर्ने सहयोगको तुलनामा अझै कम भए पनि प्रशासनले सुरुमा प्रस्ताव गरेको रकम भन्दा धेरै भएको उल्लेख गरेकी छन् । प्रियजनहरूको खोजी जारी रहेको र पुनःस्थापनाको काम सुरु भइरहेका बेला क्वीन्सका नेपाली तथा तिब्बती समुदायसँग आफू निरन्तर साथमा रहने कांग्रेसवुमन मेङको भनाई छ । कांग्रेसवुमन मेङ न्यू योर्कको क्वीन्स प्रतिनिधित्व गर्छिन् । उनले बाढीबाट प्रभावित नेपाली र तिब्बतीहरुको बिषयमा आवाज उठाउँदै आएकी छन् ।
अन्डर सेके्रटरी अफ स्टेट फर पोलिटिकल अफेयर्स एलिसन हुकरले न्यूयोर्कमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका थिए । भेटमा उनले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित सबैप्रति सहानुभुति व्यक्त गरेकी छन् साथै सम्पर्र्कविहीन रहेका करिब ७० जना अमेरिकी नागरिकका परिवारप्रति पनि उनले सहानुभुति व्यक्त गरिन् ।
भेटवार्ताका क्रममा उपसचिव हुकरले प्रभावित क्षेत्रमा स्थायी तथा आवश्यकताअनुसार पुल निर्माणका लागि १० मिलियन डलर सहयोग उपलब्ध गराउन अमेरिकी कांग्रेससँग सहकार्य गर्ने योजना घोषणा गरिन् । ती पुल अमेरिकी कम्पनीबाट निर्माण गरिने छन्। यसले प्रभावित क्षेत्रको महत्वपूर्ण यातायात पूर्वाधार पुनःस्थापना गर्नुका साथै क्षेत्रीय सम्पर्कलाई बलियो बनाउने अपेक्षा गरिएको छ। त्यस्तै, प्रभावित समुदायका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता, आश्रय, संरक्षण, जीविकोपार्जन र जाडो यामका लागि आवश्यक सहयोग गर्न थप ८ मिलियन डलर उपलब्ध गराउने योजना घोषणा गरिएको छ। भविष्यमा हुने विपद्पछिको पुनःस्थापना कार्यमा सहयोग र्पुयाउन अमेरिकी निर्मित ड्रोनका लागि १.३ मिलियन डलर उपलब्ध गराउने योजना रहेको छ। यस घोषणासँगै नेपालको बाढी प्रतिकार्य तथा पुनःस्थापना प्रयासका लागि अमेरिकाको कुल सहायता ३६ मिलियिन डलरभन्दा बढी पुगेको छ। अमेरिकाले आवश्यकताका आधारमा थप सहायता पहिचान गरी उपलब्ध गराउन नेपाल सरकारसँग नजिकबाट सहकार्य जारी राख्ने जनाएको छ।







प्रतिक्रिया